जापानमा गलकोटेका मात्रै पाँच सय रेस्टुरेन्ट

१२ फागुन, काठमाडौं । रोजगारीको सिलसिलामा जापान पुगेका बागलुङको गलकोट क्षेत्रका व्यक्तिले जापानमै रेस्टुरेन्ट खोल्ने क्रम बढेको छ । जापानका मुख्य सहर टोकियो, नागोया र ओसाकामा धेरै गलकोटेले रेस्टुरेन्ट चलाएर बसेका छन् । रोजगारीको लागि जापान पुगेका अधिकांशले त्यहीँ रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने गरेको गलकोट समाज जापानका अध्यक्ष मोहन खत्रीले बताउनुभयो ।

गलकोट क्षेत्रअन्तर्गत पश्चिम बागलुङका १६ गाविस परेपनि जापानमा भने करिब ८, १० गाविसका बढीजसो व्यक्तिहरु जापान पुगेका छन् । ‘गलकोट क्षेत्रबाट जापान पुगेका व्यक्तिले खोलेका रेस्टुरेन्ट करिब ५०० भन्दा बढी छन्’ खत्रीले भन्नुभयो ‘यो सङ्ख्या अझै बढ्ने देखिन्छ ।’ दिनप्रतिदिन रेस्टुरेन्ट खोल्ने क्रम बढेकाले सङ्ख्या एकिन गर्न नसकिने खत्रीको भनाइ छ ।

खत्रीका अनुसार एकै व्यक्तिले सात वटासम्म रेस्टुरेन्ट सञ्चालन गरेका छन् । बढीजसो रेस्टुरेन्ट टोकियो, नागोया र ओसाका जस्ता मुख्य सहरमा खोलिएको खत्रीको भनाइ छ । ‘सुरुमा काम गर्ने उद्देश्यका साथ त्यहाँ पुग्नेहरुले पछि गएर आफँै व्यवसाय सञ्चालन गर्ने क्रम बढ्दो छ’ खत्रीले भन्नुभयो ‘यसले जापानमा टिकिरहने वातावरण सिर्जना गर्नुका साथै नयाँ रोजगारी पनि सिर्जना गरेको छ ।’

जापानमा सुरुका वर्षहरुमा पुग्ने नेपालीले राम्रो व्यावसायिक सफलता हासिल गरेपनि पछिल्ला वर्षमा जानेहरुका लागि ठूलो चुनौती रहेको खत्रीले बताउनुभयो । तरपनि रेस्टुरेन्ट खोल्ने क्रम भने दिनप्रतिदिन बढ्दै गएको खत्रीले उल्लेख गर्नुभयो ।

पछिल्ला वर्षमा जापान पुगेका विवाहित पुरुषले श्रीमतीलाई पनि जापान बोलाएर रेस्टुरेन्टजस्ता व्यावसायिक काममा हात हाल्ने गरेको टोकियोमा रेस्टुरेन्ट व्यवसाय गरेर बस्नुभएका गलकोट मल्म–९, का गुमानसिंह थापाले बताउनुभयो ।

थापाका मात्रै टोकियोमा दुईवटा रेस्टुरेन्ट छन् । घटीमा रु २० लाखदेखि बढीमा दुई करोडसम्मको लगानीमा रेस्टुरेन्ट सञ्चालन हुने गरेका छन् । ‘नेपालीले धमाधम रेस्टुरेन्ट खोल्न थालेपछि नयाँ रोजगारी सिर्जना हुने गरेको छ’ रेस्टुरेन्ट व्यवसायी थापाले भन्नुभयो ।

अर्काको होटल, रेस्टुरेन्टमा काम गर्नुभन्दा आफ्नै लगानीमा सञ्चालन गर्दा बढी कमाइ पनि हुने र व्यावसायिक सफलता पनि मिल्ने भएपछि धेरैले लगानी गर्न थालेको थापाको भनाइ छ ।

रेस्टुरेन्ट सञ्चालकले नेपालमा रहेका परिवारका सदस्य र आफन्तलाई पनि जापान लैजान सजिलो हुने गरेको बताउँछन् । नेपालीले सञ्चालन गर्ने गरेका रेस्टुरेन्टमा अधिकांश नेपालीले नै रोजगारी पाएका छन् ।

कम्तीमा पनि दुईदेखि १० जनासम्म नेपालीले एउटा रेस्टुरेन्टमा काम गर्ने गरेका छन् । ७५ प्रतिशत नेपाली र २५ प्रतिशत विदेशीले नेपालीका रेस्टुरेन्टमा रोजगारी पाएको गलकोट समाज जापानका अध्यक्ष खत्रीले बताउनुभयो ।

त्यहाँ रहेका रेस्टुरेन्टमध्ये ७० भन्दा बढी त मल्म गाविसबाट जापान पुगेका व्यक्तिले नै सञ्चालन गरेका छन् । जापान पुगेका गलकोटेले बर्सेनि करोडौँ रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल भित्राउने गरेका छन् । मासिक लाखौँ रुपैयाँ कमाइ हुने र रोजगारीको प्रत्याभूति हुने भएपछि जापान नेपालीका लागि आर्कषक गन्तव्य बन्न पुगेको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.