अमृत गुरुङ, नेपथ्य ब्यान्ड गायक

तीलचामल केशमा चुल्ठो बाँधेका 'नेपथ्य' का हिरो- अमृत गुरुङ। आफ्नै स्वभावमा रमाउने ब्यान्डका नायक अमृत भैंसेपाटीस्थित घरबाट पैदल यात्रा तय गर्दै कालिकास्थानको उकालो नापेर नेपालय छिरेका थिए। नेपालय अमृतको दोस्रो घर हो, जहाँ उनी अक्सर भेट्टिन्छन्। बूढो भइयो है ? हात मिलाउने क्रममा केशको
सप्को पनि मिलाउँदै उनले भने— ४६ वर्ष पुगियो, अब आफैं अनुमान गर्नुस न। एक बीसभन्दा बढीको सांगीतिक यात्रा तय गरिसकेका अमृत तथा उनले नेतृत्व गरेको ब्यान्ड नेपथ्य एउटा छुट्टै परिचयसँगै स्थापित छ। अमृत भावनात्मक छन्, तर पनि उनी प्रस्ट छन्। आफ्ना कुरा तर्कसहित अभिव्यक्त गर्ने अमृत मुलुकले समृद्धिको बाटो पक्रियोस, मुलुकमा राम्रो संस्कार निर्माण होस् र सबैले स्वतन्त्रपूर्वक बाँच्न पाउने आधार तयार हुनुका साथै शिक्षित सभ्य समाज बनोस् भन्ने कुरा दोहोर्‍याइरहन्छन्। '९० को दशकतिर प्रारम्भ भएको नेपथ्यसँग उनको यात्रालाई उनी रेल यात्राका रूपमा उल्लेख गर्छन्। अमृत भन्छन्- 'रेलबाट २३ जना झरे, अरू चढ्दै पनि छन्, म अहिलेसम्म यात्रामा छु, नेपथ्य रेल हो, यो यात्रामा चढ्ने ओर्लनेहरूको क्रम चलिरहेकै छ, कुनै मोडमा म पनि झर्छु।' स्टेज पर्फर्मेन्समा सधैं आक्रामक रूपमा प्रस्तुत हुने अमृत यतिबेला बेलायतको वेम्बले एरेनामा हुने कन्सर्टका लागि तयारी गरिरहेका छन्। जुन दिनसम्म आफ्नो सिर्जनात्मक कला र प्रस्तुति दमदार रहन्छ, त्यस दिनसम्म जनता आफ्नो साथमा हुन्छन् भन्ने कुरा उनले बुझेका छन्। नेपथ्यको वेम्बले यात्राका विषयमा साप्ताहिकका लागि विदुर खतिवडाले गुरुङसँग गरेको कुराकानी ः
नेपथ्यले बढी चर्चा कमाउनकै लागि वेम्बले एरेनामा कन्सर्ट गर्न लागेको हो ?
होइन्, वेम्बलेको मन्च भनेको एउटा गरिमामय स्थल हो। बेलायत आफैंमा यस्तो मुलुक हो, जहाँबाट विश्वविख्यात संगीत मण्डलीहरू उत्पादन भए। संगीतमय वातावरण भएको स्थल हो, वेम्बले। वेम्बलेमा प्रस्तुति दिनु संसारका सबै संगीतकर्मीको सपना हुन्छ। पाँच वर्षअघि वेम्बले पुग्दा मैले पनि त्यही सपना देखेको थिएँ।  
बेम्बलेमा प्रस्तुति दिने सपना कसरी बुन्नुभयो  ?
राम्रो संगीत, सकारात्मक उद्देश्यसहितको सपना र राम्रो इभेन्ट अर्गनाइजर भयो भने जो कोहीले वेम्बलेमा प्रस्तुति दिनसक्छन्। वेम्बले एरेनामा १२ हजार ५ सय दर्शक अटाउँछन्। म्युजिकमा २२ वर्षदेखि सक्रिय मैले वेम्बलेमा प्रस्तुति दिने सपना देख्नु स्वभाविक थियो ।
वेम्बले ऐरेना जस्तो पपुलर मन्च रोज्नुको कारण?
सांगीतिक टुरका क्रममा बेलायत जाने चाहना अहिलेको मात्र होइन्, धेरै अघिको कुरा हो यो तर त्यहाँका व्यवस्थापकले हाम्रो ब्यान्डलाई बोलाउने आँट देखाउनु भएन। उहाँहरूले मलाई मात्र बोलाउनुहुन्थ्यो, त्यसरी हामी नजाने। अहिले व्यवस्थापक र इभेन्ट म्यानेजमेन्ट कम्पनीको सहकार्यले वेम्बले एरेनामा कार्यक्रम गर्ने अवसर पाइएको छ। 
नेपाली गीत संगीतका लागि तपाईंले वेम्बलेमा प्रस्तुति दिनुले कतिको महत्व राख्ला ?
महत्व राख्छ नि, यत्तिको गरिमामय मन्चमा गएर कार्यक्रम गर्न सक्नु ठूलै कुरा हो। यद्यपि हामी जुन प्रस्तुति वालिङ, बिर्तामोड र वीरगन्ज दिन्छौं, त्यही प्रस्तुति नै वेम्बलेमा दिने हो। सबै मञ्चलाई एउटै रूपमा लिनुपर्छ। सबै स्थानका दर्शक हाम्रा लागि उत्तिकै प्रिय छन्। यद्यपि वेम्बलेको हल व्यवस्थित र विश्वका ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिएको स्थल हो जसको आफ्नै गरिमा छ, इतिहास छ।  वेम्बलेमा अधिकाशं दर्शक नेपाली हुनुहोला तर संगीतमा रमाउने विदेशीहरूको पनि उत्साहवर्द्धक उपस्थिति हुनेछ।
नेपाली संगीतका लागि वेम्बलेको प्रस्तुति कोसेढुंगा सावित हुन सक्ला ?
त्यो त मलाई थाहा छैन, कार्यक्रम सकिएपछि थाहा पाइने कुरा हो यो। मैले अहिलेसम्म यो कार्यक्रमलाई एउटा राम्रो बहानाका रूपमा लिएको छु। युरोपलगायत अन्य मुलुकका साथीभाइ जम्मा भएर सांगीतिक मनोरन्जन लिदै रमाइलो गर्ने। राम्रो प्रस्तुति भयो भने कोसेढुंगा सावित होला नि। 
तपाईं नेपालीहरूलाई नै गीत सुनाउन वेम्बलेमा प्रस्तुत हुन लाग्नुभएको हो कि विदेशीहरूलाई सुनाउन?
हाम्रो टिकट खरिद गरेर आउने दर्शक-श्रोताहरूका लागि प्रस्तुति दिने हो, ती बेलायती हुन् वा अफ्रिकन वा अमेरिकन नै किन नहुन्। संगीतमा भाषाले महत्व राख्दैन। संगीत-संगीत नै हो। फूल-फूलेपछि चरा वा भमरा मात्र आउँछन् भन्ने छ र ? नेपाललाई माया गर्ने विदेशीहरू पनि आउने हो, संगीतका पारखीहरू आउने हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.