आज श्रीलंका र अफगानिस्तान, माल्दिभ्स र भुटान भिड्दै

काठमाडौं, भाद्र १९ । राजधानीमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । समूह ‘बी’को खेल अन्तर्गत आज दिउँसो साढें ३ बजे हलचोक मैदानमा श्रीलंकाले अफगानिस्तानको सामना गर्दैछ भने साँझ साढें ६ बजे दशरथ रंगशालामा माल्दिभ्सले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । 
यो समूहको पहिलो खेलमा अफगानिस्तानले भुटानलाई तथा माल्दिभ्सले श्रीलंकालाई हराएका थिए 
प्रतियोगितामा मंगलबार पाकिस्तानसँग बराबरी खेल्दै नेपालले जारी प्रतियोगिताको समूहमा आफ्नो अग्रतालाई जारी राखेको छ । नेपालले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । 
दशरथ रंगशालामा भएको खेलमा युवा खेलाडी विमल घर्तीमगरले अन्तिम समयमा गरेको गोलले नेपालले एक अंक बटुल्न सफल भएको हो । दोस्रो राष्ट्रिय खेल खेलेका विमलले आफू टिमका लागि सही खेलाडी भएको सावित समेत गरे । 
यसअघि खेलको १३ मिनेटमै हसन बसिरले पाकिस्तानलाई गोल दिलाएका थिए । यो खेलसँगै नेपाल दुई खेलबाट ४ अंकका साथ गोल अन्तरका आधारमा भारतलाई पछाडि पार्दै समूह ‘ए’को शीर्ष स्थानमै रहेको छ । नेपालले पहिलो खेलमा बंगलादेशलाई २–० ले हराएको थियो । अब समूहको अन्तिम खेलमा नेपालले बिहीबार भारतको सामना गर्नेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । यो खेलमा जित्ने टिम स्वतः सेमिफाइनलमा पुग्ने छ भने बराबरीमा सकिए दुवै टिम सेमिफाइनलमा पुग्नेछन् ।
साफ च्याम्पियनसिप अन्तर्गत हिजोको पहिलो खेलमा भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ । खेलको ८२ औं मिनेटमा अतिकर रहमान मेसुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । 
तर, इन्जुरी समयको अन्तिम घडीमा भारतीय कप्तान सुनील क्षेत्रीले गोल गर्दै टिमलाई महत्वपूर्ण एक अंक दिलाउन सफल भए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.