चीनमा भूकम्पबाट १५२ को मृत्यु, तीन हजार भन्दा बढी घाइते
काठमाडौं, वैसाख ८ (एएफपी) चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय ५२ पुगेको विदेसी संचार माध्यमले जनाएका छन् । सो भूकम्पको उद्वारको कार्य भई नै रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै एकीन हुन भने सकेको छैन।
शनिबार विहान आएको सो भूकम्पबाट निकै ठूलो क्षति भएको अनुमान गरिएको भए पनि यसको वास्तविक क्षतिको विवरण आउन अझै धेरै समय लाग्ने पनि बताइएको छ।
शनिबार अपरान्ह प्राप्त पछिल्लो विवरणअनुसार सो भूकम्पबाट तीन हजार जना गम्भीर रुपमा घाइते भएका छन्। घाइतेको उद्वार जारी नै रहेको पनि समाचारमा जनाइएको छ।
चिनियाँ अधिकारीहरुले सयौँ व्यक्तिको मृत्यु भएको वा उनीहरू घाइते भएको आशङ्का गरेका छन्। पाँच वर्षपहिले यसै क्षेत्रमा एउटा शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्याएको थियो।
स्थानीय भूकम्पविद्हरूले उक्त भूकम्प ७.० रेक्टर स्केलको भएको अनुमान गरेका छन्। अमेरिकी भौगोलिक सर्वेक्षणले उक्त भूकम्प ६.६ रेक्टर स्केलको भएको र त्यो पृथ्वीको सतहबाट १२ किलोमिटरभित्रैबाट सुरु भएको उल्लेख गरेको छ।
उक्त भूकम्पपछि पनि अनेकौँ कम्प अनुभव गरिएको बताइन्छ। ती कम्पहरुपछि स्थानीय नागरिकहरु निकै त्रस्त बनेका छन्। उनीहरु विगतको शक्तिशाली भूकम्पबाट भएको व्यापक नरसंहारको त्रासले आतङ्कित बनिरहेको समाचारमा जनाइएको छ।
स्थानीय समय अनुसार बिहानको ८ : ०० बजे गएको उक्त भूकम्पले पहिरो उत्पन्न गराएको तथा भवनहरू नष्ट गराएको बताइएको छ। हाल त्यहाँ व्यापक उद्वार कार्यलाई तीब्रता दिइएको छ। सयौँ सैनिकले उद्वारलाई तीब्रता दिएका छन्।
उक्त भूकम्पका समयमा नजिकैका नगरका सयौँ व्यक्तिहरू सडकमा पुगेका थिए। उनीहरु विहानैदेखि सडकमै बसिरहेको बताइएको छ। उनीहरमा भूकम्पको ठूलो त्रास उत्पन्न भएको पनि समाचारमा उल्लेख छ।
शनिबार अपरान्हसम्मको तथ्याङ्कअनुसार सो भूकम्पबाट हजारौँ घर नष्ट भएका छन्। अन्य भौतिक सम्पत्तिको क्षतिको लगत तयार भइरहेको छ। सयौँ व्यक्ति सो भूकम्पको भग्नाबशेषमा परेको आशङ्का गरिएको छ।
सिचुआन भूकम्प विभागले याआन, लुसानमा गएको भूकम्पका कारण सयौँ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ। सन् २००८ मा भूकम्प जाँदा ८७ हजार व्यक्ति हराएको वा मरेका थिए।
उक्त भूकम्पपछि सो समयमा उद्वारको काम प्रभावकारी रुपमा नभएको भन्दै सिचुआनका अधिकारीहरूको निकै आलोचना भएको थियो। सोही कारण यस पटकको भूकम्पपछिको उद्वारको कार्यमा भने अधिकारीहरुले निकै नै तीब्रता दिएका बताइएको छ।
यसपटक स्थानीय अधिकारीहरूले तत्कालै उद्धारकार्य आरम्भ गरेका छन् र राष्ट्रपति सी जिनपिङले क्षति कम गर्न सकेसम्म प्रयास गर्न आदेश दिनुभएको छ। प्रधानमन्त्री ली केकियाङ याआनतर्फ गएको जानकारी पिपुल्स डेलीले दिएको छ।
भूकम्प प्रभावित क्षेत्रमा पुग्न चाहने उद्धारकर्मीहरूलाई सडक सफा गर्न सङ्घर्ष गर्नुपरेको र यसले उद्धार कार्य प्रभावित भएको बताइएको छ। चोङकिङसम्मका ठूला नगरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। यो नगरको जनसङ्ख्या तीन करोड रहेको बताइन्छ।
सिन्ह्वा समाचार संस्थाले करिब दुई हजार सैनिक उक्त क्षेत्रमा पठाइएको जानकारी दिएको छ। चेङदु सैनिक क्षेत्र कमान्डका दुई हेलिकप्टर स्थलगतरूपमा क्षतिको अवस्था बुझ्न पठाइएको छ। विभिन्न स्थानबाट निकालिएका घाइतेहरुको उपचारका लागि आवश्यक मात्रामा स्वास्थ्यर्मीको प्रबन्ध गरिएको छ।
0 comments
Write Down Your Responses