राष्ट्रपतिले चुनाब नचाहेको राप्रपा नेता थापाको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चारदलका नेताहरुलेजस्तै राष्ट्रपति डा. रामवरण यादवले समेत चुनाव नचाहेको आरोप लगाउनुभएको छ । विहीबार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष थापाले राष्ट्रपतिमाथि यस्तो आशंका व्यक्त गर्नुभएको हो । उहाँले चार दलहरु असफल भैसकेका भन्दै चारदलभित्रैबाट प्रधानमन्त्री बनाइए आगामी बैसाखमा चुनाव हुन नसक्ने र देश दुर्घटनातर्फ जाने बताउनुभयो ।
एमाओवादीको जस्तै चुनाव नगराउने नियत राष्ट्रपतिको समेत रहेको थापाको आरोप छ । सरकार गठनका लागि राष्ट्रपतिले चालेको कदमको समेत थापाले आलोचना गर्नुभयो । राप्रपा अध्यक्ष थापाले चुनावका लागि बहालवाला वा पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन हुनुपर्ने माग समेत गर्नुभएको छ । साथै राष्ट्रपतिले चार दललाईमात्रै छलफलमा बोलाएर आफूहरुलाई बाइपास गरेको भन्दै थापाले आक्रोश व्यक्त गर्नुभयो ।
आगामी पुस २ गते राप्रपा नेपालले आयोजना गर्न लागेको रथयात्राबारे जानकारी दिन सो पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । काठमाडौंको पशुपतिनाथ, पोखराको विन्ध्यवासिनी, कपिलवस्तुको र लुम्बिनीमा आयोजना गर्न लागिएको रथयात्राका लागि राप्रपा नेपालको निम्तोमा दिल्लीबाट काली बाबा बिहीबारै काठमाडौं आइपुगेका छन् । नेपाली मूलका काली बाबालाई नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र पुन:स्थापनाको वकालत गर्ने व्यक्तिका रुपमा लिइन्छ । तर, राप्रपा नेपालले यो रथयात्रा राजनीतिक उद्देश्यले नभई धार्मिक सद्भावका लागि आयोजना गर्न लागेको राप्रपा नेपालका अध्यक्ष थापाको दाबी छ ।
0 comments
Write Down Your Responses