मोदीका 'धर्मपुत्र' जीतबहादुरलाई हेर्न भीड

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नेपाल आएका जीतबहादुर सारु मगरलाई हेर्न स्थानीयको भीड लागेको छ। नवलपरासीको कावासोतीस्थित लोकाहामा दाजु दशरथको घरमा आएका उनलाई हेर्नेको भीड लागेको हो। आइतबार नेपाल आएका जीतबहादुरलाई भारतीय प्रधानमन्त्री मोदीले परिवारको जिम्मा लगाएपछि उनीहरू
आइतबार नै परिवारका साथ घर आएका थिए।
 होटल हायातबाट निस्केदेखि नेपाली मिडियाको भेटघाटले घर आउँदा रातिको १० बजेको थियो दाजु दशरथले भने,“काठमाडौंमा केहीबीचमा र नारायणघाटमा रोकियो घर आउँदा वरिपरिकाले पर्खेर बस्नुभएको थियो।” रोकिनुको कारण थियो मिडियामा जीतबहादुरको अन्तर्वार्ता। राति घर आएका उनलाई हेर्न सोमबार बिहानैदेखि गाउँमा मानिसहरू आउन थालेका थिए। गैँडाकोट, प्रगतिनगर, मुकुन्दपुर, चोरमारा, कावासोती, गिरुबारीलगायका ठाउँबाट उनलाई हेर्न आउनेको सङ्ख्या उल्लेखनीय रहेको दाजु दशरथले बताए ।
 लोकाहामा रहेको घर आउने मान्छेको भीडका कारण आँगनमा टेन्ट टाँगेर कुर्ची राखिएको छ भने जीतबहादुर आफूलाई हेर्न आउनेसँग कुरा सुन्ने र टाउको हल्लाएर हाँस्ने गर्छन्। धेरैजसो नेपालीमा सोधिएको कुराहरूको उनी हिन्दीमा जवाफ फर्काउने गर्छन्। सानैबाट भारतमा बसेका सारुको नेपाली भाषामा भन्दा हिन्दीमा बढी दख्खल छ। धेरै जनाले टिभी, रेडियो र पत्रिकामा जीतबहादुर घर आएको खबर पाएकाले हेर्न आएको बताएका छन्। घर भित्र्याइएको नयाँ 'दुलही' लाई मुख हेर्न लाग्ने भीडजस्तै जीतबहादुरलाई हेर्नेहरूको भीड लागेको कावासोतीका गणेश विकले भने। 
 कम बोल्ने जीतबहादुरको हसिलो अनुहारले धेरैलाई मक्ख बनाएको छ। 
 घरमा आएकालाई चिया र पानी खुवाउने काममा व्यस्त छन् दाजु दशरथ। हँसिलो अनुहारमा देखिएका दाजु घरमा आएकासँग प्रफुल्ल भएर कुरा गर्नुहुन्छ। दाजु प्रायः भाइ जीतबहादुरसँगै बस्छन्। जीतबहादुर भने दाजुका छोरा र छोरीसँगको गफमा रमाउँछन्। गाउँका मान्छे धेरैपछि देखेकोमा उनलाई सुम्सुम्याउँछन्। दिल्लीमा छ भन्ने सुनेका थियौँ आज यसरी देख्न पाएकोमा खुसी लाग्यो गिरुबारीबाट भेट्न आएकी गोपी सुनारले भने। पहाड (नरम–३ नगरडाँडा)मा सँगै घर भएको भन्दै उनले जीतबहादुरलाई सानो छँदाको कुरा स्मरण गराए। जीतबहादुरसँग फोटो खिच्नेहरूको पनि उत्तिकै भीड छ। रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.