डलर मूल्य ९८ रुपैयाँ

काठमाडौ, श्रावण १७ - अमेरिकी डलरको मूल्य एकै दिनमा १ रुपैयाँ ४ पैसाले बढेर ९८ रुपैयाँ नजिक पुगेको छ । बुधबार वाणिज्य बैंकले डलरको कारोबार औसत ९७ रुपैयाँ ७३ पैसामा गरेका छन् । राष्ट्र बैंकले यही मूल्यलाई बिहीबारको आधार दर तोकेको छ ।
पछिल्लो मूल्यसँगै नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो । भारतीय
बजारमा डलर बढ्न थालेपछि त्यसको असर यहाँ पनि देखिएको हो । बुधबार भारतमा डलर मूल्य करिब ६१ रुपैयाँ पुगेको छ । आगामी दिनमा यो माथि जाने संकेत देखिएको छ । भारत र नेपालबीचको मुद्रामा स्थिर विनियम दर तोकिएको छ । यसले दुवै बजारमा
एकै पटक विदेशी मुद्राको मूल्य तलमाथि हुन्छ ।
मंगलबार भारतको रिजर्व बैंक अफ इन्डियाले मौदि्रक नीतिको पहिलो समीक्षा गर्दै बजारमा तरलता नबढाउने नीति सार्वजनिक गरेको थियो । अमेरिकी डलरको मूल्यमा स्थिरता नआएसम्म बजारमा तरलता नबढाउने नीति केन्द्रय बैंकले लिएको छ । यसको असर बुधबारको कारोबारमा देखिएको छ । विश्लेषक भारतीय बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्ड बनाउने दाबी गरिरहेका छन् । हालसम्म भारतमा डलरले ६१ रुपैयाँ १७ पैसासम्म छोएको छ । जुन नेपाली ९८ रुपैयाँ बराबर हो ।
भारतीय केन्द्रीय बैंकले आफ्नो मुद्रा प्रवाह घटाएपछि डलर कमजोर हुने छ । यस्तो गर्दा निर्यात व्यापारलाई असर परेर चालू खाता घाटा बढ्ने र आर्थिक वृद्धिदर अझ कम हुने
अवस्था छ ।
भारतीय बजारमा अमेरिकी डलरको मूल्यलाई स्थिर वा घटाउन चालिएको कदमले नेपालमा पनि असर पर्छ । भारतको तयारीले केही समयपछि डलरको मूल्य कम हुने देखिन्छ । नेपाल आफैंले भने डलरको मूल्य नियन्त्रण गर्न कुनै कदम चाल्न सक्दैन ।
डलरको मूल्य बढी हुँदा आयात व्यापारमा ठूलो असर पर्छ । आयात गरेर ल्याउने सामानको मूल्य बढ्ने र त्यसले मूल्य वृद्धिलाई बढाउने गर्छ । तयारी सामानका साथै कच्चा पदार्थको मूल्य पनि डलरको भाउसँगै बढ्छ । यसले उद्योगको लागत थपिन्छ र उपभोक्तालाई महँगीको मार पर्छ ।
सबैभन्दा बढी रकम खर्चेर
आयात गरिने पेट्रोलियम पदार्थको मूल्य पनि डलरसँगै बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य कम भए पनि भारतबाट आयात हुने भएकाले नेपाललाई असर गर्छ । निर्यात उद्योगलाई भने बढ्दो डलरले फाइदा पुर्‍याउँछ । हस्तकला, गार्मेन्ट, पस्मिना, चियाकफीलगायत उद्योगले डलर बढेको समय धेरै नाफा गर्न सक्छन् । यस्ता उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता पनि बढ्छ ।
गत आर्थिक वर्षको अन्तिम त्रैमासिकदेखि बढ्न थालेको डलर मूल्यले चालू वर्ष मूल्य वृद्धिलाई उचाल्न सहयोग गर्ने देखिएको छ ।
तर भारतले आगामी ८ महिनाभित्र मूल्यवृद्धिलाई ५ प्रतिशत तल झार्ने लक्ष्य लिएको छ ।
भारतमा मूल्यवृद्धि नियन्त्रण भए त्यसले नेपाललाई पनि फाइदा
पुग्ने छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौदि्रक नीतिबाट मूल्य वृद्धिलाई ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । जसअनुसार बजार अनुगमन र प्रणाली चुस्त बनाउन अर्थ मन्त्रालयले योजना बनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.