खगेन्द्रसित आगो
कोलम्बियाली नागरिक एडवार्ड हर्नान्डेजको सानैदेखिको सपना थियो– गाउँमा एउटा फार्म चलाउनु, एउटी च्वाँक ठिटीलाई ‘गर्लफ्रेन्ड’ बनाउनु र जिप कुदाउनु । संसारकै होचो व्यक्तिको उपमा पाएपछि उनलाई आफ्नो सपना साकार होला कि जस्तो लागेको थियो । तर, नेपालका खगेन्द्र थापा मगरले सबै रेकर्ड तोडेर विश्वकै होचो व्यक्तिको ताज पहिरिएयता एडवार्ड निराश छन् ।
एडवार्डकी आमा नोवामी भन्छिन्, ‘ताज गुम्दाको उसको सन्ताप अझै हटिसकेको छैन ।’
१४ अक्टोबर २०१० मा खगेन्द्र १८ वर्षको भएपछि ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले एडवार्डको ताज खगेन्द्रलाई भिराइदिएको थियो ।
खगेन्द्रबारे टिप्पणी गर्दै एडवार्ड भन्छन्, ‘पहिलोपटक उसलाई देख्दा झनन्न रिस उठ्यो । बौलाहाजस्तै भएँ । ‘मुड’ एकाएक बिग्रियो । पछि, मेरी आमाले त्यसरी अर्काको आहारिस गर्नुहँदैन, अरूको खुसीमा रमाउन सिक्नुपर्छ भनेपछि अलिक शान्त भएँ ।’
फार्म चलाउने, ‘गर्लफ्रेन्ड’ बनाउने र जिप कुदाउने उनको सपना अब झन् कठिन भएको छ । खानपान, लत्ताकपडा, औषधोपचारलगायत सम्पूर्ण आवश्यक कुराका लागि २८ वर्षीय एडवार्डले परिवारमाथि निर्भर हुनुपरेको छ ।
गिनिज बुकले ताज पहिर्याइदिनुअघि एडवार्डलाई आफ्नो उचाइसँग औधी रिस उठ्थ्यो । बाटोमा हिँड्दा सबैले फर्कीफर्की हेर्ने गर्थे । उमेरले मस्तको जवान भए पनि होचो भएकाले केटाकेटीजस्तो देखिने उनलाई बाटोमा हिँड्दै गर्दा मानिसले केटाकेटीझैँ मायालु पाराले जुरुक्क उठाउँथे । यस्तो हर्कत एडवार्डलाई फिटिक्कै मन पर्दैनथ्यो ।
‘एडवार्डलाई कतिपयले खेलौनाजस्तो बनाएका थिए । जुरुक्क बोक्ने गर्थे । अनेक उट्पट्याङ कुरा सोध्ने गर्थे,’ एडवार्डलाई नजिकबाट चिनेका एक व्यक्तिले भने ।
सन् २०१० मा चीनका ही पिङपिङ नाम गरेका त्यतिवेलाका सबैभन्दा होचा व्यक्तिको निधन भएपछि भने एडवार्डलाई आफ्नो उचाइप्रति गौरव लाग्न थालेको थियो । गिनिज वल्र्ड रेकर्डका अधिकारीले एडवार्डको उचाइ मापन गरे र उनलाई सबैभन्दा होचा व्यक्तिको उपाधि थिए । त्यसपछि कुनै सुपरस्टारभन्दा कम तमकझमक भएन, उनको दैनिकी । टिभी, पत्रपत्रिका जताततै उनी छाउन थाले । कुनै कार्यक्रममा उपस्थित भइदिएबापत पैसा आउन थाल्यो । उनका लागि नि:शुल्क उपचारको बन्दोबस्त मिलाइयो । त्यतिवेलाका दिन सम्झिँदै एडवार्ड सुनाउँछन्, ‘यो सब देख्दा फार्म, गर्लफ्रेन्ड र जिपको मेरो सपना पूरा हुन्छजस्तो लाग्न थालेको थियो । ‘सोरुम’ पुगेर आफ्नो साइजको जिप हेरेको पनि थिएँ । खपिनसक्नु खुसी भएको थिएँ, त्यतिवेला ।’अहिले उनले कम्बोडियाको एउटा सपिङ मलको निम्ति ‘सोपिस’ बनिदिएर पैसा कमाउने गरेका छन् । ‘सपिङ मलमा गएर बस्नुपर्छ । संसारकै होचो मान्छे यहाँ छ रे भन्दै मानिस मलाई हेर्न आउँछन् । यति गरिदिएबापत एक दिनमा पाँचसय रुपैयाँजति पाउने गरेको छु ।’
0 comments
Write Down Your Responses