चामलको आयातमा वृद्धि

वीरगन्ज, १३ भदौ । मागबमोजिम स्वदेशी उत्पादनले धान्न नसक्दा गत वर्ष वीरगन्ज भन्सार नाकाबाट चामलको आयातमा झन्डै ५३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट रु एक अर्ब
१८ करोड १४ लाख ५० हजार मूल्यबराबरको ४७ हजार २५८ मेट्रिक टन चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष (२०६८/०६९) को तुलनामा यो ५२.४१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा यस नाकाबाट रु ७७ करोड ५१ लाख ८० हजार मूल्यबराबरको ३८ हजार ७५८ मेट्रिक टन चामल आयात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ
गत वर्षको असोजदेखि चैतसम्ममा चामलको आयातमा उल्लेखनीय वृद्धि भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयका क्वारेन्टाइन अधिकृत मोहन महतोले भन्नुभयो । चामल व्यवसायी सत्यनारायण साहले भन्नुभयो–“आयातीत यस्ता चामलले आम उपभोक्ताको माग मात्र पूरा गरेको छैन्, यसले चामलको मूल्य वृद्धि नियन्त्रण गर्नमा समेत सहयोग पु¥याएको छ ।”
यस क्षेत्रमा सञ्चालित चामल मिल पनि भारतबाट आयातीत धानमाथि निर्भर रहनुपरेको बताउँदै चामल मिल सञ्चालक राजेश साहले भन्नुभयो–“यहाँका मिलमा ६० देखि ७० प्रतिशत भारतीय धान प्रयोग हुने गर्दछन् ।” वीरगन्जमा उत्पादन भएका चामल काठमाडौँ, पोखरालगायत नेपालका विभिन्न सहरमा जाने गरेका छन् ।
क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार गत वर्ष भारतबाट रु. दुई अर्ब ७९ करोड २१ लाख ४४ हजार मूल्यबराबरका एक लाख ७४ हजार ५०९ मेट्रिक टन धान आयात भएको थियो । चामल उद्योग उत्पादक सङ्घका अनुसार अहिले स्थानीय बजारमा उपलब्ध चामलमध्ये अधिकांश भारतीय भएको वा आयातीत भारतीय धानबाट नेपालमा उत्पादन गरिएको चामल नै हो । वीरगन्ज, भैरहवा, विराटनगर र मेची भन्सार नाकाबाट भारतीय धान तथा चामल अत्यधिक मात्रामा आयात हुने गरेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.