बन्दमा मुन्द्रेको मालामाल

भोजराज श्रेष्ठ धरान, साउन २४ 
सर! कता जाने हो, एक जना कि दुई जना? 
 इटहरीसम्म हो? झोला बोकेर भानुचौकबाट तलतिर झर्दै गर्दा एक पछि अर्कोले यो संवाददातालाई गरेको प्रश्न हो।मैले पनि नजानिदो तरिकाले सोधेँ। इटहरीसम्मको कति लिनुहुन्छ?  ट्याम्पूवालाले मुख खोल्यो, १ सय रुपैया। 'यो त मैले निक्कै कम्ती लिएको हो।' मेरो कुरा भुईमा नखस्दै स्पष्टिकरण दिन खोज्यो। 
 अर्काले बोल्यो '२ सय रुपैया हो, मारुतीमा हो नि त सर्।' 
 मैले भने म जाने हैन। 'जाने भने चाही रेट त्यति हो भनेर सुनाइदिएको नी!' ती व्यक्तिले भने। नजिकै रहेका मारुतीवालाले पनि एकदमै कम रेट लगाएको भनिरहेको थियो।
 मसँगै उभिएका ५५ वर्ष झै देखिने एक वृद्धले बोले 'बन्दमा त मुन्द्रेहरुको पो मालामाल हुदो रहेछ।' आउँदा जाँदा पनि त्यति नै उठाए भने दिनभरीमा त निक्कै राम्रो पैसा संकलन गर्ने रहेछन्।'नेपाल बन्द होस् या पूर्वमा हुने बन्द। त्यति बेला यात्रु ओसार–पसार गर्ने यातायातलाई मुन्द्रे यातायातले चिनिन्छ। विशेष गरी एकदिने बन्दमा मुन्द्रेका रुपमा अधिकांस मोटरसाइकलहरु सक्रिय हुने गर्छन्। तर, शनिबार भने मोटरसाइकलहरु देखिएनन्। 'सायद मान्छे लिएर गएको होला?' सडकमै रहेको औषधि पसले कृष्ण ठाकुरले भने। बन्द लम्बिदै जाँदा त्यसको फाइदा निजी गाडीवाला र त्यसमा चालकहरुले पनि लिने गरेका छन्। बन्दका बेला खुल्ने मुन्द्रे यातायातले इटहरी, विराटनगर, र आसपासको क्षेत्र मात्रै नभई पहाडी जिल्लाहरुको भेडेटार, धनकुटा, हिले लगायत क्षेत्रसम्म सक्रिय रहन्छन्। लामो होस् या छोटो बाटो मुन्द्रे यातायातहरुले यात्रुको ढाँड सेकिने गरी रकम असुल्छन्। 'जानै पर्ने बाध्यता भएपछि जति भने पनि जानै पर्यो।' बन्दले अलपत्र परेका एक यात्रुले मुख खोले। बन्दका बेला होटललगायतमा बस्नु पर्दा मुन्द्रेलाई तिर्ने भन्दा बढी पैसा जाने भएपछि बाध्य भएर पनि यात्रुहरुले भनेजति रकम तिर्ने गरेका छन्। बन्दका बेला चल्ने मुन्द्रेहरु विशेष गरी मोटरसाइकलवालाहरु धेरै हुन्छन्। तर, पनि यिनीहरुलाई नियन्त्रण गर्नका लागि कसैले पनि चासो देखाएको पाइदैन। 'यस्तालाई नियन्त्रण गर्न सबै निकाय सक्रिय हुनुपर्छ।' सप्तकोशी बस व्यवसायी संघ धरानका अध्यक्ष तिलक राईले भने। 
 यातायात व्यवसायीबीचको तानातानले मेची कोशीमा दुई दिन अघिदेखि बन्दको थालनी भएको हो। तर, अहिलेसम्म पनि उनीहरुको तानातान नटुंगिदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। भर्खरै सञ्चालनमा आएको उज्यालो यातायात र स्थापित यातायात व्यवसायीहरुबीचको अन्तरकलहले रोड सुनसान छ। त्यही सुनसानको फाइदा लिँदै मुन्द्रे यातायातहरु सक्रिय हुने गरेका छन्। 
 तर, पनि यातायात व्यवसायीहरुले बन्द खुलाउने विषयमा अहिलेसम्म पनि ठोस निर्णयमा पुगेका छैनन्। आ आफ्नैबीचको तानातानले व्यवसाय मात्रै हैन, उपभोक्ताहरु पनि समस्यामा परेका छन्। यातायात ठप्प भएसँगै बजार आवागमनमासमेत अवरोध पुगेको सुनसरी उद्योग बाणिज्य संघका सदस्य उपेन्द्र चाम्लिङ बताउँछन्। यातायात जव ठप्प हुन्छ तव व्यापार व्यवसाय धरासयी उनले बताए। 'यातायातबाट नै सवैजसो व्यवसाय नै चौपट हुने अवस्था छ।' उनले भने। 
 यातायात व्यवसायीहरु नै पनि दैनिक कोशी मेचीको हिसावले करोड घाटा भइरहेको सुनाउँछन्। तर, पनि बन्द खुलाउने विषयमा भने उनीहरु नै लगभग चुप छन्। उज्यालो यातायात खारेज हुनुपर्छ भन्दै मेचीका यातायात व्यवसायीहरु कुर्लिरहेका छन्। उनीहरुको कुर्लाईसँगै पूर्वको जनजीवन हरेक दिन कष्टकर बन्दै गइरहेको छ। र, त्यसको फाइदा मुन्द्रे यातायातहरुले लिइरहेका छन्। यातायात व्यवसायी राष्टि्रय महासंघको अञ्चलका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनालीले प्रतिदिन अरबौं घाटा भइरहेको स्वीकार्दै आन्दोलन गर्नु आफूहरुको बाध्यता भएको दाबी गरे। 'गैर व्यवसायीहरुले सञ्चालन गरेको संस्था खारेज हुनुपर्छ।, त्यसले व्यवसायीको जनजीविकामाथि नै असहज पारिरहेको छ।' उनले फोनसम्पर्कमा भने। यता उज्यालो यातायात बस व्यवसायी संघ मेचीका संयोजक भूपू राईले हाम्रो कारणले यातायात ठप्प पार्नु दोषारोपण गर्ने काम मात्रै भएको दाबी गर्छन्। उनले राज्यले दिएको रुट परमिटको आधारमा गाडी भित्रयाएको दाबी गरे। अहिले उज्यालोका काठमाडौं काकडभित्ता चल्ने २३ वटा गाडी छन्। उनले भने 'हाम्रो मजदुर कर्मचारी, चालक मजदुर होइनन् भन्ने बुझाई छ उनीहरुको।' 

0 comments

Write Down Your Responses

Powered by Blogger.