सिन्डिकेटको आँखा लागेको उज्यालो बस अरूभन्दा सस्तो

पाँच दिनदेखि सिन्डिकेट माग्दै यातायात व्यवसायीले गरिरहेको हडताल खुलेको छ। स्थानीय प्रशासनको दबाबपछि आइतबार साँझबाट बन्द खुलेको हो। 
 पूर्वी नाका काँकडभिट्टाबाट काठमाडौंका लागि प्रतिस्पर्धामा गाडी कुदाएको भन्दै वर्षौंदेखि सिन्डिकेट चलाइरहेको मेची बस व्यवसायी संघले यातायातमा हडताल गरेको थियो। 
 आइतबार झापा जिल्ला प्रशासनमा बसेको वार्तामा स्थानीय प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएपछि तत्कालका लागि यातायात खोल्न सिन्डिकेटवालाहरू सहमत बनेका छन्। 'केही सहमति बनेको हैन, स्थानीय प्रशासनले कडा कारबाही गर्ने भनेपछि यातायात खोल्न उनीहरू तयार भए,' उज्यालो बस व्यवसायी संघ मेचीका महासचिव केवलराम राईले भने।वार्तामा झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, मेचीका एसएसपी केशरीराज घिमिरे, एसपी मुकुन्द आचार्य, मेची बस व्यवसायी संघका अध्यक्ष श्रीप्रसाद मैनाली, मेची बस यातायात राष्ट्रिय महासंघका मेची संयोजक एलपी सिटौला, उज्यालो बस व्यवसायी संघका अध्यक्ष भूपू राई लगायत, एमाले, कांग्रेस, एमाओवादी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू थिए।
 सरकारले खारेज गरिसकेको आलोपालो प्रणाली 'सिन्डिकेट' लाद्न खोजेको भन्दै सरकारी अधिकारी आक्रामक बनेको वार्तामा सहभागी एक सदस्यले सेतोपाटीलाई बताए।   
 यता कोसी अञ्चल बस व्यवसायी संघले पनि यातायात बन्द फिर्ता लिएको जनाएको छ। जनैपूर्णिमा, बोलबम जाने तीर्थयात्री मारमा परेको लगायत कारण देखाउँदै व्यवसायी संघले यातायात खुलाएको हो। 
 मेची बस व्यवसायी संघले सिन्डिकेट माग्दै हडताल थालेपछि विस्तारै त्यसको प्रभाव कोसी अञ्चलका जिल्लाहरूमा पर्दै गएको थियो। यातायात सम्बद्ध संगठनले सिन्डिकेटमा समर्थन जनाएका थिए। पूर्वमा पहिलोपटक आफ्नो सेवा विस्तार गर्न खोजेको उज्यालो बस यात्रुलाई सुविधा दिन नपाउँदै सिन्डिकेटको चेपुवामा परेको छ। काँकडभिट्टाबाट छुट्ने गाडीमा वर्षौंदेखि एकाधिकार जमाउँदै आएको मेची बस व्यवसायी संघको सिन्डिकेटमा मिसिन नमान्दा उज्यालोलाई बस गुडाउन नदिन सिन्डिकेटवालाहरू एक भएका छन्। 
 कुद्न नपाउँदै सिन्डिकेटले निमोठ्न खोजेको उज्यालो यातायातमा के छ? बस व्यवसायी संघका अनुसार उज्यालो बसले सरकारले तोकेभन्दा पाँच प्रतिशत सस्तोमै यात्रा गराउने भनेको छ। आलोपालो प्रणाली 'सिन्डिकेट' तोड्ने प्रयास उसले गरेपछि सबैको 'तारो' बन्यो। 'सरकारले तोकेभन्दा पाँच प्रतिशत कम रकममै यातायात सेवा दिने हामीले निर्णय गरेका छौं,' राईले भने। जबकि, सिन्डिकेट चलाउनेहरूको आफ्नै भाडादर छ, मनखुसी जसले जति मनलाग्यो त्यति असुल्छन्। उज्यालो यातायात नौं महिनाअघिबाट पूर्वमा ल्याउने तयारी थालिएको थियो। असार १६ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भइ अनुमति पाएपछि उज्यालोले गाडी ल्याउने गृहकार्य थाल्यो। 
 यसको मातृ संस्था नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघ हो। 
 यसबीच मेची बस व्यवसायी संघले पटक–पटक व्यवधान गर्न खोज्यो। मेची बस व्यवसायी संघमा आवद्ध भएपछि मात्र शाखा सञ्चालन गर्न दिने भन्दै उक्त संघका अध्यक्ष श्रीप्रसाद मैनालीले बखेडा झिकिरहे। 
 आफ्नो एकाधिकार चलेको व्यवसायी संघमा मिसिन दबाब दिइरहे। 
 'हामी (उज्यालो बस व्यवसायी)हरू सिन्डिकेटभित्र पस्न रूचाएनौं,' राईले भने, 'त्यसैको परिणाम उज्यालो गुड्न दिइएन।'

0 comments

Write Down Your Responses

Powered by Blogger.