बिजोग‘ बने चार सन्तान बालिका

गर्भ खेर जानु एउटी महिलाका लागि पीडादायक बन्दोरहेछ । २७ वर्षे दीपा भट्टराईले भोगिन् ।
 गत बिहीबार बितेको घाउमा चार सन्तानले मल्हम लाइदिए । जिन्दगीभर पुग्नेगरी । 
 ‘दुई सन्तान ईश्वरका बरदान’ भनिन्थ्यो । एकैचोटी चार सन्तानको आगमन हुँदा दीपाको परिवारमा
‘बिपत्ति आएजस्तो’ भएको छ ।
 ‘एउटा साधारण कर्मचारीले यतिका सन्तानको भरणपोषण कसरी गर्ने ?,’ दीपाका श्रीमान् घनश्याम भन्दैथिए, ‘भन्दा धेर भएजस्तो हुन्छ, दैवी विपत्तिजस्तो बने चार सन्तान ।’
 मेचीनगर–२ धुलाबारी झापाका भट्टराईले २०६७ जेठमा बिहे गरे । बिहे गरेको दुई वर्षपछि दीपा गर्भवती भइन् । तर अढाई महिना विकसित हुन नपाउँदै बच्चाको पेटमै मृत्यु भयो । यसो हुनुमा दीपाको पाठेघरमा कमजोरी डाक्टरले औंल्याइरहेका थिए । 
 सिन्धुली जिल्लामा छिमेकी लघुवित्त संस्थामा कर्मचारीको रूपमा कार्यरत घनश्याम श्रीमती बिरामी परेपछि नजिकै भनेर जनकपुर अस्पताल पुगे । त्यहाँ पुगेर डाक्टरलाई देखाउँदा दीपाको पेटमा बच्चा मृत भइसकेको रहेछ । 
 एभोर्सन गर्नुपर्ने डाक्टरको सल्लाहअनुसार हत्तपत्त झापा दौडाए । भरअभर आफ्ना मान्छेको साथसहयोग हुन्छ भनेर । बिरामी श्रीमती लिएर फेरि सिन्धुली जिल्ला जान मन लागेन । जागिर इलामको तीनघरे शाखामा सरूवा मिलाए । 
दमकमा एभोर्सन गर्दा डाक्टरले ६ महिनासम्म गर्भ रहन नसक्ने सुझाव दिएका रहेछन् । ६ पर्खेर दुई महिनासम्म पर्खे । तर दीपाको पेटमा बच्चा रहन सकेन । 
 सन्तानको रहर जागेको बेला । कहाँ के गर्दा हुन्छ भनी यो दम्पती चैनले बसेनन् । सोधीखोजीकै क्रममा काठमाडौंमा कसैले डा. भोला रिजाललाई देखाउनुपर्छ भन्दिए । उनीहरू त्यतै दौडिए । रिजालले दीपाको पाठेघरले अण्डा उत्पादन गर्न नसकेकाले बच्चा रहन नसकेको बताइदिए । 
 त्यहीबीच बच्चा जन्माउन चाहे औषधीले काम गर्ने सुझाव पनि दिए । ‘क्लोमिफिन सीट्रयाट’ (अण्डा उत्पादन गर्ने औषधी) खानुपर्ने सुझाव दिए । डाक्टरको सल्लाह बमोजिम २०६९ फागुन महिनादेखि औषधी सेवन गर्न थालिन् दीपाले । दमकमा १४ हप्तापछि चेकअप गराउँदा दीपाको पेटमा चार वटा बच्चा भएको थाहा भयो । 
 डाक्टरका अनुसार लाखौंमा एकजनामा मात्र यस्तो घटना हुन्छ । यो औषधीले बढीभन्दा बढी अण्डा उत्पादन गरेकाले शुक्रकिट धेरै अण्डामा मेल हुँदा एकभन्दा बढी बच्चा भएको डाक्टर बताउँछन् । ‘यस्तो केश हामीले अहिलेसम्म हेरेका थिएनौं,’ नोबेल अस्पताल बच्चा विभागकी डाक्टर रोमिला चिमरिया भन्छिन्, ‘पाठेघरले थेग्न नसकेकाले यी बच्चा ७ महिनामै जन्मिएका हुन् ।’ 

