हेल्थ क्लब र ‘हेल्थ’

विशेष गरी युवायुवतीहरुमा हिजोआज हेल्थ क्लव जाने लहड चलेको छ । आफ्नो फुर्सदको समय मिलाएर हेल्थ क्लव जाने अनि आफ्नो जीउलाई चाहे अनुसारको चिटिक्क पारेर राम्रो देखिने उद्देश्यले युवायुवतीहरु हेल्थ क्लव जाने गरेका छन् । मोटो शरीर छ भने घटाउन अनि दुब्लो मान्छे अलिकति मोटाउन र ४० नाघेकाहरु प्रायः गरी स्वस्थ्य रहनका लगि हेल्थ क्लव जाने गर्छन् । एक्कासौं शताव्दीका युवा पीढिंहरुमा
व्यस्तता निकै बढे अनुरुप शारीरिक श्रम गर्ने बानी घट्दै गएकाले यस्ता हेल्थ क्लवहरुको सहायता लिनु परेको हो ।
पहिले–पहिलेका मानिसहरु सानै उमेरदेखि नै श्रमपर्ने काम गर्थे । सानै उमेरका बालबालिकाहरु पधेँराबाट पानी ओर्साने गर्थे । डोकोमा मल बोकेर बारीमा ओर्साथे । छोराछोरी धेरै हुने भएका कारण आमा–बाबुले पनि आफ्ना छोराछोरीको त्यति धेरै हेरचाह गर्न नभ्याउने अवस्था हुन्थ्यो । धुलोमुलोमा खेल्दाखेल्दै बच्चाहरु यत्तिकै हुर्कन्थे । तर, अहिले जमाना बदलिएको छ । 
छोरा होस् या छोरी एउटा सन्तान । नभए बढीमा दुईवटा सन्तान । शहरका आमाबाबु आफना छोराछोरीको हेल्थ नविग्रियोस् भनी सक्दो लागि पर्छन् । कतिपयले त डाक्टरकै सल्लाह बमोजिम आफ्ना छोराछोरीलाई भिटामिन, क्याल्सियम र प्रोटिन किनेर खुवाउने गर्छन् । आफना छोराछोरीप्रति यति धेरै सजग रहनु निकै नै राम्रो हो तर छोराछोरीको उमेर र उनीहरुको व्यस्तता बढे सँगसँगै उनीहरुको खानपनिमा ध्यान दिनु जरुरी छ । दाल, भात, हरियो तरकारी, फलफूल, दूध, माछा, मासु मिलाएर ‘न्युट्रिसियस’ खाना दिनहुँ खाने हो भने बजारमा पाइने यस्ता थप प्रोटिन, भिटामिन र क्याल्सियमको क्याप्सुल किनेर खुवाउनुपर्ने आवश्यकता रहँदैन ।   
प्रसंग हो ,हेल्थ क्लवको, धेरै समय पछि मलाई पनि हेल्थ कलव जाने मौका मिल्यो । हेल्थक्लव पुग्दा अधिकांश प्लस टु र कक्षा १० मा पढ्ने विद्यार्थीहरु आफ्नो शरीर घटाउने उद्देश्य राखी आएका रहेछन् । मैले उनीहरुको उमेर सोधे, २५ वर्ष भन्दा माथिको उमेर समूहका कोही थिएनन् । तर, तौलको कुरा गर्ने हो भने सबैको ७० देखि ७५ किलो अनि उचाई ५ फिट देखि ६ फिटका । म त एकैछिन उनीहरुको शरीरको तौल सुनेर अचम्ममा परे अनि उनीहरुलाई नै सोधे, के कारणले मोटाएको ? खै के गरेर के गरेर ? उनीहरुको जवाफ थियो ।  उनीहरु मध्ये एकजनालाई आस्मा रोग रहेछ भने अर्कोलाई थाइराइड अनि अर्कोएकलाई युरिकयसिड । देख्दा अग्लो मोटो खाइलाग्दो  ज्यान देखिएपनि यति सानो उमेरमा रोगको शिकार हुनु परेको सुनेर निकै नरमाइलो लाग्यो ।
कुराकानीका क्रममा उनीहरुले भने–कलेज सुरु भएदेखि नै दुई, तीन वर्ष भयो,  विहानको भात खाएको छैन । अनि विहानको लन्चमा कसैले चाउचाउ खाने गरेको, कसैले वर्गर अनि कसैले पिंजा त कसैले मोमो अनि कसैले चाउमिन ।  भात नखाएपछि दुव्लाउनुपर्ने उनीहरुको भनाई थियो । तर, भातको साटो बाहिर खाने गरेको बर्गर, पिंजा नै उनीहरुको शरीर मोटाउने कारक तत्व बनेको छ भन्ने कुरामा उनीहरु अनभिज्ञ देखिन्थे । 
