पहिरोमा पुरिएर एक प्राविधिकको मृत्यु

२८ साउन, खोटाङ । वर्षाका कारण गएको पहिरोमा परी खोटाङमा लघुजलविद्युत् आयोजनाका एक प्राविधिकको मृत्यु भएको छ । भारी वर्षापछि गएराति गएको पहिरोले पुरिएर उत्तरी गाविस फेदीका-५ स्थित पञ्चमी छमुवा खोला लघुजलविद्युत् आयोजनाका ३६ वर्षीय प्राविधिक अष्टकुमार राईको मृत्यु भएको हो । राईको शव स्थानीयवासीले पहिरोबाट निकालेका छन् ।
सोही पहिरोबाट लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा कार्यरत स्थानीय २९ वर्षीय प्रवीण राई घाइते भएको प्रहरीले जनाएको छ । ६० मिटर माथिबाट खसेको पहिरोले तीन वर्षदेखि सञ्चालन भइआएको ३९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको विद्युत् गृह ध्वस्त बनाएको छ । सोही पहिरोका कारण आठ घर परिवार विस्थापित भएका छन् । भारी वर्षाका कारण गएको पहिरोका कारण फेदी-५ का पाँच, बासपानी, खार्मी र पाथेकामा एक/एक घर परिवार विस्थापित भएका छन् । घरलाई पहिरोले तानेपछि नौमणी दर्जीको सात, रामबहादुर राईको पाँच, ज्ञानबहादुर सार्कीको सात, हर्कबहादुर दर्जीको छ र मायाँ राईको चार जनाको परिवार विस्थापित भएका हुन् ।
पहिरो पीडितको उद्धारका लागि आज सदरमुकाम दिक्तेलबाट सेना र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिए । घटनास्थल सदरमुकाम दिक्तेलबाट एक दिनको दूरीमा पर्छ । पहिरोले फेदी-१, २, ३, ५ र ९ वडाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको स्थानीय धनकुमार राईले बताए ।
राईका अनुसार फेदी-३ स्थित ४० किलोवाट क्षमताको नोक्ती तापखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बगाएपछि गाउँमा विद्युत् सेवा बन्द भएको छ । बाढीले फेदी-३ कै तापखोलाको काठे पुल बगाएपछि आवतजावत बन्द भएको छ । काठे पुल बगाएपछि फेदी-३ को लालीगुराँस प्रावि र फेदी-५ को पत्करु निमाविको पठनपाठन प्रभावित बनेको राईले जानकारी दिए ।
यस्तै, पहिरोले खार्मी-३ रुधालुङका खरबमनी राईको घर बगाएको छ । पहिरो विस्तारै खसेको र मान्छे भागेकाले मानवीय क्षति भने नभएको प्रहरी नायब उपरिक्षक गोविन्द शाहले बताए । प्रनाउ शाहका अनुसार पहिरोले पाथेका-९ का सेतुमान राईको घर र गोठ पनि बगाएको छ । पहिरोमा उनका एक भैँसी र दुई बाख्रा मारिएका छन् । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.