जीमः पहिले रहर अहिले जीवनशैली

श्रीशीशा राई धरान । तेह्र वर्ष अघि साथीहरुको लहलहैमा जीम गर्न थालेका धरानका पारस भुजेलको अहिलेको दैनिकी नै जीम भएको छ । पहिला रहरै रहरमा जीम गर्नुभएका उहाँका लागि जीम अहिले स्वास्थ्य र दैनिकीसँग जोडिएको छ । आफ्नो शरिर कसरी स्वस्थ राख्ने भन्ने नै उहाँको विहानदेखि बेलुकीसम्मको चासो
र चिन्ताको विषय हुनपुगेको छ । यसवर्षको मिस्टर पुर्वाञ्चल घोषित भईसक्नुभएका उहाँ भन्नुहुन्छ र्ः पहिला रहरले जीम गरियो, अहिले जीवनशैली नै बनेको छ ।’
नेपालगन्जमा गत महिना आयोजित प्रथम लुम्बिनी च्याम्पियनशीप अन्तरगत चौधौ राष्ट्रिय शारिरीक सुगठन प्रतियोगितामा मिस्टर नेपाल र त्यसलगत्तै धरानमा आयोजित प्रतियोगीतामा मिस्टर पूर्वाञ्चल उपाधी जितिसक्नुभएको छ पारसले । जेठमा पोखरामा हुने मिस्टर बुल्स, असारमा हुने धर्मश्री र साउनमा हङकङमा हुने एसिया गेममा भिड्न तयारी पनि गरिरहनुभएको छ । प्रतियोगीताको तयारी स्वरुप धरानको फिटनेश फ्याक्ट्रीमा नियमित जीम गरिरहनुभएका उहाँ दैनिक २० वटा अण्डा, १ किलो कुखुराको छातीको मासु, १ किलो स्याउ, १ लिटर दुध र आधा किलो अंगुरको आहारा लिनुहुन्छ । ‘जीम गर्न थालेपछि अहिलेसम्म विरामी भएको छैन, अब त जीम गर्नु मेरो जीवनशैली नै बनेको छ ।’ उहाँ भन्नुहुन्छ ।
पारसमात्र होइन, धरानमा विस्कुट उद्योग सञ्चालन गर्दै आउनु भएका डिकेन्द्र गिरीका लागि पनि जीम जीवनशैली नै बनिसकेको छ । आफ्नो वजन ९० केजी पुगेपछि चार बर्षअघि जीउ घटाउन भनेर जीम गर्न थाल्नुभएका उहाँ अहिले आफ्नो ‘फिजिकल स्ट्रेन्थ’ बढेको बताउनुहुन्छ । पहिला २० केजी समान उठाउन मुस्किल पर्ने उहाँलाई अहिले १ सय ३० केजी सहजै उठाउनुहुन्छ । ‘जीम गर्नु स्वास्थ्यका लागि सबैभन्दा लाभदायक रहेछ, जीम गर्न थालेपछि आफ्नो जीउको माया हुन्छ, जहाँ पायो त्यही, जे पायो त्यही खाइन्न । कुलतमा लाग्नबाट बचिन्छ ।’
बडिबिल्डरहरुको शहरको रुपमा चिनिँदै गएको धरानमा मिस्टर पूर्वाञ्चल, मिस्टर कोशी, मिस्टर धरान लगायतका प्रतियोगीता हुने गरेकाछन् जहाँ भुजेल र गिरी बाहेक पनि आकर्षक शरिर बनाउन जीम गर्ने युवाहरुको संख्या बाक्लो छ । यहाँ २ दर्जन साना जिम क्लब र केही आधुनिक उपकरण सहितका हल छन् । पुर्वका विराटनगर, पथरी, उर्लाबारी, इलाम, इटहरी, दमक, विर्तामोड जस्ता सहरका युवाहरुका लागि पनि जीम जीवनशैली बन्दै गएको छ । 
केही बर्ष यता धरानमा पुर्वमै पहिलोपल्ट आधुनिक उपकरण सहितका जीमखाना खुलेपछि अझ युवाहरुमा यसको आकर्षण बढ्दै गएको छ । युवाहरुको जीम क्रेजको प्रभावले यहाँ विभिन्न पेशा, व्यवसायमा रहेका व्यक्तिहरु पनि जीमलाई आफ्नो जीवनशैली बनाईरहेका छन् । सुनसरी जिल्ला हुलाक कार्यालयका ‘पोष्टम्यान’ केदार पौडेलले पनि नियमित जीम गर्न थालेको ३ बर्ष पुगीसकेको छ । नियमित जीमले उहाँको स्वास्थ्यमा परिवर्तन आएको उहाँ बताउनुहुन्छ ।
आधुनिक जीमहल खुलेपछि युवाहरु जस्तै युवतीहरु पनि जीमतर्फ आकर्षित भएकाछन् । धरान २ मा ४ बर्ष अघि २३ लाख रुपैयाको लगानीमा खुलेको फिट्नेश फ्याक्ट्री र ६ महिनाअघि धरान ९मा ४५ लाख रुपैयाको लगानीमा खुलेको यसैको शाखामा ३० भन्दाबढि युवतीहरु नियमित जीमका लागि आउने गरेको सञ्चालक चन्दन श्रेष्ठ बताउनुहुन्छ । युवाहरुको संख्या भने सयभन्दा माथि छ । जीम हलहरुमा फागुनदेखि मंसीरसम्म बढि भीड लाग्ने गरेको छ । बिशेष गरी १५ देखि ३० बर्ष उमेर सम्मका युवाहरुको बाहुल्यता हुने गरेको छ । 
सञ्चालक श्रेष्ठका अनुसार अधिकांश युवायुवती प्रतियोगीतामा भिड्न भन्दा पनि स्वास्थ्य राम्रो बनाउने उद्धेश्यले जीम गर्ने गरेकाछन् । प्रतियोगीतामा भिड्न भनेर जीम गर्ने थोरै छन् । करिब ९० प्रतिशत युवाहरु त सलमान खान, अमिर खान, आर्नोल्ड स्वेर्जनेगर जस्तो शरिर बनाउने मनसाय लिएर आउने गरेको श्रेष्ठ बताउनुहुन्छ । 
सहि तरिकाले नियमित गरिएको जीमले शरिरका जोर्नीहरु बलियो बनाउँछ । शरिर आकर्षक र  उमेर कम देखिन्छ । जीम गर्नेले सन्तुलित भोजन खानु पर्ने, गुलियो र मद्यपान, धुम्रपानबाट टाढा रहनु पर्ने भएकाले विभिन्न रोगको डर हुदैन । ‘युवाहरुको लागि मात्र होइन बच्चादेखि बृद्धसम्मको जीवनशैली बनाउन सके जीमले सबैलाई फाईदा हुन्छ ।’ श्रेष्ठ भन्नुहुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.