अर्बौं बर्षसम्म पृथ्वी यही अवस्थामा

श्हर बजारमा इन्टरनेटमा झुण्डिनेहरुलाई मात्र होइन, गाउँठाउँसम्म पनि डिसेम्बर २१ को चर्चा र हल्ला पुगेको छ । साँच्चै २१ डिसेम्बर अर्थात पुस ६ गते शुक्रबार पृथ्वीको अन्त्य हुने नै हो त ? यस्तो प्रश्न गर्दा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका प्राज्ञ तथा खगोलविद ऋषि शाह भन्नुहुन्छ- ‘ढुक्क हुनुहोस्, शुक्रबार केही हुँदैन, पृथ्वी ध्वस्त हुन्छ भन्ने कुनै आधार छैन । यो ‘निराधार हल्ला मात्र हो, केही हुँदैन ।’
सौर्यमण्डल र खगोलीय पिण्डको बारेमा अध्ययन गर्दै आएको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले पनि यो हल्ला निराधार भएको ठहर गरेको छ । ‘घोर निराशावादी मानिसहरु मात्र यस्ता कुरामा आश्वस्त हुन सक्छन्’ नासाले भनेको छ ।
कसरी चल्यो हल्ला ?
डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्ला नेपालमा मात्रै होइन, विश्वका धेरै देशमा चलेको छ । ‘प्रविधिको विकासका कारण यो हल्ला सबैतिर फैलिएको हो’ शाहले भन्नुभयो । संसारको अन्त्य हुन्छ भन्ने हल्ला माया क्यालेन्डरका आधारमा फैलिएको हो । माया क्लान्डेर डिसेम्बर २२ मा सकिने भएकाले पृथ्वीको आयु पनि यही क्यालेन्डर अनुसार समाप्त हुने भनिएको छ ।
इन्टरनेटमार्फत एकपछि अर्को चल्दै गएको हल्लाले डाइनोसर लोप भएजस्तै पृथ्वीमा विशाल ग्रहहरु ठोक्किने र मानव सभ्यता नै नष्ट हुने, डिसेम्वर २३ देखि २५ तारिखमा उत्तरी ध्रुव दक्षिणमा र दक्षिण्ी ध्रुव उत्तरमा जाने र पृथ्वीमा पुरै अँध्यारो हुने आतंक फैलाएको छ । कुनै धर्म या धार्मिक समूहले यस्तो हल्ला चलाएको अनुमान गरिएको छ । तर, यो हल्लामा कुनै वैज्ञानिक आधार छैन । ‘सबै ढुक्क र निश्चित भए हुन्छ, चार अर्बदेखि पृथ्वी स्थिर छ र आउँदो अर्बौं वर्षसम्म पनि यही अवस्थामा रहन्छ’ नाष्टका अर्का प्राज्ञ डा. दयानन्द बज्राचार्यले बताउनुभयो ।
ज्योतिषी पनि भन्छन्- केही हुन्न
ज्योतिषशास्त्रले पनि डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने कुरा आधारहीन भनेको छ । ज्योतिषाचार्य तथा वास्तुशास्त्री डा. वासुदेवकृण शास्त्री पुस ६ गतेदेखि पुस १३ गतेसम्म कुनै अशुभ या अनिष्टको संकेत देखिएको छैन । ‘यस अवधिमा चन्द्रमा मीन राशीमा रहने भएकाले सूर्य धनराशी, मंगल मकर राशी, बृहस्पति वृष राशी, केतु मेष राशी, राहु तुला राशी तथा शुक्र र वुध बृश्चिक राशीमा रहनेछन्’ शास्त्रीले भन्नुभयो-’ग्रहहरुको स्थिति हेर्दा यो अवधिमा आकाशमा बादलको अवस्था, हावाको वहाब, पानी पर्ने सम्भावना, पृथ्वीको गति वा चाल, सबै ग्रह तथा नक्षत्रहरुको चाल, आकाश गंगाको स्थिति गणना गर्दा कुनै पनि अनिष्ट वा अशुभको संकेत देखिँदैन ।’
अन्त्य भए पनि अर्बौं वर्षपछि
पृथ्वी ध्वस्त हुने, प्रलय हुने, सबै मान्छे मर्ने कुरा अहिले मात्र पहिलोपटक चलेको होइन । पहिले पनि यस्तै हल्ला चल्थे । मान्छे आतंकित हुन्थे । तर हल्ला कहिल्यै साँचो भएन । तर पृथ्वी सधैं यस्तै अवस्थामा रहन्छ भन्नचाहिँ नसकिने वैज्ञानिकहरुले बताएका छन् । खगोलविदहरुका अनुसार पृथ्वीको आयु साढे ७ अर्ब वर्ष भन्ने छ । ‘यही हिसाब मान्ने हो पनि अझै साढे ४ अर्ब वर्षसम्म पृथ्वीलाई केही हुँदैन’ खगोलशास्त्री ऋषि शाहले भन्नुभयो । अनलाइनखबरबाट ।
0 comments
Write Down Your Responses