रुकुममा अवरुद्ध सडक पुनः सञ्चालन

रुकुम, १३ भदौ । वर्षा सुरु भएसँगै अवरुद्ध रुकुम चौरजहारीदेखि सल्यानको सल्लीबजारसम्मको सडकखण्ड पुनः सञ्चालन भएको छ ।
रुकुम उद्योग वाणिज्य सङ्घ शाखा चौरजहारीको पहलमा सडक मर्मत भएको हो । करिब ३४ किमि
सडकखण्ड मर्मत गर्न हप्ता दिन लागेको थियो । पहिरो खस्नाका साथै भासिएर खाल्डाखुल्डी परेपछि अवरुद्ध बनेको सडक डोजर प्रयोग गरेर मर्मत गरिएको सङ्घका शाखा अध्यक्ष तेजबहादुर विष्टले जानकारी दिनुभयो ।
सडक मर्मतपछि सल्लीबजारदेखि चौरजहारीसम्म सवारीका साधन सहजरुपमा चल्न थालेका छन् । सडक मर्मत गरिए पनि बनगारखोला र सानी पिपल खोलामा पुल नहुँदा ठूलो जोखिम मोलेर सवारी साधान आवतजावत गर्ने गरेका छन् । यातायात सेवा बन्द हुँदा आवतजावतमा समस्या हुनाका साथै सामान ढुवानी हुन नसक्दा पश्चिम रुकुमको व्यापारिक केन्द्र चौरजहारीलगायत ठाउँमा दैनिक उपभोग्य सामानको समेत अभाव सुरु भएको थियो ।
सडक मर्मतका लागि सम्बन्धित निकायसँग आग्रह गरिँदा पनि आर्थिक स्रोत नजुटेपछि आफ्नै पहलमा रु एक लाख १० हजारबराबरको लगानीमा सडक मर्मत गरिएको सङ्घ शाखा चौरजहारीले जनाएको छ ।
सल्लीबजार–चौरजहारी सडकखण्डमा सवारी साधन सञ्चालन गर्न खर्च भएको रकम यातायात व्यवसायीबाट असुल गर्ने गरी सडक मर्मत गरिएको बताइएको छ । यातायात व्यवसायीले सडक मर्मतमा ध्यान नदिएपछि दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्न भए पनि सडक मर्मत गरिएको शाखा अध्यक्ष विष्टले बताउनुभयो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.