१८ वर्षदेखि श्रीमानको प्रतीक्षामा...

‘प्यारी गंगा, घर जस्तो विदेश हुँदो रहेनछ । मैले अहिलेसम्म नगरेको दुःख यहाँ गर्नुपरेको छ । काम पनि साह्रै अप्ठ्यारो छ । पासपोर्ट दलालले नै राख्यो, पैसा पनि उसैले खाइदियो । हाम्रो जीवन भनेका नै भएका दुईओटा छोरी हुन्, तिनलाई राम्रोसँग पढाउनु अनि आमाबुबाको पनि ख्याल गर्नु ।
 म सकेसम्म चाँडै आउने कोसिस गर्छु ।’ गुल्मी हर्दिनेटाकी गंगा अर्याललाई उनका श्रीमान् कृष्णले विदेशबाट लेखेको अन्तिम चिठीको अंश हो, यो । रोजगारीका लागि १८ वर्षपहिले मलेसिया छिरेका कृष्णले यो चिठी २०५३ सालको माघ महिनामा पठाएका थिए । धेरै धन कमाएर परिवारलाई सुखी बनाउने सपना साँचेर १९ चैत २०५२ मा मलेसिया पसेका उनको अहिलेसम्म अत्तोपत्तो छैन । राजधानीमा खबर छ ।
 ज्वाइँ नाता पर्ने हर्दिनेटाका लक्ष्मण खत्रीसँगको सम्पर्कमा मलेसिया छिरेका उनको करिब डेढ वर्षसम्म चिठीपत्र आदान–प्रदान हुने गरे पनि त्यसपछि मरेको हो ज्युँदो के हो, थाहा छैन । कृष्णलाई लैजाने लक्ष्मण खत्रीको पनि मृत्यु भइसकेको छ । ‘हामी गरिब परिवारका मान्छे, घरमा बसेर पनि जीवन काट्न गाह्रो छ । दुईओटा सन्तान भइहाले ।
 यिनीहरूलाई पनि पाल्नुपर्‍यो र शिक्षा–दीक्षा पनि राम्रै दिनुपर्‍यो । समाजमा चलिआएको रीतिरिवाज पनि मान्नै पर्‍यो । अझ त्यसैमाथि पनि बुबाआमा हुनुहुन्छ । यहाँ केही काम पनि पाइन्न । पाइहाले पनि पैसै हुन्न ।’ १८ वर्षअघिको श्रीमान्को यो पत्रको अंश हेर्दै गंगा भक्कानिन्छिन् । सँगै जिउँला मरौंला भनेर २०४६ सालमा बिहे गरेकी गंगाले श्रीमान्सँगै बस्नु त परैको कुरा, बोली सुन्नसमेत पाएकी छैनन् । काखमा तीन महिनाकी कान्छी छोरी छाडेर श्रीमान् कृष्ण बिदेसिएका थिए । एक/दुई वर्षमा फर्केर राम्रो घरबार बसाल्ने उद्देश्यअनुरूप श्रीमान् विदेश गएको गंगा बताउँछिन् । ‘उहाँले काखमा छाडेर गएकी कान्छी छोरी पनि १८ वर्ष पुगिसकी तर उहाँको अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘जति वर्ष भए पनि म उहाँकै प्रतीक्षामा छु ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.