किन असुरक्षित बन्दैछन् अल्पसंख्यक समुदायका नेपाली ?

७ जेठ, काठमाडौं । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद मिर्जा दिलसाद बेगको ०५५ साल असारमा काठमाडौंको सिफलमा गोली हानी हत्या भएदेखि लगातार मुस्लिम समुदायका नागरिकहरु नेपालमा असुरक्षित रहँदै आएका छन् । सोमबार राति सप्तरीको कल्याणपुरमा पूर्वसभासद सदरुल मियाको रहस्यमय हत्या हुँदासम्म नेपालले धेरैजना मुस्लिम समुदायका व्यक्तित्व गुमाइसकेको छ । आखिर किन एकपछि अर्को गर्दै यसरी  नेपाली नागरिकलाई यसरी तारो बनाइँदैछ ?

सदरुलको हत्याले जन्माएका प्रश्न

पूर्वसभासद सदरुलको हत्या लेनदेन वा  आर्थिक कारणबाट भएको हो कि राजनीतिक एवं साम्प्रदायिक उद्देश्यसँग सम्बन्धित छ भन्ने खुलिसकेको छैन । तर, यो विशुद्ध लेनदेन वा व्यक्तिगत रिसइवीसँग सम्बन्धित होइन भने यसका पछाडि अन्य केही कारणहरु हुन सक्छन्,


पहिलो, आगामी संविधानसभा चुनावमा सप्तरी ५ बाट फेरि पनि मियाको जीत सुनिश्चित हुने देखेर विपक्षी दलका कोही नेताले आफ्नो स्थान खाली बनाउन बाटो सफा पारेको हुन सक्छ । अघिल्लो चुनावमा १० हजार ६ सय ३ मत ल्याएका मियालाई पछ््याउने एमाले र माओवादकिो मत ६ हजारमात्रै थियो भने कांग्रेसको ४ हजार र फोरमको ३ हजारमात्रै मत खसेको थियो । तमलोपाले त मियाको क्षेत्रमा ८ सय ५४ मतमात्रै पाएको थियो । त्यसैले यो क्षेत्रमा मिया जीवित रहुञ्जेल अरुले चुनाव जित्ने स्थिति थिएन ।

दोस्रो, मिया एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आवद्ध थिए र आगामी चुनावमा एमाओवादीले साझा उमेद्वार उठाउने चर्चा चलिरहेको थियो । यो स्थितिमा मियामाथि आक्रमण गर्दा यसको घाटा सीधै एमाओवादीलाई पुग्न सक्छ भन्ने गणितीय बिहाबमा पनि यो काम गरिएको हुन सक्छ ।

तेस्रो, अल्पसंख्यक मुस्लिम समुदायको नेतामाथि आक्रमण गरेर नेपालको मुस्लिम समुदायलाई चिढ्याउने, साम्प्रदायिक सद्भाव बिथोल्ने र शान्ति सुरक्षामा खलल पुर्याएर चुनावलाई बिथोल्ने योजनामा पनि यस्तो घटना गराइएको हुन सक्छ । मुस्लिम समुदायबाट राष्ट्रिय राजनीतिमा अगाडि बढेको देखी नसहने विदेशी तत्वहरुको आक्रमण पनि हुन सक्छ । पछिल्लो समयमा नेपालभित्रै विभिन्न धार्मिक अतिवाद पनि देखिन नथालेको होइन । विभिन्न चर्चमाथि बम बिस्फोटनका घटना पनि भएकै छन् । त्यसैले स्वदेशी आपराधिक गिरोहले पनि मुस्लिम नेतामाथि तारो बनाएको समेत हुनसक्छ ।

चौथो, एकजना सामान्य एवं निर्दलीय नेतामाथि आक्रमण गरेर अपराधीहरुले अन्य नेताहरु पनि असुरक्षित छन् भनेर सुपारी दिएको पनि हुन सक्छ । आगामी दिनमा तराई मधेसमा सुरक्षा सतर्कता बढाउनुका लागि यो घटना एउटा नकारात्मक पाठ बन्न पुगेको छ ।

यद्यपि राति नै हत्या गरिसक्दा पनि बिहान साढे ८ बजेमात्रै परिवारजनले सूचना पाएका कारण अपराधीहरुले त्यसबेलासम्म सीमा पार गरिसकेको अनुमान लगाउन सकिन्छ । यो अवस्थामा भारतीय पक्षको समेत सहयोग लिइएन भने अपराधी पत्ता लगाउन निकै दूरहपूर्ण हुने देखिन्छ, जस्तो विगतका घटनामा अपराधीहरु यसैगरी सजिलै उम्कने गरेका थिए ।

