भारतहुँदै कुवेत लैजान लागेका चार महिलाको उद्दार, तीन पक्राउ

योगेश रावल कैलाली,साउन २४
कैलालीको त्रिनगर भन्सार हुँदै भारत जान लागेका चार महिलालाई माइती नेपाल कैलालीले उद्दार गरेको छ।भारत लैजान लागेका तीन जनालाई पक्राउपछि माइती नेपालले प्रहरीको जिम्मा लगाएको छ। पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिकाका २८ वर्षका सुरेश ओली र धनगढी नगरपालिका हसनपुरका ४५ वर्षीया अस्मानीदेवी डाँगी र २२ वर्षीया जुनाकुमारी डाँगी रहेका छन्। महिलाद्वय आमा छोरी हुन् भने ओली अस्मानीदेवीका भाई हुन्। उद्दार गरिएको महिलामा नुवाकोटका २, उदयपुरका १ र धनकुटाका १ जना छन्। 
 उद्दार गरिएका चारै जना महिलालाई माइती नेपाल कैलालीको पुनस्थार्पना गृहमा राखिएको छ। उद्दार गरिएकामा नुवाकोटका दुई जना मध्ये ४८ वर्षीय आमा र २५ वर्षीय छोरी रहेका छन। श्रीमानले अर्को बिवाह गरेपछि एक्लै रहेकी उदयपुरका २६ बर्षीय एक युवती र धनकुटाकी ४० बर्षीय एक महिला छन्। 
 उनीहरुलाई भारत हुँदै कुवेतमा रोजगारीका लागि लैजान खोजेको अनुसन्धानका क्रममा खुलासा भएको प्रहरीले बताएको छ। 
 'रोजगारीका लागि कुवेत लैजान खोजेको देखिएको छ' कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहनराज जोशीले भने–'घटनाका बारेमा अनुसन्धान भैरहेको छ।'
 उनीहरुलाई काठमाडौबाटै म्यान पावर कम्पनीको मान्छेले कैलालीहुँदै दिल्ली पठाउन खोजेको प्रहरी उपरीक्षक जोशीले बताए। 
उनले पक्राउ परेकाहरुको बयानका आधारमा म्यान पावर कम्पनीका मान्छेलाई पनि झिकाउन लगाइएको जानकारी दिएका छन्। 
 प्रहरीले पक्राउ परेका तीनै जनालाई चेलिबेटी बेचबिखन सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मुद्दा शाखाका प्रहरी सहायक निरिक्षक धर्मानन्द भट्टले आइतबार जिल्ला अदालत कैलालीमा मुद्दा दायर हुने बताए। 
 'आज विदाको दिन भएका कारण मुद्दा दर्ता हुन सकेन' उनले भने–'आइतबार तीनै जना विरुद्ध मुद्दा दर्ता हुन्छ।'उनीहरुले भन्सार नाकामा जाने बेला शुरुमा भातरीय बजार गौरिफान्टा समान खरिद गर्न जान लागेको भनेर झुठो बोलेको माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले बताए।
 'शुरुमा गौरिफान्टा समान किन्न जाँदैछौं भनेका थिए। शंका लागेर सोधखोज गर्दा कुवेतमा पठाइदिने भनेर भारततर्फ लगिरहेको पाइयो' उनले भने–'उनीहरुवाट पैसा पनि नलिएकोले बेचबिखन गर्न लैजान लागेको स्पष्ट भएको छ।'
यो नाका हुँदै दलालले भारतका बेश्यालयका साथै खाडी मुलुकमा बेच्न लैजाने गरेका छन। 
 दिल्ली जान सजिलो हुने भएकाले दलालले झापा लगायतका जिल्लावाट समेत युवतीहरु भारततिर लैजान कैलालीको नाका प्रयोग गर्ने गरेका छन्। 
 दिल्ली र मुम्वईमा रहेका कोठीमा वेच्न लैजाने गरेका छन। भने साउदी अरव कुवेतमा सेटको घरमा यौन शोषण र श्रमशोषण गर्न लैजाने गरेको पाइएको छ' चौधरीले बताए।
 पछिल्लो समयमा कैलालीको भन्सार नाकाबाट बेचबिखन र लागु पदार्थको ओसारपोसारका घटना बढेका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.