युबती अप्रेशनको आशले बेडमा छटपटाउँदै छ

भारत सुपौल जिल्ला रतनपुरकी १७ वर्षीया मुनीकुमारी शर्मा कोसी अञ्चल अस्पतालको दोस्रो तलाको मेडिकल वार्डमा डाक्टर कुर्दैछिन् । पत्थरी भएर बिरामले च्यापेकी उनलाई डाक्टरले ‘अप्रेशन गरेर ठीक पारिदिने’ आश्वासन दिएका थिए ।
शनिबार पेट अत्यधिक दुखेपछि उनलाई कोसीमा भर्ना गरियो । डाक्टरले पित्तथैलीमा रहेको उनको
पत्थरीको अप्रेशन गर्ने मिति आइतबार तोकेका थिए । अप्रेशनका लागि ठिक्क परिन् ।
डाक्टर कुरिरहिन् । साँझसम्म पर्खिइन् । अहिले पनि प्रतिक्षा रोकिएको छैन ।
उनलाई नर्सले स्लाइन चढाइरहेका छन् । दुखाइ कम गर्ने औषधी दिइएको छ । बेला–बेला सिस्टरले हेरबिचार गर्छन् । दुखाई कम भने भएको छैन । बेला–बेला ‘आ्यया–आत्थो’ गर्छिन् ।
अनि ‘के भो’ भनेर सिस्टर पुग्छन् । औषधी खुवाउने समय सम्झाउँछन् । ब्लडप्रेसर जाँचेर फर्किन्छन् ।
बिरामले अत्यधिक च्यापेर होला त्यतिराम्रो बोल्न सक्दिनन् । आँखा गडेका छन् ।
सोमबार साढे १२ बजे प्रयोगात्मक अभ्यासमा खटिएकी एक स्टाफ नर्सले कस्तो छ भनेर सोध्दा मुनीले विस्तारै जवाफ दिइन्, ‘दुखिरहेकै छ ।’ तर अप्रेशन गर्ने आश्वासन दिने डाक्टरहरू ‘उपचार हड्ताल’मा छन् भन्ने अहिलेसम्म उनलाई थाहा छैन । न आफन्तलाई डाक्टर अप्रेशन गर्न आउँदैनन् भन्ने थाहा रहेछ ।
‘बिरामी साह्रै भइसक्यो, अप्रेशन गर्ने भन्नुहुन्थ्यो अझै आइपुग्नु भएन,’ रेखदेखमा खटिएका बाबु चिचाइ शर्मा भन्छन्, ‘औषधी किनेर ल्याइरहेको छु, खानपिन बन्दजस्तै छ ।’
चार महिनाअघि पेट दुखेपछि मुनीलाई कोसीमा ल्याइएको रहेछ । त्यतिबेला डाक्टरले औषधी खाँदा पत्थरी झर्ने भनेका रहेछन् । चार महिनासम्म चिचाइले छोरीलाई औषधी खुवाइरहे ।
पेट दुख्न छोडेन । झन्झन् साह्रै हुन थालेपछि आमा जहरीदेवी समेत भएर एक दिन लगाएर विराटनगरसम्म ल्याइपु¥याए । बेडमा लगेपछि डाक्टरले अप्रेशनै गर्नुपर्ने र आइतबार त्यसको बन्दोबस्त मिलाउन भन्दिए ।
डाक्टर नभएपछि मुनीको अप्रेशन रोकिएको छ । आउलान् भनेर बाटो कुरिरहेका चिचाइले अर्को अस्पताल रेफर गर्ने हो कि भन्ने सोच्न भ्याएकै छैनन् ।
‘तीन दिन गरेर औषधीमा तीन हजार लागिसक्यो,’ उनी भन्छन्, ‘डाक्टरको अत्तोपत्तो छैन ।’
कोसी अस्पतालमा आइतबारदेखि चिकित्सकले सामूहिक राजिनामा दिएर ‘उपचार हडताल’ सुरू गरेपछि मुनीको अप्रेशन गुज्रिरहेको हो । प्रसूति वार्ड, ओपिडि कक्ष सुनसान छन् । सुत्केरी भएर वार्ड सारिएका एक÷दुई, आकस्मिक कक्ष र बच्चा वार्डमा पाँच÷सात र आइसियुमा तीन बिरामी छन् ।
