काँग्रेसभित्र उम्मेदवार सिफारिसमा व्यापक विवाद

 नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले जिल्लाबाट तीव्र विवादका बीच उम्मेदवारहरुको सिफारिस गरेको छ।
निर्वाचन क्षेत्रीय समितिले उम्मेदवारका आकांक्षीहरुका बीचमा सहमति नभएपछि इच्छापत्र जाहेर गर्ने सबैलाई केन्द्रीय समितिले छान्ने गरी नाम सिफरिस गरेको हो।
केन्द्रीय निर्देशनअनुसार एक क्षेत्रबाट प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ पाँचजना सिफारिस गर्नुपर्ने भए पनि संस्थापन र देउवापक्षबीचका नेताहरुबीच विवाद भएपछि समस्या आएको नेताहरुले बताएका छन्।
मातहतका कमिटीको राय लिएर निर्वाचन क्षेत्रीय समितिले सिफारिस गर्ने वैधानिक व्यवस्था भए पनि नेताहरुका बीचमा सहमति नहुँदा आकांक्षीहरुबाट इच्छापत्र माग गरी इच्छापत्र जाहेर गर्ने सबैलाई सिफारिस गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति दानबहादुर बानियाँले जानकारी दिए।
यसरी ओखलढुङ्गाका दुवै क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका आकांक्षीहरु ५३ जना रहेको नेपाली काँग्रेसले जनाएको छ। निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ सभापति प्रदीप सुनुवार, बालकृष्ण दाहाल, मित्रसेन दाहाल, गोमा केसी, महेश कोर्मोचा, टेकराज भट्टराई, डिल्ली खनाल र बद्री दाहालसहित आठजना आकांक्षी भएकाले सबैलाई केन्द्रमा सिफरिस गरिएको छ।
त्यसैगरि समानुपातिकतर्फ पूर्वमन्त्री होमनाथ दाहाल, हेमप्रसाद दाहाल, पेमङिमा शेर्पा, पद्म तामाङ, तीर्थ थापा, हेमालक्ष्मी राईलगायत १५ जना सिफारिसमा परेका छन्।
निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ रामहरि खतिवडा, अशोक कार्की पूर्व सभापति प्रेमराज राई, अजय लुइँटेल, कुमार लुइँटेल, ज्ञानेन्द्र रुम्दाली, क्षेत्रीय सभापति रुद्र अधिकारीलगायत ११ जना सिफारिसमा परेका छन्।
 समानुपातिकतर्फ खड्गसिं सुनुवार, अमर विक, प्रजादेवी राई, पर्शुराम अधिकारीलगायत १९ जना आकांक्षीलाई सिफारिस गरेको क्षेत्रीय सभापति रुद्र अधिकारीले जानकारी दिए।
 जिल्लामा अन्य दलहरु पनि उम्मेदवार छनौटको तयारी गरिरहेका छन्। एमालेले जिल्ला कमिटिको बैठक बसेर भदौ १८ गतेसम्म नाम सिफारिस गर्ने जनाएको छ। एकीकृत नेकपा (माओवादी)ले यसअघि नै दुवै क्षेत्रबाट प्रस्तावित २० जनाको नाम सिफारिस गरेको जनाएको छ। केन्द्रीय सदस्य बालकृष्ण ढुंगेल, चम्पा कार्की, बाबुराम गौतम, रामकुमार कार्की, केशव राई, निशान्त शर्मालगायतका नेताहरु जिल्लाबाट सिफारिसमा परेको एमाओवादीका नेता लेखनाथ फुयाँलले जानकारी दिए।  रासस 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.