डलर र सुन सँगसँगै उकालो

मंगलबार सुन तोलामा एक हजारले बढेर ५९ हजार ९ पुगेको छ भने डलर दुई रुपैयाँले बढेर एक सय पाँचमा कारोबार भएको छ। मंगलबार भारतमा अमेरिकी डलरको विनिमय दर बढेर ६६ रुपैयाँ २५ पैसा पुगेपछि नेपालमा त्यसको प्रभाव परेको हो। एक साताअघि सुन तोलाको ५६ हजार ६ सय ५० हुँदा डलरको विनिमयदर एक सय रुपैयाँ पुगेको थियो। मंगलबार सुनको मूल्य बढेर ५९ हजार ९ सय हुँदा डलर १ सय ५ पुगेको छ।
केही महिनायता उकालो चढेको डलरलाई सुनको मूल्यले पनि साथ दिइरहेको छ। भारत र चीन जस्ता ठूला देशले आर्थिक सुरक्षाका लागि सुन किनेर राखेकाले सुनको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हो। भारतीय मुद्रासँग स्थिर विनिमय दर निर्धारण गरिएको नेपाली रुपैयाँ भने भारु घट्दा घटेको हो।
'सुनको माग र आपूर्तिले मूल्यलाई तलमाथि बनाउने भए पनि सामान्यतया अमेरिकी डलर कमजोर भएको बेला लगानीकर्ता सुनतिर आकर्षित हुन्छन् र मूल्य बढ्ने गर्छ,' अर्थविद चिरञ्जीवी नेपाल भन्छन्, 'तर पछिल्लो पटक स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा नै सुन र डलरको समीकरण आश्चर्यजनक देखिएको छ।'
नेपाली मुद्रा बलियो भएको बेला भने सुन र डलरको पुरानै सम्बन्ध हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य बताउँछन्। 'अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ यहाँ पनि बढेको छ,' शाक्य भन्छन्, 'डलरको भाउ बढेकाले सुन अझ महँगो पर्न गएको छ।'
अर्थविद मदन दाहाल नेपालको मुद्रा कमजोर भएकै कारण सुन र डलरको सकारात्मक सम्बन्ध देखिएको बताउँछन्। माग र आपूर्तिमा मूल्य निर्धारण हुने भए पनि नेपालमा मागभन्दा बढी आयात भएको तर्क गर्छन्। नेपालमा उच्च आम्दानी हुने परिवारको संख्या थोरै छ। नेपाल भित्रिएको सुन नेपालमा प्रयोग नभएर भारतलगायत देशमा पुगेको छ। त्यसैले डलर र सुनको नयाँ समीकरण घरेलु बजारमा दिगो नहुने उनको भनाई छ।
विश्वभर सुन मागको ९० प्रतिशत लगानी र गरगहनामा प्रयोग हुने गरेको विश्व सुन परिषदको तथ्यांक छ। औद्योगिक प्रयोजनका लागि जम्मा १० प्रतिशत मात्र सुन प्रयोग हुन्छ। परिषदका अनुसार सुनको कुल मौज्दात पछिल्लोपटक वार्षिक १.५ प्रतिशतले बढिरहेको छ।
डलरको मूल्य १०५.३१ रुपैयाँ पुग्यो
अमेरिकी डलरको मूल्य मंगलबार एकै दिन दुई रुपैयाँ ३० पैसाले बढेको छ। भारतीय मुद्रा कमजोर भएपछि नेपालका वाणिज्य बैंकहरुले मंगलबार डलरको कारोबार अघिल्लो दिनको भन्दा महँगोमा गरेका हुन्। राष्ट्र बैंकले बुधबारका लागि एक डलरको मूल्य १०५ रुपैयाँ ३१ पैसा तोकेको छ।
अघिल्लो दिन डलर एक रुपैयाँ ६० पैसाले बढेको थियो। दिनभर बैंकहरुले कारोबार गरेको मूल्यका आधारमा राष्ट्र बैंकले बुधबारका लागि डलरको मूल्य दुई रुपैयाँ ३० पैसाले बढाएर तोकेको हो। यो मूल्य अहिलेसम्मकै महँगो हो। विश्लेषकहरुका अनुसार डलरको मूल्य एक सय १० रुपैयाँसम्म पुग्न सक्छ।
पोहोर असार ९ गते एक डलरको मूल्य त्यसबेलासम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो। त्यसपछि घटेर २०६९ असोज २० गते ८२ रुपैयाँ ९९ पैसासम्म ओर्लेको थियो। डलरको मूल्य पछिल्लो चार महिनायता निरन्तर बढिरहेको छ। दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ रेकर्ड राख्दै आएको थियो। अघिल्लो सोमबार डलर मूल्यले पहिलोपटक एक सय रुपैयाँको सीमा पार गरेको थियो।
भारतीय मुद्रा कमजोर भएपछि डलरको भाउ बढेको हो। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ।
0 comments
Write Down Your Responses