सयौंको प्रसूति गराउने आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने यो सरकारी अस्पतालले शनिबारदेखि सुत्केरी भर्ना लिन छोडेको छ । विराटनगर–२१ का बीरबल साहले सोमबार मध्यान्ह प्रसूति वार्डको गेटभित्र छोरी पु¥याएपछि थाहा पाए – उपचार बन्द छ । रिक्सामा ल्याइएकी रूपा प्रसूतिले च्यापेर रोइरहेकी थिइन् । ‘उपचार बन्द गर्ने यो कस्तो सरकारी अस्पताल हो ?,’ बीरबल झोंकिँदै भन्दैथिए । त्यहीबेला वरिपरि भेला भएकाहरूले अर्को अस्पताल लैजान सुझाए । रिक्सा फनक्क फर्काएर उनी हिँडे ।
प्रसूति अप्रेशन गरेकी सिरहा लक्ष्मीपुर–८ की काजमा प्रवीनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । उपचारमा लापरबाही गरेको आरोप लगाउँदै आफन्तले प्रसूति वार्डका प्रमुख डा. योगेन्द्र मिश्रालाई हातपात गरेका थिए ।
सोही विषयलाई लिएर ‘काम गर्ने वातावरण नभएको’ दाबी गर्दै उनीसहित ४२ जना डाक्टरले सामूहिक राजिनामा दिएर ‘उपचार हडताल’ सुरू गरेका हुन् । उनीहरूले मेडिकल सुपरीटेन्डेन्ट डा. उमाकान्त झालाई आइतबार बिहान राजिनामा बुझाएका थिए ।
डाक्टरलाई शान्ति सुरक्षा हुनुपर्ने, सरकारी अस्पतालमा उपचारमा मृत्यु हुँदा पीडितलाई डाक्टरले नभएर सरकारले नै क्षतिपूर्ति दिनुपर्ने र मिश्रालाई हातपात गर्नेउपर कारबाही हुनुपर्ने माग डाक्टरको छ । ‘हाम्रो माग पूरा हुनेवित्तिकै काममा फर्किन्छौं,’ आन्दोलनरत डाक्टर मुकुन्द दाहालले भने, ‘काम नगर्ने नियत हैन ।’
डाक्टरले उपचार बन्द गराएर राजिनामा दिएपछि आइतबार क्षेत्रीय प्रशासक शंकर अधिकारीले चासो राख्दै वार्ताको प्रयास गरेर डाक्टरलाई काममा फर्किन आग्रह गरेका थिए । तर उनीसँगको वार्ता विफल भएपछि डाक्टरले उपचार बन्दलाई अनिश्चितकालसम्म लम्ब्याउने चेतावनी दिएका थिए ।
मेडिकल सुपरीटेन्डेन्ट डा. झाले डाक्टरलाई काममा फर्किन बारम्बार आग्रह गरिरहेको बताए । ‘मैले उहाँहरूलाई फर्किनोस् काममा भनेर अनुरोध गरिरहेकै छु,’ उनले भने, ‘उहाँहरूले छलफल भइरहेको छ भनिरहनुभएको छ ।’
कानुनअनुसार अत्यावश्यक सेवामा हडताल गर्न पाइँदैन । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर कार्कीले डाक्टरका माग सम्बोधन गर्न तयार रहेको जनाइसकेकाले चाँडै कोसीमा उपचार सुरू हुने बताए । ‘डेढ घन्टा मैले छलफल गर्दा उहाँहरूले छिट्टै काममा फर्किन्छौं भन्नुभएको छ,’ उनले भने ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.