फुटबल साफ च्याम्पियनसिप आजदेखि
फुटबलको 'क्रेज' यति बाक्लो थियो, दशरथ रंगशालामा खेलप्रेमीहरूको संख्या थेगिसक्नु थिएन। हरेक दिन दिउँसो ३ बजे सुन्धारा, कुपन्डोल र टेकुतिरबाट रंगशाला आउनेको लर्को लाग्थ्यो, जुलुसजस्तै। अहिलेजस्तो हरेकका कोठाकोठामा टेलिभिजन थिएन। खेलप्रेमीहरू सबै रंगशाला नै धाउँथे। नेपालको झन्डा बोकेर आउनेहरू टिकट नपाएर फर्कने त कति हुन्थे कति।
काठमाडौंसँग त्यसबेलासम्म एउटै मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको अनुभव थियो। सन् १९८२ मा २४ देशले भाग लिएको एसियन युथ यु–२३ प्रतियोगिताको अन्तिम चरणपछि नेपालले भरेको दोस्रो ठूलो फुटबल मेला त्यही हो।
सोह्र वर्षपछि आठ सदस्यराष्ट्र घुमिवरी साफ च्याम्पियनसिप फेरि काठमाडौं फर्केको छ।
कोठाकोठामा टेलिभिजनले प्रवेश पाइसकेको यो घडीमा झट्ट हेर्दा रंगशालाबाहिर पहिलेजति दर्शक उत्साह नदेखिएला। राष्ट्रिय झन्डा बोकेर कुद्नेहरू कम होलान्। तर, क्रेज घटेको छैन। समयसँगै बदलिएको समाजमा समर्थन र उत्साह प्रकट गर्ने माध्यम पनि फेरिएको छ। अब सामाजिक सञ्जालहरूमा हेर्नुपर्छ, त्यहाँ देखिन्छ राष्ट्रिय फुटबल टोलीप्रतिको मोह र अपेक्षा।
फरक यत्ति छ, नेपाली फुटबलप्रेमीहरू इतिहास दोहोरिएको हेर्न चाहँदैनन्। 'पहिलो च्याम्पियनसिप काठमाडौंमा हुँदा भारतले जितेको थियो, यसपालि नेपालसामु जीतको चुनौती छ,' फुटबलविज्ञ सञ्जीव मिश्र भन्छन्।
उनको विचारमा, त्योबेला प्रशिक्षकले वसन्त गुरुङजस्ता उच्च फर्ममा रहेका फरवार्डलाई बेन्चमा सीमित गर्दा नेपाल दुर्भाग्यपूर्ण नतिजाको सिकार बन्नुपरेको थियो। 'यसपालि त्यस्तो कमजोरी नहोला। नेपाली टोलीसँग उपाधि जित्नसक्ने ल्याकत छ। उनीहरूलाई सही ढंगमा उतार्न प्लेयर बक्स सचेत हुनुपर्छ,' मिश्र आशा गर्छन्, 'यत्ति गरे इतिहास दोहोरिँदैन।'
काठमाडौंले औपचारिक रूपमा सुरु गरेको प्रतियोगिताको आठौं संस्करण शनिबारबाट दशरथ रंगशाला र हल्चोक मैदानमा १२ दिन चल्नेछ। पहिलो संस्करणमा ६ टोली सम्मिलित प्रतियोगितामा यसपालि आठ देश सहभागी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बिहीबार नागरिकसँगको वार्तामा स्विकारेका छन्, 'हामीले जनतालाई सधैं निराश पारेर पठाइरहेका छौं, अब राम्रो खेलेर पनि हार्यौंा भनेर हुँदैन, नतिजा दिन सक्नुपर्छ।'
फुटबलप्रेमीहरू यसपटक त्यही नतिजाको प्रतीक्षामा छन्।
सुरुवात
पाकिस्तानले दक्षिण एसियाली गोल्डकपका नाममा १९९३ मै प्रतियोगिता सुरु गरेको थियो। त्यतिखेर आयोजकसहित नेपाल, भारत र श्रीलंका गरी चार टोलीमात्र सहभागी हुँदा भारतले उपाधि जितेको थियो।
श्रीलंकाले दुई वर्षपछि सार्क ब्रिस्टल गोल्डकपका नाममा प्रतियोगितालाई निरन्तरता दियो। बंगलादेशले पनि सहभागिता जनाउँदा प्रतियोगितामा पाँच टोली भए। उपाधि श्रीलंकाले जित्यो।
