नेपाल फुटबल टिम पाकिस्तान सँग भिड्न तयार हुदै

काठमाडौं — आठौं साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानको सुरुआत फरक ढंगले भयो। उद्घाटन खेलमा बंगलादेशलाई २–० ले हराएर आयोजक नेपाल एक कदम अघि बढ्दा पाकिस्तानको कथा फरक थियो । आफ्नै गल्तीमा चिरप्रतिद्वन्द्वी भारतलाई १–० को नतिजा सुम्पँदै पाकिस्तान तत्काललाई केही पछि
परेको छ।
दशरथ रंगशालामा मंगलबार साँझ हुने आफ्नो दोस्रो खेलमा नेपाल र पाकिस्तान एकअर्काविरुद्ध खेल्नेछ । स्वाभाविक छ, यो अवस्थामा नेपाल पाकिस्तानलाई हराएर सेमिफाइनलको ढोका खोल्न चाहन्छ । अर्कोतर्फ च्याम्पिनसिपमा यात्रा जीवित राख्न पाकिस्तानले हरसम्भव जितको प्रयास गर्ने निश्चित छ । नेपालसँग हारे पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले नेपालविरुद्ध पाकिस्तानले सबै शक्ति र उपाय लगाउने छ ।
पाकिस्तान अहिले घाइते बाघको अवस्थामा छ । भारतसँग कम्तीमा बराबरी हुनसक्ने खेल पाकिस्तानले आत्मघाती गोलका कारण गुमायो । नेपाललाई हराउन सके पाकिस्तानले पीडामा थोरै मलमको काम गर्नेछ । धेरैको अनुमान छ, भारतविरुद्ध पहिलो हाफको प्रदर्शन पाकिस्तानले दोहो¥याए नेपाल मुस्किलमा पर्न सक्छ ।
नेपालले साफ च्याम्पियनसिप इतिहासमा दोस्रोपल्ट सुरुआती खेल जितेर मनोबल उच्च पारेपनि पाकिस्तानलाई कमजोर आँकेको छैन । गत माघमा दशरथ रंगशालामा सम्पन्न दुई देशबीचको दुीई मैत्रीपूर्ण खेलमा पाकिस्तानले सतप्रतिसत नतिजा निकालेको थियो । तथापि समग्र १३ भेटमा नेपाल ५ र पाकिस्तान ४ खेलमा विजयी भएका छन् । ४ खेल बराबरीमा टुंगिएको छ ।
नतिजा विपक्षमा भए पनि साफ च्याम्पियनसिपको पहिलो खेलको प्रदर्शनबाट पाकिस्तानी प्रशिक्षक सजाद अनवर दुःखी छैनन् । उनी उत्साहित छन् । खेलपछि उनले भनेका थिए, 'कमजोर प्रदर्शनले होइन । आफ्नै असमझदारीका कारण हारेका हौं ।' दुई साताअघि मैत्रीपूर्ण खेलमा अफगानिस्तानसँग ३–० को हारबाट फर्किएर भारतलाई कडा टक्कर दिँदा अनवर उत्साहित हुनु जायज थियो ।
अनवरको भनाइ मान्ने हो भने मंगलबार पाकिस्तानभन्दा नेपाल दबाबमा हुनेछ । 'नेपाल बलियो टोली हो । तर मैले सुरुदेखि भन्दै आएको छु दबाब हामीमा होइन, घरेलु टोलीमा हुनेछ,' उनले भने, 'भारतविरुद्धको लय कायम राख्न सके नतिजा आफ्नो पक्षमा पार्न सक्छौं । पहिलो खेल जितेर नेपालको मनोबल पक्कै उच्च छ । हामीसँग हारे पनि मनोबल कमजोर छैन ।'
