भ्रष्टाचारी ठहर गर्ने फैसलाविरुद्ध पूर्वमन्त्री जोशी सर्वोच्चमा
काठमाडौं, श्रावण १७ - आफूलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाविरुद्ध पूर्वमन्त्री गोविन्दराज जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । जोशीलाई गत वर्ष विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको
इजलासले डेढ वर्ष कैद, २ करोड १६ लाख रुपैयाँ जरिवाना र त्यति नै बिगो भराउने फैसला सुनाएको थियो ।
पुनरावेदनमा आफ्नो वास्तविक सम्पत्तिभन्दा वैध आय (सम्पत्ति) धेरै नै बढी देखिएको स्पष्ट हुँदाहुँदै पनि वैध श्रोतबाट प्राप्त आय गणना गरी वस्तुनिष्ठ आधारमा सम्पत्ति मूल्यांकन र न्याय निरुपण गरिदिनुपर्नेमा नगरिएको जिकिर छ । आफ्नो सम्पत्तिको बिगो बढी देखाएको, आयमा समावेश गरिनुपर्नेमा नगरिएको र गरिएकोमा पनि कम गरिएको एवं परिवारभन्दा बाहिरका व्यक्तिको सम्पत्तिलाई समेत आफ्नोमा गणना गरी विशेष अदालतले फैसलामा गरेको दाबी उनको छ
भ्रष्टाचार निवारण ऐन २०५९ असार ५ देखि लागू भएको तर आफू भने २०५९ जेठ ९ गते प्रतिनिधिसभा सदस्य नरही सार्वजनिक पद धारण गरेको व्यक्ति नभएकोले उक्त ऐन आफ्नो हकमा लागू नहुने दाबी गर्दै उनले सम्पत्ति विवरण नै पेस गर्नु नपर्ने र ऐन आउनभन्दा पहिलेको सम्पत्ति यस मुद्दामा जोड्न नपाइने पनि पुनरावेदनमा उल्लेख गरेका छन् ।
0 comments
Write Down Your Responses