१९९७ मा साफको स्थापनापछि नेपालले त्यसकै निरन्तरतास्वरुप प्रतियोगिताको तेस्रो संस्करण गर्योद। यो साफ र एसियाली फुटबल महासंघअन्तर्गतको पहिलो औपचारिक प्रतियोगिता थियो। नेपालबाट प्रतियोगिताका सहभागी संख्या ६ पुग्यो। माल्दिभ्सले पहिलोपटक सहभागिता जनायो। उपाधि भने फेरि भारतले नै जित्यो।
काठमाडौंबाट सुरु प्रतियोगिता १६ वर्षमा नेपाल फर्किंदा भारत र बंगलादेशले दुई/दुई तथा पाकिस्तानले एकपटक आयोजना गरेका छन्। २००८ को पाँचौं संस्करण भने श्रीलंका र माल्दिभ्सले संयुक्त आयोजना गरे। प्रतियोगिताको औपचारिक यात्राले सात संस्करण पूरा गरिसक्दा भारतले पाँचपटक उपाधि जितेको छ भने बंगलादेश र माल्दिभ्स एक/एक पटक च्याम्पियन बनेका छन्।
उद्देश्य
दक्षिण एसियाली देशलाई नियमित अन्तर्राष्ट्रिय खेलको अवसर दिने र त्यसमार्फत क्षेत्रीय फुटबलको स्तर उकास्ने उद्देश्य राखेर प्रतियोगिता सुरु गरिएको थियो। दक्षिण एसियामा फुटबल अत्यन्त लोकप्रिय भए पनि यो क्षेत्र अन्तर्राष्ट्रिय फुटबलमा निकै कमजोर भएकाले सँगसँगै माथि उठ्ने योजनाअनुरुप यस्तो प्रयास थालिएको एन्फा अध्यक्ष एवं साफका संस्थापक सदस्य गणेश थापा बताउँछन्।
हाम्रो उद्देश्य दक्षिण एसियाका टिमलाई नियमित एक्सपोजर दिनु थियो,' थापाले भने, 'नियमित खेल्ने मौका पाए स्तर आफैं माथि उठछ। यो प्रतियोगिता सुरु गर्नुमा दक्षिण एसियाको फुटबल समुदायलाई एकजुट पार्ने अर्को उद्देश्य पनि थियो। हामी दुवैमा सफल भएका छौं।'
साफ
१९९७ मा भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्स फुटबल संघको सहभागितामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) गठन भएको हो।
पाकिस्तानले सुरु गरेको प्रतियोगितालाई प्रत्येक दुई वर्षमा निरन्तरता दिने श्रीलंका र नेपालको पहलमा साफ गठन भएको थापा सम्झन्छन्। भारतका पि लक्ष्मणनको अध्यक्षतामा गठित साफमा थापा १९९९ नेतृत्वमा आए। भारतको गोवामा १९९९ मा दोस्रो साफ च्याम्पियनसिप भएपछि थापा साफको नयाँ अध्यक्षमा चुनिएका थिए।
थापाले लगातार १० वर्ष नेतृत्व प्रदान गरेपछि २००९ यता बंगलादेशका काजी मोहम्मद सलाउद्धिन साफमा अध्यक्ष छन्।
पहिलो साफ च्याम्पियनसिप र नेपाल
घरमा भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले दावेदारका रुपमा प्रतियोगिता सुरु गरेको थियो। राजुकाजी शाक्य, राजेश मानन्धर, वशन्त गुरुङ, बाबुकाजी धौवन्जारजस्ता अनुभवीसँगै नयाँ पुस्ताका धेरै खेलाडीको साथ थियो। उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरी खड्काहरू उच्च फर्ममा थिए।
घरमै हुने प्रतियोगितामा नेपाली टोलीलाई सन्तुलितको दर्जा दिइएको थियो। उपाधि दावेदारका रूपमा प्रतियोगिता सुरु गरेको टोलीले पहिलो चरणबाटै निराशाजनक रुपमा यात्रा टुंगायो। आयोजक एन्फाले भने प्रतियोगिताबाट साढे दुई करोड रुपैयाँ नाफा गर्योर।
एन्फा अध्यक्ष थापा त्यही नाफाबाट सातदोवाटोस्थित एन्फा कम्प्लेक्स निर्माण गरेको बताउँछन्। थापाका अनुसार प्रतियोगिताबाट साढे दुई करोड नाफा भएकोमा २ करोड १५ लाख रुपैयाँको लगानीमा एन्फा कम्प्लेक्स बनाइएको थियो।
0 comments
Write Down Your Responses