बिहेअघि एचआइभी परीक्षणले ढुक्क

चितवन- गैंडाकोट–१ की रुवी कुमाल (२१) र उनका केटासाथी चोकबहादुर कुमाल (२२) चितवन मेडिकल कलेज पुगे। बिरामी भएर होइन, बिहेको साताअघि उनीहरू एचआइभी परीक्षणका लागि त्यहाँ पुगेका हुन्।
चोकबहादुर दुई वर्ष कतार काम गरेर फर्किएका हुन् । 'प्लस टु' सकेकी रुबी गाउँमै सानोतिनो रोजगारी गर्छिन् । दुवैका परिवारको मन्जुरीमा उनीहरूको मागी बिहे हुन लागेको हो। बिहेअघि निर्धक्क हुनका लागि एचआइभी परीक्षण गराएको रुबीले बताइन्। उनले भनिन्, 'विदेश बसेर आएको मान्छेको के भर हुन्छ र, परीक्षण गराएपछि ढुक्क भयो, नेगेटिभ नतिजा आयो।' श्रीमान् एचआइभी सरेर गाउँकै एक महिलाको जीवन बर्बाद भएको घटनाबाट आफूले पाठ सिकेको उनको भनाइ छ। मनको सन्तोषका लागि परीक्षण गराएको चोकबहादुरले बताए। युवायुवतीले बिहेअघि यस्तो परीक्षण गर्दा उचित हुने उनको सुझाव छ। 
बिहेअघि बुद्धि नपुर्यायउँदा कतिपय एचआइभी संक्रमित भएका छन्। चितवनकी सानु तामाङ (नाम परिवर्तन) लाई विदेशिएका श्रीमान्ले एचआइभी सारिदिए। श्रीमान्को मृत्युपछि उनी समाजमा पीडा सहेर बस्न बाध्य छिन्। सूर्तिमा केसी(नाम परिवर्तन)लाई पनि विदेशबाट फर्केका श्रीमान्ले कलिलै उमेरमै एचआइभी सारिदिए। भर्खरै बच्चा जन्माएकी उनी मृत्युसँग लड्दै छिन्। उनका श्रीमान् पनि रोगले थलिएका छन्। दुवैले जीवन लम्ब्याउन
एआरभी लिइरहेका छन्। 'आँखा चिम्लेर भरोसा गर्नु आफ्नै जीवन नष्ट गर्नु हो,' सूर्तिमा भन्छिन्, 'एचआइभी लागेपछि परिवार र समाजको कसिंगर बन्नुभन्दा बिहेअघि नै परीक्षण गर्नु बेस।'
चितवनमा बिहे गर्ने उमेरका युवायुवती एचआइभीको जोखिममा रहेका जिल्ला एड्स समन्वय समितिका संयोजक रामहरि न्यौपाने बताउँछन्। 'ड्रग्स लिने युवायुवतीको संख्या बढ्दो छ,' उनी भन्छन्, 'यौन व्यवसायमा लागेका युवायुवतीमा एड्स सर्ने प्रबल सम्भावना छ।' त्यसैले पनि युवायुवतीले बिहे अघि अनिवार्य रूपमा एचआइभी टेस्ट गराउनुपर्ने उनको सुझाव छ। 
समितिका अनुसार ४२ प्रतिशत संक्रमित महिलामा विदेशिएका श्रीमान्ले एचआइभी सारेका हुन् । चितवनमा यौन व्यवसायमा संलग्न ९ सय ५१ मध्ये दशजनामा एचआइभी संक्रमण देखिएको छ। त्यस्तै ७५ जना तेस्रोलिंगीमध्ये आठ जना संक्रमित छन्, उनीहरू यौनकर्मी हुन्। युवायुवतीलाई संक्रमणबाट बचाउन बिहेअघि तथा पछि पनि एचआइभीबारे प्रशिक्षण दिनुपर्ने न्यौपानेको भनाइ छ। 
चितवनमा गर्भवतीलाई तीन र अन्यका लागि सात सेन्टरमा एचआईभी परीक्षणको व्यवस्था छ। तर, यसबारेमा युवायुवती अनविज्ञ छन्। गर्भवतीले जुटपानी, माडीको बगौडा र भरतपुर अस्पतालमा परीक्षण गराउन सक्छन्। अन्यले परिवार नियोजनको कार्यालय भरतपुर, मानव सचेत समाज क्षेत्रपुर, सहभागी संस्था बसपार्क, नमुना एकीकृत विकास परिषद लीलाचोक र हाकिमचोक, चितवन सक्रिय समूह लाहुरेटोल र भरतपुर अस्पतालमा एचआइभी परिक्षण गर्न सक्छन्। 
चितवनमा ९ सय ५ जना एचआइभी संक्रमित छन्, जसमा ४५ प्रतिशत महिला छन्। चितवनका ४३ सहित ७२ जना एचआइभी संक्रमित बालबालिकाको चितवनमा उपचार भइरहेको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.