गर्लफ्रेन्डका लागि बडी बनाउँदै युवाहरु

पोखरा, बगरका जिमी गुरुङ पनि गर्लफ्रेन्डकै लागि मसल बनाउँदै छन्। पहिले उनको तौल ८२ केजी थियो। गर्लफ्रेन्ड उनलाई 'मोटे' भनेर जिस्काउँथिन्। त्यसैले उनी जिम जान थाले। अहिले उनको वजन ६८ किलो छ। उनको शरीर हेर्नलायक छ। छाती चौडा छ। पाखुरा मोटा छन्। 'अहिले त गर्लफ्रेन्ड पनि खुसी छिन्,' उनी भन्छन्, ' साथीभाइ पनि हिरो भनेर बोलाउँछन्।' उनी क्रिकेट र फुटबल खेल्न मन पराउँछन्।
गर्लफ्रेन्डकै करबल या सुझावमा जिम जाने पोखरेली युवा असंख्य छन्। उनीहरू ज्यान बनाएर गर्लफ्रेन्ड खुसी पार्ने 'अभियान'मा छन्। उसो त अन्य कारणले पनि जिम धाउनेहरू छन्। पोखरा तेर्सापट्टिका निर्जन राजभण्डारी १० वर्षदेखि जिम गइरहेका छन्। 'खाली बस्यो भने कुलतमा फस्ने डर हुन्छ,' उनी भन्छन्, 'मेरा थुपै्र साथी कुलतमा फसेर बर्बाद भएका छन्। म स्वस्थ छु। ज्यान पनि बनेको छ।' शरीरका सबै अंगको एक्सरसाइज हुने, बडी फिगर पनि आकर्षक देखिने र अनुशासित हुन सघाउने भएकाले जिम जान नछाडेको उनको भनाइ छ।
खानपान र जीवनशैलीका कारण मोटोपनले युवाहरूलाई रुवाइरहेको छ। यसले शरीर भद्दा त देखाउँछ नै, व्यक्तिलाई अस्वस्थ पनि बनाउन सक्छ। त्यसैले व्यायाम गरेर फिट हुनुपर्छ भन्ने मानसिकता सबैमा विकास भएको छ। क्लब धाउने र घरमै जिम गर्ने लहर पनि बढ्दो छ।
जिम हल गएर एक्सरसाइज गर्दा छुट्टै स्फूर्ति आउने बताउँछन्, जाल्पारोडका खाद्यान्न व्यवसायी मदन श्रेष्ठ। 'प्रेसर बढी भएकाले यसलाई कन्ट्रोल गर्न जिम जान्छु,' ११ वर्षदेखि जिम जाने गरेका ३० वर्षीया मदन भन्छन्, 'मोटोपनको समस्या पनि छैन। शरीर फुर्तिलो छ।'
शारीरिक रूपमा फिट रहन पनि पछिल्लो समय युवाहरू जिम धाउने गरेको बताउँछन्, पोखरा व्यायामशालाका प्रशिक्षक महेश उदास। २०४४ सालदेखि व्यायामशाला चलाउँदै आएका उदास अहिले साँझ–बिहान गरेर ७० जना युवा नियमित जिम आउने गरेको बताउँछन्। 'सस्तो शुल्क तिरेर शरीरका सबै अंगलाई एक्सरसाइज पुर्यानउने व्यायाम भनेकै जिम हो,' उदास भन्छन्, 'अहिलेसम्म हाम्रो व्यायामशालाबाट हजारौँ युवाले जिम गरिसकेका छन्। केहीले शारीरिक सुगठन प्रतियोगिताको उपाधिसमेत जितेका छन्।'
पोखरामा रत्नश्री जिम, बुल्स जिम, पोखरा व्यायामशाला, गण्डकी जिम, फेवा जिम, पावर जिमलगायत जिमखाना सञ्चालित छन्।
0 comments
Write Down Your Responses