अबैध तरिकाले खाडी जाने महिलाको संख्या बढ्यो

गत एक वर्षको अवधिमा मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लाबाट भारत र खाडी मुलुक गएकाहरुका आफन्तबाट यहाँस्थिति माइती नेपालमा खोजतलासका लागि दिइएका ४ सय ४० निवेदनले पनि मानव बेचबिखन थप जटिल बन्दै गएको देखाउँछ ।
सो अवधिमा माइती नेपालले माइती इन्डियासँगको सहकार्यमा भारतबाट ४४ जना जोखिममा परेका नेपाली चेलीको उद्धार गरेपनि खाडी मुलुक पुर्याइएकको उद्धार भने हुन नसकेको सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइराला बताउनुहुन्छ ।
बेचिएका महिला तथा बालिकामध्ये ६० प्रतिशत खाडी मुलुक र बाँके भारतका विभिन्न सहरमा जोखिमपूर्ण जीवन बाच्न बाध्य रहेको जनाइएको छ । उहाँका अनुसार, सो अवधिमा १८ वर्षभन्दा कम उमेरका २ सय ४५ र सो उमेरभन्दा माथिका १ सय ९५ जना नेपाली चेली बाँके जिल्लाको नेपाल-भारत सीमा नाका हुँदै अवैधरुपमा भारत तथा खाडी मुलुकका विभिन्न सहरमा पुर्याइएका छन् ।
‘राज्य जिम्मेवार र संवेदनशील नभएसम्म माइती नेपालको एक्लो प्रयासले भारत र खाडी मुलुकमा बेचिएका तथा जोखिममा रहेका नेपाली चेलीको उद्धार गर्न कठिन छ,’ संयोजक कोइरालाको भनाइ छ ।
सो संस्थाले सार्वजनिक गरेको विवरणमा सन् २००२ देखि २०१३ सम्म भारत तथा खाडी मुलुकमा जोखिममा रहेका नेपाली चेलीको उद्धारका लागि दुई हजार ३० निवेदन परेका छन् । जसमध्ये अहिलेसम्म २ सय ६८ जनाको मात्र उद्धार गर्न सकिएको छ ।
विवरणमा गत १२ वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका दुई हजार ४ सय ३६ को उद्धार, बेचबिखनमा परेका दुई हजार ४ सय २८ को पारिवारिक पुनःमिलन, श्रम तथा यौनशोषणमा परेका १ सय ८ जनाको उद्धार र भारत प्रवेश गर्न लागेका एक हजार ५ सय ८५ जनालाई परामर्श दिइ घर फिर्ता पठाइएको उल्लेख छ । रासस
0 comments
Write Down Your Responses