गुप्ताको नेतृत्वमो नयाँ शक्तिको तयारी

काठमाडौ, वैशाख १३ - काठमाडौं- मधेसमा नयाँ राजनीतिक शक्ति गठन प्रक्रिया तीव्र बनेको विषयलाई मुलुकको सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको छ । एक समय मधेसी जनअधिकार फोरममा रहेका प्रभावशाली नेताहरू, सशस्त्र गतिविधि गरिरहेका कतिपय समूह र नेपाली कांग्रेसका एक प्रभावशाली नेताबीच नयाँ शक्ति निर्माण गर्ने प्रक्रियाले तीव्रता पाएपछि सुरक्षा निकायले पनि चासो दिएको हो ।

उच्च सुरक्षास्रोतका अनुसार भ्रष्टाचारको सजाय भुक्तान गरेर गत चैत पहिलो साता जेलमुक्त जयप्रकाशप्रसाद गुप्ताले नयाँ शक्ति निर्माणको अगुवाइ गरिरहेका छन् । जेलमुक्त भएसँगै तराई मधेस राष्ट्रिय अभियान चलाइरहेका गुप्ता १० भन्दा बढी जिल्लामा पुगिसकेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट गत भदौमा राजीनामा दिएका पूर्वमन्त्री सर्वदेव ओझा, अमर यादव, गणतान्त्रिकबाट अलग्गिएका आत्मराम साहसहितका केही पूर्वसभासद उनको अभियानमा लागिसकेका छन् ।

त्यसबाहेक गुप्ताले सशस्त्र संघर्ष गरिरहेका जयकृष्ण गोइतलगायतका समूहसँग समेत मोर्चाबन्दीको प्रयास गरेका छन् । साथै फोरमबाट अलग्गिएर राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका अध्यक्ष शरतसिंह भण्डासँग समेत उनको छलफल चलिरहेको छ । भ्रष्टाचारमै जेल सजाय भुक्तान गरिरहेका कांग्रेस नेता खुमबहादुर खडाले समेत उनको मोर्चामा सहभागी बन्ने आश्वासन दिएको सुरक्षास्रोतको दाबी छ । गत भदौमा जेल चलान भएका खडा आगामी कात्तिक १४ मा रिहा हुँदैछन् ।

'मोर्चाबन्दीको अवधारणा गुप्ता र खडा जेलमा छँदै बनेको हो,' सुरक्षास्रोत भन्छ । गुप्ताले पनि जेलमा छँदै खडासँग मोर्चाबन्दीबारे कुराकानी भएको स्वीकारेका छन् । 'म जेलमुक्त भएपछि त कुरा हुन सकेको छैन । तर जेलमा छँदै मैले नयाँ शक्ति निर्माणबारे आफ्नो अवधारणा सुनाएको थिएँ । उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । उहाँ जेलमुक्त भएपछि सहकार्य हुन्छ,' गुप्ताले भने, 'उहाँका खास मान्छे स्पष्ट रूपमा नखुले पनि मेरो जा अभियानमा उहाँका थुप्रै समर्थकले सघाइरहनुभएको छ ।'
    

     श्रोत: इकान्तिपुर

0 comments

Write Down Your Responses

Powered by Blogger.