चरीको शव शिक्षण अस्पतालमा अझै अलपत्र
२५ साउन, काठमाडौं । चरी भनिने दिनेश अधिकारीको प्रहरीको गोली लागेर मृत्यु भएको पाँच दिन पुगिसक्दा पनि परिवारले शव बुझ्न र पोष्टमार्टम गर्न नमान्दा प्रहरी समस्यामा परेको छ । त्रिवि शिक्षण अस्पतालका
पोष्टमार्टम सम्बन्धी विज्ञ चिकित्सकले कतिपय प्रमाण नष्ट हुने भन्दै चाँडो पोष्ष्टमार्टम गर्न चरीका परिवारलाई सुझाव दिएका छन् ।
चरीको परिवारलाई साथ दिँदै आएका धादिङका एमाले सभासदहरुले पनि तत्काल पोष्टमार्टम गराउन परिवारलाई सुझाव दिएका छन् । तर, चरीका दाजु हरि अधिकारीले शव नबुझ्ने शर्तमा मात्रै पोष्टमार्टम गर्न दिइने बताए । ‘जापानबाट दाइ आउनुभयो, शव हेर्छु भन्दा डीएसपीले बुझेर लैजाने भएमात्र देखाउँछौं भने’ हरिले अनलाइनखबरसँग भने- ‘हामी यो हत्याको छानविन समिति नबनेसम्म शव बुझ्दैनौं’ ।
किटानी जाहेरी दिने
यसैबीच चरीका परिवारले केही प्रहरी अधिकृतविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको बताएका छन् । प्रहरी निरीक्षक कुमुद ढुंगेलविरुद्ध किटानी जाहेरी दिन लागिएको पारिवारिक स्रोतले बतायो । त्यस्तै अपराध महाशाखाका एसएसपी पुष्कर कार्की, काठमाडौं परिसरका प्रमुख उत्तम कार्की र डीएसपी मीरा चौधरीविरुद्ध पनि जाहेरी दिने तयारी रहेको अधिकारी परिवारले बतायो ।
चरीका दाजु हरिले आइतवार र सोमवार सरकारी बिदा भएकाले मंगलबार जाहेरी दर्ता गराउन जाने अनलाइनखबरलाई बताए । तर, प्रहरी स्रोतले भने जाहेरी दर्ता नमिल्ने जनाएको छ । ‘जसको विरुद्ध किटानी जाहेरी गर्ने हो, उसैले अनुसन्धान गर्न मिल्दैन, उनीहरुको तर्कमा तुक छैन’ प्रहरी स्रोतले भन्यो ।
एसएसपी पुष्कर कार्कीले भने उजुरीको प्रकृति हेरेर परिसरले निर्णय गर्ने बताए । ‘हाम्रो काम गरिसकेका छौं’ उनले भने ।
जाहेरी नलिए के हुन्छ ?
यदि प्रहरीले आफैं विरुद्धको किटानी जाहेरी लिएन भने के हुन्छ ? अपराध कानुनका जानकारहरुले ‘पीडित’ पक्ष राष्ट्रिय मानवअधिकार आयोगमा जान सक्छ । साथै जाहेरी बुझ्न परमादेश माग्दै चरीको परिवार अदालत पनि जान सक्ने बताए । सर्वोच्चबाट ढिलाइ हुने गरेकाले पुनरावेदनमा जाने र त्यसपछि अदालतले परमादेश जारी गरेमा प्रहरीले जाहेरी दर्ता गर्नुपर्ने जानकारहरु बताउँछन् ।
अदालत होइन, संसदतिरै
तर, धादिङका एमाले सभासद र चरीका परिवारको प्राथमिकता अहिले अदालत होइन, संसदतिरै छ । अधिवक्तासमेत रहेका एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले अनलाइनखबरसँग भने-’हाम्रो जोड यो घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन होस् भन्नेमै छ, त्यसले जे भन्छ, चित्त बुझाउनुपर्छ’ ।
चरी प्रकरणलाई संसदमा चर्काउने एमाले नेता तथा सभासद राजेन्द्र पाण्डे साउन २७ गते संसद बैठकमा फेरि यो विषय उठ्ने बताउँछन् । त्यही दिन एमालेको केन्द्रीय कमिटी बैठक पनि छ । एमाले बैठकमा पनि चरी प्रकरण चर्किने देखिन्छ । केही एमाले नेताहरुले यो प्रकरण चर्काउन नहुने अभिमत दिइसकेका छन् ।
‘पार्टी अध्यक्षले संसदीय छानविन समिति गठन गर्नुपर्छ भनिसकेकाले अब त्यसबाट दायाँ बायाँ हुने कुरा छैन’ पाण्डेले भने ‘पार्टीले यो विषय त्यतिकै छाड्न मिल्दैन’ ।
उनले यो प्रकरणलाई यत्तिकै छाड्दा प्रहरी स्वेच्छाचारी हुने र जसलाई पनि इन्काउन्टरका नाममा सिध्याउने सिलसिला चल्ने दाबी गरे । तर, प्रहरीका एक उच्च अधिकृतले भने छानविन समिति बनेमा सिंगो प्रहरी संगठन एकढिक्का भएर चरी प्रकरणको प्रतिरक्षा गर्ने बताए । ‘संसदीय समिति गठन गर्न सभामुखदेखि सबै दलहरु एकमत हुनुपर्ला । एउटा गुण्डा इन्काउन्टरमा मारिँदा सबै दल उसको पक्षमा उभिन्छन्जस्तो हामीलाई लाग्दैन’ ती प्रहरी अधिकारीले भने । एमालेले विस्तारै यो प्रकरणलाई बिर्सनुपर्ने उनले बताए ।
0 comments
Write Down Your Responses