अध्यागमन र वैदेशिक रोजगार विभागको काम सहज बन्दै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक अनियमितताको आशङ्कामा अध्यागमन विभाग
र वैदेशिक रोजगार विभागका कर्मचारीलाई कारवाही थाले लगत्तै अवरुद्ध भएको ती निकायका काम नियमित रुपमा सञ्चालन हुन थालेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका कर्मचारीले कर्मचारी अभाव, कागजात नपुगेको जस्ता विभिन्न कारण देखाउँदै वैदेशिक रोजगारीका लागि हिँडेका कामदारलाई फर्काएपछि दुबै निकाय आलोचित बनेको थियो।
अध्यागमन विभागबाट गएको शनिबारसम्म विदेश जान चाहने केहीलाई फर्काइएको थियो। आइतबारदेखि नियमितरुपमा कामदार विदेश पठाउन थालिएको विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागका प्रवक्ता दिवस आचार्यले शनिबारसम्म केही समस्या देखिएको भए पनि आइतबारदेखि कामदार सहजरुपमा पठाउन सुरु गरिएको बताए।
 उनका अनुसार पेसा र कम्पनीको नाम नखुलेका कारण बीचमै १५० जना जति कामदार स्वदेश फर्केर आएका थिए।
“रोजगारीमा जाने कामदारका लागि अहिले पूर्ण सुविधा दिएका छौं, सुरुमा एकदुई दिन समस्या भएको थियो। अहिले विभागमा आवश्यक सबै कर्मचारीको व्यवस्था मन्त्रालयले गरिसकेको छ,” प्रवक्ता आचार्यले भने।
 विभागमा स्वीकृत दरवन्दी ९३ जना रहेकामा हाल ८० भन्दा बढी कर्मचारी रहेको उनले बताए।
 विभागमा बढी चाप हुने अन्तिम स्वीकृति शाखा, व्यक्तिगत श्रम स्वीकृति शाखा, व्यक्तिगत श्रम स्वीकृति शाखामा पहिलाकै सरह कर्मचारीको व्यवस्था गरिएको छ।
सेवाग्राहीलाई दुःख नदिन र सेवालाई चुस्त दुरुस्त बनाउन अख्तियारले केही दिनअघि सम्बन्धित मन्त्रालय र मातहतका विभागलाई पर्याप्त कर्मचारीको व्यवस्था गर्न निर्देशन दिएको थियो।
दिनहुँ अध्यागमनबाट वैदेशिक रोजगारीमा जाने कामदार बिनाकारण फर्काइएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनको घोषणा गरेको थियो। आफूहरुको मागप्रति सरकार सकारात्मक रहेको र वार्ताबाटै समस्याको समाधान खोज्ने भन्दै संघले आजैदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
संघका सदस्य मुक्तिनाथ अधिकारीले बिनाकारण अध्यागमनबाट फर्काइएका कामदारको टिकट र बसेको खर्चको क्षतिपूर्ति सरकारले बेहोर्नुपर्ने मागप्रति सकारात्मक जवाफ पाएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए।
 वैदेशिक रोजगार विभागले काममा कुनै अवरोध नभएको जनाए पनि हिजो मात्रै ११ जना कतारमा रोजगारीका लागि हिँडेका कामदार फर्काइएको र आज विभागका महानिर्देशकलाई जानकारी गराइएको सदस्य अधिकारीले जानकारी दिए।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २९ लाख १९ हजारले विभागबाट श्रम स्वीकृति लिएका छन्। यो विसं २०५०/५१ देखि २०७० असार मसान्तसम्मको विवरण हो।
गत आर्थिक वर्षमात्रै ४ लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीका लागि गएका छन्। यसमध्ये चार लाख २७ हाजार ८३० पुरुष र २७ हजार ७१३ महिला रहेका छन्।
मुख्य गन्तव्य मुलुकहरुमध्ये मलेसियामा एक लाख ५६ हजार, कतारमा ९१ हजार, साउदी अरबमा ८६ हजार, युएइमा ५२ हजार र कुवेतमा १४ हजार नेपाली कामदार गएका छन्। यसलाई आधार मानेर हेर्दा दैनिक एक हजार ७ सयजति कामदारहरु वैदेशिक रोजगारीका लागि जाने देखिन्छ।
विभागको अघिल्लो आर्थिक वर्षको विवरणअनुसार वैदेशिक रोजगारीबाट वार्षिक रु चार खर्ब ३५ अर्ब विप्रेषण नेपाल भित्रिएको थियो। रासस -

,

0 comments

Write Down Your Responses

Powered by Blogger.