डेढ दशकपछि सिधा युरोप जोडिँदै

काठमाडौं - घन्टौं 'ट्रान्जिट' मा रोकिएर युरोपका विभिन्न मुलुक गइरहेका हवाई यात्रुलाई खुसीको खबर छ। नेपालका वायुसेवा कम्पनीले नभई उतैको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले कतै नरोकिई सिधा युरोप उडान गर्ने भएपछि यात्रुलाई थप सहज हुने भएको हो। युरोपेली मुलुक टर्कीको सरकारी वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले आगामी सोमबारबाट सिधा काठमाडौं उडान गर्न लागेको छ। यो उडानले युरोप र
नेपाललाई झन्डै १६ वर्षपछि पहिलो पटक हवाई मार्गमा जोड्दै छ।
नेपालबाट अध्ययन गर्न, घुम्न वा अन्य कामका सिलसिलामा युरोपेली मुलुक जानेलाई अब टर्किस एयरलाइन्सले सम्बद्ध गन्तव्य पुर्यामउने चाँजो मिलाएको हो। हाल विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना देशमा ट्रान्जिट राख्दै युरोप लाने गरेका छन्। यसबाट यात्रुलाई समस्या परिरहेको थियो। 
यात्रुको यस्तो समस्या हटाउँदै आगामी सोमबारबाट टर्किस एयरलाइन्सले टर्कीको राजधानी इस्तानबुलबाट सिधै काठमाडौं उडान गर्ने छ,' टर्किस एयरलाइन्सको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) जेनिथ ट्राभल्सका प्रबन्ध निर्देशक जोय देवानले बिहीबार नागरिकसँग भने, 'हामी १६ वर्षपछि सिधै युरोपसँग जोडिदै छौं।' 
उनका अनुसार टर्किसको २ सय ८५ सिट क्षमतायुक्त एयरबस ए३३० (वाइड बडी) जहाज पूर्णयात्रुका साथ सोमबार बिहान ७ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ। यहाँ ओर्लिएको डेढ घन्टापछि पौने ९ बजे जहाज यात्रु बोकेर फर्कने छ। उताबाट आउँदा ६ घन्टा र यताबाट फर्कंदा साढे ६ घन्टामा इस्तानबुल पुगिन्छ।
'टिकट बुकिङ सुरु भइसकेको छ, यात्रुबाट उत्साहजनक प्रतिक्रिया आएका छन्,' देवानले भने, 'आगामी पुस दोस्रो सातासम्मका लागि ९० प्रतिशत टिकट बुकिङ भइसकेको छ।' टर्किसले काठमाडौंका लागि सातामा चार उडान गर्ने अनुमति पाएको उनले जानकारी दिए।
युरोपेलीहरू सिधै नेपाल आउन चाहने भए पनि सिधा हवाई सम्पर्क नहुँदा समस्या परिरहेको उनले बताए। लन्डनमा हुने डब्लुटिएम, जर्मनीमा हुने आइटिबीजस्ता ठूला पर्यटन मेलामा सहभागी हुन जाँदा त्यहाँ आउने हजारौंले नेपाल जान सिधा हवाई सेवा छ भनेर सोध्ने गरे पनि सत्य थाहा पाएपछि उनीहरूले 'नाक खुम्च्याउने' गरेको अनुभव देवानको छ। 
'टर्किस एयरलाइन्स नेपाल आउनु भनेको हाम्रो लागिमात्र होइन, समग्र पर्यटन उद्योग र मुलुककै अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान पुग्नु हो,' देवानले भने, 'यसलाई दीर्घकालसम्म काठमाडौंसँग जोडिरहने हाम्रो उद्देश्य छ। युरोपबाट बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक ल्याउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न यसबाट महत्वपूर्ण योगदान पुग्ने छ।'
