उदयपुर चार अनाथको कन्तविजोग
उदयपुर, बाबुआमाको मृत्युपछि बेसहारा जीवन बिताइरहेका उदयपुरको त्रियुगा नगरपालिका २ गाईघाटका
चार बालबालिका बिचल्लीमा परेका छन् ।
२०६२/०६३ को जनआन्दोलनमा सप्तरीको नेताचौकमा गोली लागि घाइते भएका बाबु महेशप्रसाद भगतको २०६२ फागुन २ गते र आमा गीतादेवीको २०६५ सालमा मृत्यु भएपछि १७ बर्षकी रञ्जनाकुमारी भगत, १४ बर्षकी कञ्चनकुमारी भगत, ११ बर्षका सुनिल भगत र ८ बर्षका आन्दोलन भगत विचल्लीमा परेका हुन् ।
आर्थिक अवस्था दयनीय भएकाले उपचार गराउन नसक्दा बुबाको ज्यान गएको रञ्जना बताउनुहुन्छ । जनआन्दोलनका क्रममा बुबाले ज्यान गुमाएपनि राज्यबाट कुनै सेवा सुबिधा नपाएको उहाँको गुनासो छ ।
आफु सानै उमेर र आमा अशिक्षित भएकाले आवश्यक प्रमाण जुटाउन नसक्दा राज्यको सेवा सुबिधाबाट बञ्चित भएको रञ्जनाको भनाई छ । बुबाको मृत्युपछि आमाको साहारा पाएपनि सानै उमेरमा दुबैले छोडेपछि आफुहरु विचल्लीमा परेको उहाँले बताउनुभयो । दिनभर खोलाको गिटी कुटेर कमाएको पैसाले दुई भाइलाई सरकारी बिद्यालयमा भर्ना गरेको रञ्जनाले बताउनुभयो । ११ बर्षका सुनिल कक्षा २ र कान्छा आन्दोलन कक्षा १ मा स्थानीय त्रियुगा उच्च माध्यमिक बिद्यालयमा पढ्छन् ।
कक्षा ५ पढ्दा पढ्दै बाबुको मृत्युले रञ्जनाले भने पढ्न पाउनुभएन । माइली बहिनी कञ्चनलाई पढाउन नसकेकोमा रञ्जनालाई साह्र्रै दुःख लाग्छ । ‘आफुले दुःख बेसाएर भएपनि भाइबहिनी पढाउने सपना थियो, तर के गर्नु दैवले नै ठगेपछि कसको के लाग्दो रहेछ र’ उहाँले भन्नुभयो । आफुले कमाएको पैसाले चार जनालाई खान लाउन नपुगेपछि बहिनीलाई पनि संगै काम गर्न लैजान बाध्य भएको उहाँले बताउनुभयो ।
बालबालिकाको विजोग देखेरै जेठो सुनिल र बहिनी कञ्चनलाई मामा विक भगतले रोजगारीका लागि भारत लैजानुभएको थियो । भारत पुर्याएका मामा विकले सुनिललाई होटलमा भाँडा माझ्न र कञ्चनलाई घर्यासी काममा राखेको खबर पाएपछि आफु झन थप पीडामा परेको रञ्जना बताउनुहुन्छ । ‘पीडा सहन नसकेपछि मासवेसका अध्यक्ष नजवुल खानलाई वेलिविस्तार लगाएको त्यसपछि उहाँले प्रशासनको सहयोगमा नेपाल निकालेको’ उहाँले भन्नुभयो । झण्डै डेढ बर्षअघि त्रियुगा नगरपालिकाले पलाष्टिक मुक्त क्षेत्र घोषणा गरेको दिन पीछडा वर्ग कार्यक्रमबाट छात्रवृती स्वरुप १७ हजार पाँच सय रुपैयाँ उपलब्ध गराएपछि एक बर्ष दुःखले घरखर्च टरेको छ । भनेजस्तो काम नपाउँदा घर खर्च चलाउन समस्या भएको छ ।
‘दुई छाक टार्न धौ धौ परेको बेला भाइलाई बिरामीले सताएको छ, गोजीमा सुक्को छैन, कसैले ऋण पनि पत्याउँदैनन्, कहाँबाट उपचार गरौं हजुर ?’ रञ्जनाले दुःख पोख्नुभयो ‘दुखिया र टुहुराको जीन्दगी हुनु पनि वेकार रहेछ, कसरी यी दुई भाईलाई शिक्षादिक्षा, औषधि उपचार दिनु, न मसँग धन सम्पती छ, न आफन्त नै ।
आमाको मृत्युदर्ता प्रमाणपत्र बनाउन नसक्दा भाइहरुको भविष्य अन्योलमा परेको उहाँले बताउनुभयो । ‘बालबालिकाको क्षेत्रमा काम गर्दै आएको वल्र्डभिजन इन्टरनेशनलले शिक्षादिक्षा र पालनपोषणका लागि बालगृहमा लगिदिन्छु तर बाबुआमाको मृत्यु दर्ता चाहियो भन्छ, सम्बन्धित निकाय त्रियुगा नगरपालिकामा जान्छु आलटाल गरेर पठाउँछ म के गरौ ?’ उहाँले प्रश्न गर्नुभयो ।
0 comments
Write Down Your Responses