अमेरिकामा गरेको एक अनुसन्धानले के देखाएको छ भने त्यहाँका साधारण खाना खाने युवायुवती भन्दा खानाको साटो बर्गर, पिंजा लगायतका जंक फुड खाने युवायुवती बढी मोटाउने गरेका छन् । र, उनीहरुको पछि गएर स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । पश्चिमा मुलुकमा बाबु–आमा दुबै बढी व्यस्त हुने अनि घरमा खाना पकाएर खाने र खुवाउने समय नभएको हुँदा उनीहरुलाई प्रायजसो फास्टफुड या त भनौ जंकफुडमा भरपर्नुपर्ने बाध्यता बनेको छ । यद्यपी उनीहरु यस्ता खानेकुरा खाएपनि पूरै यसमा भने भर पदैनन् । 
शरीरलाई चाहिने आवश्यक तत्वहरुको अभाव उनीहरुले हुन दिदैंनन् । तर, हाम्रो देशमा भने विरामी नपरीकन डाक्टरकहाँ नजाने परम्पराले गर्दा शरीरलाई कुन–कुरा बढी भइरहेको छ अनि कुन कुराको कमी थाहा नै हुँदैन । अनि, हजारौ रुपैयाँ खर्चेर हेल्थ क्लव पठाउने शहरका बाबुआमा पनि बाहिर रेष्टुराँमा महँगो रुपैयाँ तिरेर खाने गरेको चिकेन मोमो, बर्गर, चाउमिन, पिज्जा लगायतका खाना नै स्वस्थकर हुन्छन् भन्ने ठान्छन् ।  अनि, घरको खाना खुवाउन आफ्ना छोराछोरीलाइ कर समेत गर्दैनन् । लाखौं रुपैयाँ पढाई अनि हजारौं रुपैयाँ हेल्थ क्लवमा खर्चिन तयार रहने अभिभावकले पनि यो बुझनु आवश्यक छ की यस्ता जंक फुड नै रोगको कारक तत्व बन्न सक्छ । 
मानिस बाचुन्जेल स्वस्थ रहन चाहन्छ । शरीरमा कुनै रोग–व्याध नलागोस् भन्ने उसको चाहाना हुन्छ । त्यसैले उसले सकेसम्म आफ्नो शरीर तन्दुरुस्त र फुर्तिलो बनाउन सक्दो प्रयास गर्छ । कसैले बिहान उठेर नियमित व्यायाम गर्छन् भने कसैले योगा गर्छन् अनि कोही विहान या साँझमा वाक गर्छन् ।   स्वास्थ्य विज्ञान अनुसार, समयमा खाना,  नियमित व्यायाम, कसरत र सकारात्मक सोंच राख्ने  मानिस स्वस्थ रहन्छ र मनलाई सधैभरी प्रफुल्ल या त भनौ खुसी राख्न सक्ने मानिस पनि स्वस्थ रहन्छ । तर, कुरा यहिनेर गएर अड्किन्छ कसरी मनलाई खुशी या प्रफुल्लित पार्ने ? एउटा प्रचलित उखान पनि छ नि–‘मरेपछि मात्र मान्छेको चिन्ता दूर हुन्छ । हैन भने केही न केही टेन्सन ।’ तर, यही टेन्सनलाई आफूबाट टाढा राख्न सक्नु नै मानिसको खुवी हो र टेन्सन नलिने मानिस नै सबैभन्दा सुखी र स्वस्थ हुन्छ ।   
डाक्टरहरुका अनुसार, स्वस्थ रहनकालागि मानिसले प्रत्येक दिन ८ देखि १० घण्टा सुत्नुपर्छ । चिन्ता लिनु हुँदैन । मनलाई खुशी राख्न सक्यो भने तन्दुरुस्त रहन मद्दत पुर्याउँछ । यसैगरी बढी हाँस्ने मानिसलाई पनि रोग नलाग्ने विज्ञहरु बताउने गर्छन् । प्रशस्त पानी पिउने गर्नाले, शुद्ध तरकारी र फलफूल बढी मात्रामा खाने गर्नाले पनि स्वस्थ रहन मद्दत पुग्दछ । 
यसैगरी आफूले आफूलाई माया गर्न सक्नु पर्छ । आफूले गरेका राम्रा कामहरुलाई सम्झेर मनलाई खुसी पार्न सक्दा मनमा सन्तुष्टी हुन्छ ।  आफूलाई खुसी र सन्तुष्टी राख्न सक्नु नै स्वस्थ रहनु हो । यति हुँदाहुँदै पनि मानिसले विभिन्न कारणवश यी सब कुरालाई पछ्याउन सकिरहेका हुँदैनन् । जसका कारण शरीरमा विभिन्न रोगले आक्रमण गर्ने गर्छ । फेरि, आफ्ना छोराछोरीको स्वास्थ्यप्रति चिन्तित भएर हेल्थ क्लवका लागि हजारौं रुपैयाँ खर्चिन तयार हुने बाबु–आमाले, छोराछोरीले खाने गरेको खाना कत्तिको स्वास्थ्यवद्र्धक छ भन्ने कुरामा ध्यान दिनु निकै जरुरी छ । 
यदी छोराछोरीको स्वास्थ्य विग्रन नदिने हो भने बाबु–आमाले आफ्ना छोराछोरीलाई बाहिरको जंक फूुमा भर पर्नु दिनु हुँदैन । साँझ विहान साधारण खाना अनि दिनहँु व्यायाम गर्ने गर्नाले नै शरीर स्वस्थ्य र तन्दुरुस्त रहन सक्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.