प्रधानमन्त्रीद्धारा मृत्युदण्ड सजाय सुनाइएका बमलाई बचाउने प्रतिबद्धता, नुवांकोटका घलेबारे मौन

७ माघ, काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईले दुबईमा मृत्युदण्डको सजाय सुनाइएका  अमरबहादुर बमलाई बचाएरनेपाल ल्याइछाड्ने प्रतिबद्धता जनाउनुभएको छ । तर मलेसियामा मृत्युदण्डको सजाय पाएका नुवाकोटका हरिबहादुर घलेको जीवन रक्षा गर्नुपर्ने मागका बिषयमा भने प्रधानमन्त्री मौन बस्नुभएको छ ।
नेपाल विश्व सहयोग सङ्घ, नेपाल च्याप्टर 'एनएजिसी'द्वारा बुझाइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आफू र नेपाल सरकारका तर्फबाट कुटनीतिक पहल गरी बमलाई जुनसुकै हालतमा पनि बचाइछाड्ने प्रतिबद्धता जनाउनुभएको हो । अल अबिर सेन्ट्रल जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमरलाई बचाउने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म त्यो व्यवहारमा कार्यान्वयन नभएको भन्दै एनएजिसीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संस्थाका केन्द्रीय अध्यक्ष मणि नेपाली पनेरुले जानकारी दिनुभएको छ ।
ज्ञापनपत्रमा बमको ज्यान बचाउन तथा दुबईका अन्य मुद्दालाई समेत सम्बोधन गर्ने गरी चाँडै दुबईको भ्रमण मिलाउन आग्रह गरिएको छ । साथै राष्ट्रियता र विदेशी लगानीजस्ता मुद्दामा चनाखो हुन, नेपाल र विदेशमा रहेका म्यानपावर कम्पनीले नेपाली कामदारप्रति नाजायज फाइदा उठाएको, शोषण गर्ने भएकाले त्यसलाई गम्भीररुपमा लिन गरिएको मागमा पहल गर्ने जवाफ दिनुभएका प्रधानमन्त्री भट्टराईले नुवांकोटका घलेको मृत्युदण्ड कार्यान्वयको संघारमा पुगिसक्दा समेत केही नबोल्नुले प्रधानमन्त्रीको नियतमा शंका उब्जाएको ज्ञापनपत्र बुझाउन गएकाहरुले बताए ।
एनएजिसीले ज्ञापनपत्र एकीकृत नेकपा 'माओवादी'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली काँगे्रसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र संयुक्त मधेशी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारलाई समेत बुझाउने बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.