सुनकोशीको पहिरोमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो
१९ साउन, सिन्धुपाल्चोक । सुनकोशी नदी थुनिने गरी गत शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा
परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । डोजर र स्काभेटरले पहिरो हटाउने क्रममा घरको भग्नावशेषमा सोमबार मात्र २३ जनाको शव भेटिएको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले जानकारी दिए ।पहिरोमा पुरिएर ज्यान गुमाउनेमा एकै परिवारका पाँचदेखि तीन महिने बच्चासमेत छन् । प्रहरीका अनुसार घुस्कुन १ का राजु धामी, उनकी पत्नी, छोरा र दुई छोरीको ज्यान गएको छ । यस्तै माङ्खा १ कि ३० वर्षीया मिठू तिमल्सिना, ९ वर्षका राजीव, ७ वर्षका रञ्जित र तीन महिने बच्चाको शव भेटिएको छ । १४ वर्षकी जया श्रेष्ठ, २० वर्षकी पुनम श्रेष्ठ, ३० वर्षकी सोममाया श्रेष्ठको शव पनि भेटिएको छ । सोममायाको शवसँगै ११ हजार ४०५ रुपैयाँ र तीन तोला सुन भेटिएको छ ।uddar-1
उदरपुर घर भएकी ४१ वर्षकी मिठू दनुवारको पनि शव भेटिएको छ । माङ्खा १ कि ३५ वर्षका चन्द्रबहादुर श्रेष्ठ, ४० वर्षका गणेश श्रेष्ठ, ५५ वर्षकी धनमाया श्रेष्ठ, ५१ वर्षका रामबहादुर श्रेष्ठ, ४७ वर्षकी सुशीला श्रेष्ठ र १० वर्षका प्रशान्त श्रेष्ठको सनाखत भएका छ ।
यसअघि शनिबार ८ जनाको र आइतबार एक बालिकाको शव भेटिएको थियो । एउटा भने हात मात्र पहिलो दिन नै भेटिएको थियो । सोमबार विहानैबाट डोजर र स्काभेटरको सहयोगमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पहिरो हटाउने काम भइरहेको छ ।
सरकारविरुद्ध नाराबाजी
राहत तथा उद्धारमा बेवास्ता गरेको स्थानीयबासीले बाह्रबीसेमा सरकारविरुद्ध नाराबाजी गरेका छन् । शनिबार बिहान करिव साढे ३ बजेतिर राम्चेबाट झरेको पहिरोले जुरेमा सुनकोशी नदी थुपेको थियो भने गाउँनै पुरिएको छ । प्रहरीले १ ५० बढी सर्वसाधारण बेपत्ता रहेको बताएको छ ।
तर, झण्डै ५० घर पुरिएको आशंका गरे पनि यकिन तथ्यांक छैन । पहिरोले थुनेको नदी ओभर फ्लो भएर बगेपछि बनेको ताल कायमै छ । जसका कारण उद्धार कार्यमा समेत अप्ठ्यारो भएको छ ।
0 comments
Write Down Your Responses