चक्काजाम गर्न खोज्ने पाँच पक्राउ

सप्तरी, ११ भदौ । करिब एक महिनाअघि बेपत्तामा वरिष्ठ अहेव छेदीलाल साहको खोजतलासमा प्रशासनले सक्रियता नदेखाएको भन्दै पूर्वपश्चिम राजमार्ग रुपनीमा चक्काजाम गरेका पाँच स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको छ ।
बेपत्ता भएको महिना दिन बितिसक्दा पनि प्रशासनले उहाँको खोजतलासका लागि चासो नदेखाएको भन्दै बिहानैदेखि राजमार्गमा चक्काजाम गरेपछि प्रहरीले हस्तक्षेप गरी एकीकृत नेकपा (माओवादी) निकट वाइसिएल मिथिला राज्य समिति संयोजक अरुण साहसहितलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय राजविराज ल्याइएको छ ।
स्थानीयवासीको चक्काजामका कारण बिहानैदेखि सो मार्गमा यातायातको साधन सञ्चालन हुन सकेका छैनन् । खोक्सर प्रवाहा गाविस निवासी वरिष्ठ अहेव साह ताप्लेजुङको महाश्रीङ इलाका स्वास्थ्यचौकीबाट सदरमुकाम फुङ्लिङबाट गोष्ठी सकेर कार्यक्षेत्र फर्किने क्रममा गत असार २५ गतेदेखि बाटाबाटै बेपत्ता थिए ।
साह सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि कुनै जानकारी नआएकाले आफूहरु चिन्तामा डुबेको उहाँका परिवारजनले बताएका छन् । श्रीमान्को अत्तोपतो नभएपछि साहकी श्रीमती भोलादेवी पटक पटक मुर्छित पर्ने गरेको उहाँका कान्छा छोरा विनोदले बताउनुभयो । साह बेपत्ता भएपछि स्थिति सार्वजनिक गर्न माग गर्दै ताप्लेजुङस्थित विभिन्न स्वास्थ्यसम्बद्ध कर्मचारी सङ्गठनले गत साउन ७ गते नै त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाए पनि स्थानीय प्रशासनले उहाँको खोजतलासका लागि खासै कुनै प्रयास नगरेको विनोदले गुनासो पोख्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.