पूर्वराजा ज्ञानेन्द्र शाह दश दिनपछि काठमाडौं फिर्ता
धनगढी, १७ साउन । सुदूरपश्चिमाञ्चलका बाढीपीडितलाई हिमानी कोषमार्फत राहत सामग्री वितरण गर्न १० दिनदेखि धनगढीमा रहनुभएका पूर्वा राज ज्ञानेन्द्र शाह बिहीबार काठमाडौं फर्कनु भएको छ । दश दिने सुदूरपश्चिमाञ्चलको बसाइका क्रममा दार्चुलाका बाढी पीडितलाई हिमानी कोषमार्फत गरिएको राहत वितरणमा उहाँ सरिक हुनुभएको थियो ।
यस्तै उहाँ कैलाली र कञ्चनपुरका बाढीपीडितका लागि हिमानी कोषले व्यवस्था गरेको राहत सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिँदा पनि उपस्थित हुनुहुन्थ्यो । निर्वाचन आचारसंहिता जारी भइसकेपछि भने कोष आफैँले बाढीपीडितलाई राहत वितरण नगरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको थियो ।
सुदूरपश्चिम बसाइका क्रममा उहाँले विभिन्न मन्दिरमा पूजाआजा गर्नुभएको थियो भने समर्थक, शुभेच्छुक, व्यापारी र बाढीपीडित जनतासँग भेटघाट गर्नुभएको थियो ।
पूर्व युवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी कोषले सुदूरपश्चिमका बाढीपीडितका लागि खाद्य र गैर खाद्य सामग्री, पोसाक, शैक्षिक सामग्री र दार्चुलाका बाढीपीडितका लागि नगद सहयोग उपलब्ध गराएको थियो ।
0 comments
Write Down Your Responses