सिराहामा खपटेडाँडा उत्खननमा घरेलु सामान फेला

सिराहा, १२ वैशाख । सिराहाको गोविन्दपुर गाविस–८ खपटेडाँडा (डाँडाटोल) मा पुरातत्व विभागको टोलीले गरेको उत्खननमा करिब तीन हजार पाँच सय वर्षअघि प्रयोग गरिएका घरेलु सामानसहित अस्थिपञ्जरका टुक्रा भेटिएका छन् । पुरातत्व अधिकृत रामबहादुर कुँवरको नेतृत्वमा रहेको १० जनाको टोलीले गोविन्दपुर–८
खपटेडाँडाको चार ठाउँमा वैशाख १ गतेदेखि गरेको उत्खननमा माटोको घैँटासहित माटोका भाँडावर्तनका टुक्रा, धनुष तीरको अग्रभाग, ढुङ्गाका औजार, मानव तथा पशुका अस्थिपञ्जरको टुक्रा भेटिएको हो ।
उत्खनन टोली संयोजकसमेत रहनुभएका पुरातत्व अधिकृत कुँवरका अनुसार खपटेडाँडाको उत्खननमा भेटिएका सामान दुई हजारदेखि तीन हजार पाँच सय वर्षअघिका हुन् । खपटेडाँडाको चार ठाउँमा ट्रेञ्च बनाएर गरिएको उत्खनन वैशाख २० गतेसम्म जारी रहने कुँवरले उल्लेख गर्नुभयो । ।
उत्खनन टोली संयोजक कुँवरले उत्खननका क्रममा भेटिएका सामानको पर्याप्त जाँचपड्ताल गरेपछि मात्र यकिने गरेर कहिलेको हो भन्न सकिने उल्लेख गर्नुभयो । पुरातत्व विभागको सूचीकरणमा परेको खपटेडाँडाको २०५९ सालमा सम्भावित पुरातात्विक क्षेत्रको नक्साङ्कन गरिएको थियो ।
अन्वेषण गर्ने, पुरातात्विक क्षेत्रको नक्साङ्कन गर्ने, (हरेक १० सेमि गहिराईमा पुरातात्विक सामान खोज्ने), पुरातात्विक सामान भेटिएको ठाउँको कालक्रम छुट्याउने र उत्खनन गर्ने उद्देश्यले खपटेडाँडाको उत्खनन गरिएको पुरातत्व अधिकृत कुँवरले बताउनुभयो ।
खपटेडाँडा गण्डकी नदी पूर्वकै सबैभन्दा प्राचीन मानव बस्ती बसेको ठाउँ रहेको जेएस मुरारका बहुमुखी क्याम्पस लहानका उपप्राध्यापक हीरालाल कर्णले जानकारी दिनुभयो ।
उपप्राध्यापक कर्णका अनुसार खपटेडाँडा नजिकै दक्षिण पश्चिम भेगमा पर्ने गोविन्दपुर गाविसकै खेस्राहा गाउँमा आठौँ शताब्दीतिरका राजा लङ्केश्वरलाई मकवानपुरका राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले पराजित गरी गाउँ नजिकैको दह जीर्णोद्धार गरी आफ्ना जेठो दाजु माणिक सेनको नाममा नामकरण गरेका थिए ।
माणिक दह खपटेडाँडादेखि करिब पाँच सय मिटर दक्षिणमा पर्दछ । उक्त दह अहिले पनि माणिक दहको नामले चिनिन्छ । “खपटेडाँडा आठौँ शताब्दी पहिलेको मानव बस्ती रहेको ठाउँ भएको बेलायतका पुरातत्वविद् हेमिल्टनको पुस्तकमा उल्लेख छ”, उहाँले भन्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.