दीपाको पेट चिरेर निकालिएकामध्ये तीन शिशु छोरा र एक छोरी छन् । छोराको तौल १.२, १, १.२ र छोरीको तौल ८ सय ग्राम मात्र छ । ‘अनम्याचुअड’ भनिने यस्ता शिशुहरू जन्मेपछि जोगाउन गाह्रो हुन्छ । लामो उपचारपछि यस्ता शिशु बाँचेर फर्किएका डाक्टरहरू बताउँछन् । 

दीपाका चारै सन्तान जीवितै रहे पनि तिनीहरूमा बाहिरी वातावरणको तापक्रममा घुलमिल गर्न नसक्ने र श्वासप्रश्वास गर्न गाह्रो हुने अवस्था छ । ‘अहिलेसम्म स्थिति जटिल छैन,’ डा. चिमरियाले भनिन्, ‘अक्सिजनमा राखेर उपचार गराइरहेका छौं, पहिले पनि ८ सय ग्रामको एउटा शिशु लामो उपचारपछि ठिक पारेर फर्काएका थियौं ।’ 
 बितेको शुक्रबार बेलुका दीपालाई व्यथाले च्यापेजस्तो भएको थियो । शनिबार विहानै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुदाए घनश्यामले । बीपीमा सुत्केरी वार्ड खचाखच रहेछ । एक जना डाक्टरलाई भेटेर श्रीमतीको अवस्था बताइदिए । डाक्टरले बेड खालि नरहेको र राख्नेभए भुइँमा राख्न भने । भुइँको डाक्टरले हेर्दैनन् भनेपछि त्यहाँ बसिरहन मन लागेन । 
 ‘चार बच्चाकी आमाको स्वास्थ्य अवस्था डाक्टरको अगाडि बताइरहँदा उनीहरूमा केही संवेदना हुँदोरहेनछजस्तो लाग्यो,’ घनश्याम भन्छन्, ‘जुन एम्बुलेन्समा हालेर पु¥याएको थिएँ, त्यसैमा हालेर नोबेल ल्याएँ ।’ 
नोबेल ल्याएको चार दिनसम्म प्रसूतिले छटपटाइरहिन् दीपा । जतिबेर पेटमा राख्नसक्यो बच्चा उति म्याचुअड बन्ने डाक्टरको भनाइ थियो । चार दिन बित्दा दीपाको स्वास्थ्य झनै बिग्रिन थाल्यो । त्यसपछि डाक्टरले अप्रेसन गरेका थिए । 
घनश्यामका घरमा ९ जना थिए । अब १३ जना पुगेका छन् । ‘त्यो औषधीले एउटाभन्दा बढी बच्चा हुन्छ भनेर डाक्टरले भनेका भए अर्को विकल्प गरिन्थ्यो होला,’ उनी भन्छन्, ‘अहिलेको अवस्था भनेको बच्चा खेर गएकोभन्दा बढी पीडादायक भएको छ । लालनपालनका कुरा । शिक्षादिक्षा । स्वास्थ्य । सामान्य परिवारका मान्छे । सानो जागिरको त्यसको आम्दानीबाट कसरी धान्ने होला !’ 
 नोबेल अस्पतालले चार शिशुको निःशुल्क उपचार गरिदिने भएको छ । अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालले अस्पताल व्यवस्थापनले निःशुल्क उपचार गरिदिने निर्णय गरेको बताए । दीपाका परिवारका सबै ए–एउटा पेशो गर्छन् । चार सन्तान कसरी रेखदेख गर्ने चुनौती बनेको घनश्याम बताउँछन् । ‘एकैपटक धेरै शिशु जन्मे भनेको सुन्दा अचम्म लाग्थ्यो,’ घनश्याम भन्छन्, ‘अहिले मलाई नै आइलाग्यो, यो एउटा दैवी विपत्तिजस्तै हो जस्तो लागेको छ मलाई ।’ 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.