नेपाललाई भने प्रतियोगिताको इतिहासमै सेमिफाइनल पुग्ने सहज मौका छ । अघिल्लो सात संस्करणमध्ये दुईपटक मात्र सेमिफाइनल पुग्दा नेपालले निकै संघर्ष गर्नुपरेको थियो । पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनलयात्रा व्यवहारिक रुपमा पक्का हुनेछ । पाकिस्तानविरुद्ध उत्रनुअघि भारत र बंगलादेशबीचको नतिजा आइसक्नेछ । मंगलबार भारत र नेपालले आ–आफ्ना खेल जिते दुवै टोली समूह चरणका एक खेलअघि नै सेमिफाइनल पुग्नेछन् ।
नेपाली टोलीका कप्तान सागर थापा पाकिस्तानसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्छन् । 'दुवै जितका लागि खेल्छन् । जसले गर्दा खेल प्रतिस्पर्धात्मक हुनेछ,' उनले भने, 'पाकिस्तान बलियो छ । भारतसँग टोलीको प्रदर्शन उच्च थियो ।' सागरको नजरमा राइट विङ्गर मोहम्मद अदिल सबैभन्दा खतरनाक खेलाडी हुन् । मोहम्मद रियाज, कलिम कुल्ला, हसन बसिर, सद्दाम हुसेन पनि प्रभावशाली छन् ।
नेपाली प्रशिक्षक ज्याक स्टेफानोस्कीले सबै प्रतिद्वन्द्वीको सम्मान गर्ने जनाउँदै हरेक खेल जित्दै अघिल्लो खेलको रणनीति बनाउने बताएका थिए । स्टेफानोस्कीले पूरा टोलीका साथ पाकिस्तान र भारतबीचको प्रतिस्पर्धा रंगशाला पुगेर हेरेका थिए । चोटग्रस्त जगजित श्रेष्ठ बाहेक पहिलो खेलकै सेट पाकिस्तानविरुद्ध उत्रने सम्भावना छ । सागरले भने, 'जगजित ठीक भएनन् भने प्रकाश (बुढाथोकी) खेल्न सक्छन् । अन्यथा पहिलो खेलकै सेट उत्रनेछ ।'
उता, भारत र बंगलादेशबीच पनि नेपाल र पाकिस्तानको जस्तै अन्तर छ । हल्चोकमा भारतलाई नतिजा सुम्पनु भनेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनु हो । त्यसैले टोलीले भारतसँगको खेललाई गम्भीरतापूर्वक लिनेछ र जितका लागि हरसम्भव प्रयास गर्नेछ । बंगलादेशका डच प्रशिक्षक लोडेविज्क डी क्राएफले सेमिफाइनलको आशा छोडेका छैनन् । उनले भने, 'क्षमताअनुसारको प्रदर्शन गर्ने हो भने दक्षिण एसियाका जो कोहीलाई हराउन सक्छौं । हामी बाँकी दुई खेल जितेर अघि बढ्न चाहन्छौं ।' उनले त्यस्तो दाबी गरे पनि बंगलादेशविरुद्ध भारत सधैं बलियो रहँदै आएको छ । अहिलेसम्म २६ खेलमा भारतले १५ खेल जित्दा बंगलादेशले २ जितमा चित्त बुझाउनुपरेको छ । बाँकी खेल बराबरी टुंगिएको थियो । पाकिस्तानजत्तिकै बंगलादेशलाई बलियो प्रतिद्वन्द्वी मान्ने भारतका अर्का डच प्रशिक्षक वि कोइभरमेन्सले भनेका छन्, 'पाँचमध्ये पाकिस्तानविरुद्ध फाइनल जित्यो । अब बंगलादेशविरुद्ध फाइनल खेल्नुछ । उपाधि रक्षा हाम्रो एकमात्र लक्ष्य हो ।'
सम्भावित नेपाली टोली
किरण चेम्जोङ (गोलकिपर), सागर थापा (कप्तान), सन्दीप राई, विराज महर्जन, रविन श्रेष्ठ, राजु तामाङ, रोहित चन्द, जगजित श्रेष्ठ÷प्रकाश बुढाथोकी, भोला सिलवाल, भरत खवास, अनिल गुरुङ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.