शान्तिप्रक्रियामा आएपछि एमालेसित एकतापहल गरेको थिएँ’: प्रचण्ड
काठमाडौं, जेठ ४— एकीकृत ने.क.पा. (माओवादी)का अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियामा आएपछि आफूले सिङ्गै एमालेसित एकताको पहल गरेको खुलासा गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा एमालेका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा यस्तो खुलासा गरेका हुन् । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, उहाँहरु कम्युनिस्ट चिन्तन, आचरणबाट धेरै पर गएकाले एउटै केन्द्र बन्न सकेन ।’
जनवादी क्रान्ति पूरा गर्नको लागि नेपालमा जनसंख्याको दुई तिहाई हिस्सा ओगटेका वामपन्थीहरुको बीचमा ‘एउटै कम्युनिस्ट केन्द्र’ बन्नुपर्नेमा प्रचण्डको जोड थियो ।
उनले अगाडि भने, ‘संविधानसभाको चुनावमा तालमेलका लागि पनि भन्यौं । तर, एमालेको अहंकारले गर्दा एउटै पार्टी बनाउन वा तालमेल गर्न पनि सकेनौं ।’
स्मरणीय के छ भने एमालेका झलनाथ खनाल र एमाओवादी अध्यक्ष प्रचण्डबीच २०६५ असार ३१ मा १६ बुँदे सहमति मस्यौदामा हस्ताक्षर गर्ने योजना थियो ।
त्यो मस्यौदामा उल्लेख थियो, ‘दुई पार्टीबीच व्यवहार र सिद्धान्तमा रहेका दूरी घटाउँदै अझ उन्नत र फराकिलो एकताका लागि आधार तयार गरिनेछ ।’ तर, पछि एमालेका नेताहरुले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उक्त मस्यौदा त्यत्तिकै थन्कियो ।
प्रचण्डले फेरि एकपटक शनिबार एमालेलाई पार्टी एकताका लागि आह्वान गरेका छन् ।
0 comments
Write Down Your Responses