काठमाडौं उडान सुरु गर्न लागेका अवसरमा टर्किसले प्रवर्द्धनात्मक भाडा दर पनि सार्वजनिक गरेको थियो। काठमाडौंबाट अमेरिका दुईतर्फी करसहित १ हजार अमेरिकी डलर लिएको थियो। जति अगाडि टिकट बुकिङ गर्योट, त्यत्ति यस्ता टिकट पाउन सकिने उनको भनाइ छ। 
टर्किसले इस्तानबुलबाट नेपाल उडान गर्नका लागि कुटनीतिक माध्यमबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति मागेपछि मन्त्रालयले गत असार तेस्रो साता अनुमति दिएको थियो। 
टर्किस नेपाल उडान गर्ने २७औं अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भएको छ। यसअघि बहराइन एयर र गल्फ एयरले नेपाल उडान बन्द गरिसकेका कारण टर्किस २७औं स्थानमा परेको हो। टर्किस पहिलो पटक नेपाल आउन लागेको हो।
जिएसए जेनिथले टर्किसको नेपालमा हुने सबैखाले बिक्री तथा बजारीकरणसम्बन्धी काम हेर्ने छ। टर्किसले सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने छ। 
केही अवधिपछि दैनिक एक उडान गर्ने कम्पनीको योजना छ। हालका लागि कम्पनीले काठमाडौं–इस्तानबुल दुईतर्फी प्रतियात्रु ४४ हजार रुपैयाँमा उडान गर्नेछ। यो दर करबाहेक हो। 
सन् १९३३ मा पाँचवटा जहाजबाट सेवा सुरु गरेको टर्किससँग हाल २ सय २० जहाज सञ्चालनमा छन्। यसले विश्वका २ सय ३७ गन्तव्यमा उडान गरिरहेको छ। यो वर्ष २ सय ५० पुर्यािउने लक्ष्य यसको छ। 
स्टार एलायन्सको सदस्य रहेकेा टर्किस चारतारे स्तरको वायुसेवा कम्पनी हो। तीव्र गतिले वृद्धि भइरहेको यसले 'प्यासेन्जर च्वाइस अवार्ड २०११' तथा 'बेस्ट एयरलाइन युरोप', 'बेस्ट प्रिमियम इकोनोमी सिट्स' र 'बेस्ट एयरलाइन साउदर्न युरोप' लगायत पुरस्कार पाइसकेको छ। 
पर्यटन मन्त्रालयका अनुसार नेपाल र टर्कीबीच सन् २०१० मा पहिलो पटक हवाई सेवा सम्झौता भएको थियो। सम्झौताअनुसार त्यहाँको सरकारले तोकेका कुनै पनि वायुसेवाले नेपालका लागि सातामा १४ उडान गर्न पाउँछन्। जतिवटा वायुसेवा आए पनि त्यही १४ भित्रै रहेर उडान गर्नुपर्छ। यहाँका वायुसेवाले पनि सातामा १४ वटै उडान गर्न पाउँछन्। 
विगतमा जर्मनीको लुफ्थान्सा एयरलाइन्स, नेदरल्यान्डको ट्रान्सेभिया एयरलाइन्स र अस्ट्रियाको अस्ट्रियन एयरलाइन्सले काठमाडौं उडान गरेका थिए। 
ती ठूला वायुसेवा कम्पनीले युरोपबाट काठमाडौंका लागि उडान गरे पनि व्यापार नभएको भन्दै केही वर्षपछि सेवा नै बन्द गरेका थिए। त्यसपछि केही अवधि युरोप–काठमाडौं सिधा उडान भएको थिएन तर, बीचमा नेदरल्यान्डकै अर्को वायुसेवा कम्पनी टियुआई एयरलाइन्सले काठमाडौंका लागि चार्टर उडान गर्न गरेको थियो। 
युरोपका ती वायुसेवाभन्दा अघि हाम्रै राष्ट्रिय ध्वजावाहक निगमले पनि त्यहाँका तीन गन्तव्यमा डेढ दशकअघिसम्म उडान गरेको थियो। निगमले बेलायतको लन्डन, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टका लागि यहाँबाट १४ वर्षसम्म उडान गरेको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.