विगतको सिलसिला

मिर्जाको हत्याबाट शुरु भएको यो अपराधको सिलसिला त्यसपछि सञ्चार उद्यमी जमिम साहमा आएर ठोकियो । दिन दहाडै राजधानीमा शाहको हत्या गरियो । यी दुवै हत्यामा नेपाली नागरिकलाई पाकिस्तानी आइएसआइसँग जोडिएको र भारतीय आपराधिक समूहबाट हत्या गरिएको लगभग पक्कापक्की जस्तै छ । नेपाली मूलका मुस्लिम समुदायका अगुवालाई यसैगरी आइएसआई वा त्यस्तै कुनै आरोप लगाउने र हत्या गर्ने कार्यमा भारतीयहरुको संलग्नता रहने गरेको छ । काठमाडौंको केन्द्रीइ कारागारमा रहेका युनुस अन्सारीलाई त्यहीँभित्र पसेर भारतीय नागरिकले गोली हानी हत्या गर्ने असफल प्रयास गरेबाट यी हत्याकाण्डमा भारतीय अपराधीहरुको संलग्नता खुलेको हो ।

नेपाली नागरिकको क्रियाकलापबारे छानविन गर्ने काम छिमेकीको होइन । कुनै नागरिक दोषी भए देशभित्रै छानविन हुन्छ र अदालती कारवाही हुन्छ तर, नेपाली नागरिकलाई अनेकन लाञ्छना लगाउँदै गोली प्रहार गर्ने कार्यमा भारतीय संलग्नता देखिएको छ र यसको निशानामा सबैभन्दा बढी मुस्लिम समुदायका नेपालीहरु पर्दै आएका छन् ।

मिर्जा र जमिमको हत्यापछि जेलभित्रै पसेर भारतीय नागरिकले युनुस अन्सारीको हत्या गर्ने प्रयास गरे भने त्यसपछि दुईवर्ष अघिमात्रै नेपाल स्लामिक एशोसिएसनका युवा पुस्ताका नेता फैजान अहमदको समेत काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भयो । यसरी एकपछि अर्को मुस्लिम समुदायको नेपाली नागरिक गुमाउने सिलसिलामै सोमबार नेपालले सदरुलजस्ता राजनीतिज्ञ एवं सफल व्यवसायीलाई गुमाउनुपरेको छ ।

यसैगरी सकिँदैछन् नेता

नेपालको दक्षिणी सीमाक्षेत्रमा भारतबाट प्रवेश गर्ने आपराधिक गिरोहको शिकार त्यहाँका नेपालीहरु पर्दै आइरहेका छन् । विशेषगरी सिरहा र सप्तरीका जनताले यस्ता आपराधिक क्रियाकलापको शिकार बन्न बाध्य हुनुपरेको छ । धनुषा, सर्लाहीका साथै मिथिला र भोजपुरा क्षेत्रमा पनि यस्तो असुरक्षा व्याप्त छ । विगतमा माओवादीका रामवृक्ष यादव र एमालेका तत्कालीन सांसद हेमनारायणजस्ता राजनीतिज्ञहरु यसैगरी अज्ञात समूहबाट गोलीको शिकार बनेका छन् । त्यस्तै सिरहा ५ मा मारिएका राप्रपा नेता कृष्णचरण श्रेष्ठका हत्यारासमेत अहिलेसम्म पत्ता लागेका छैनन् ।

नेताहरुको सिलसिलेबार हत्या हुँदा पनि हत्याराहरुको पत्तो नलाग्नु र भारतीयहरुको संलग्नता देखिएर पनि केही गर्नु नसक्नु नेपालको लाचारी र बाध्यताजस्तै बनिरहेको छ ।

मधेसमा ठूला मान्छे मारिएको विषय गणनायोग्य भए पनि स्थानीय कार्यकर्ताहरुको हत्याको घटना भने हिसाबै लगाउन नसकिने अवस्थामा छ । केही हप्ता अघिमात्रै बाराको कलैयामा एमाओवादीका स्थानीय कार्यकर्ताको हत्या भएको छ र सो हत्यामा भारतीय नागरिकको संलग्नता देखिएको एमाओवादी नेताहरुले दाबी गर्दै आएका छन् ।

नेपालमा धार्मिक एकता छ

नेपालमा कुनै धर्मप्रति पनि कट्टरता छैन र अरुको धर्मप्रति असहिष्णुता छैन । हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई सम्मान र आत्मसाथ गर्ने र एकापसमा मिलेर बस्ने नेपालीहरुमा संस्कार छ । तराईमा मात्रै होइन, लम्जुङ, गोरखा, अर्खाखाँचीजस्ता पहाडी जिल्लामा पनि मुस्लिम समुदायमा मानिसहरु हिन्दू धर्मावलम्बीसँग मिलेर बसेको पुस्तौं बितिसकेको छ । तर, मुस्लिम समुदायलाई विभेदपूर्ण व्यवहार गर्ने छिमेकको अतिवादको कोपभाजनका कारण नेपालका मुस्लिम  नेता एवं अगुवाहरु असुरक्षित बनिरहेका छन्  ।

श्रोत: अनलाइनखबर

0 comments

Write Down Your Responses

Powered by Blogger.