भारतसँग नेपालको ऐतिहासिक जित, गरेकोछ
काठमाडौं, २० भदौ । आठौं साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार दशरथ रंगशालामा भएको सो प्रतियोगितामा नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै ७ अंकका साथ नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले भारतीय फुटबल टिमलाई सात वर्षपछि पराजित गरेको हो । गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न नेहरु कपमा नेपाल र भारतबीचको खेल ०–० गोलको बराबरीमा सकिएको थियो । प्रतियोगितामा भारत ‘हेड टु हेड’का आधारमा ४ अङ्कका साथ समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने समूह बी बाट एक खेल खेल्न बाँकी छँदै अफगानिस्तान र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
करिब १८ हजार दर्शकको उपस्थिति रहेको आजको खेलमा नेपालका लागि अनिल गुरुङले खेलको ६९ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । विक्रम लामाले प्रहार गरेको हेड बल गोलपोस्टको माथिल्लो बारमा लागेर फर्किएपछि रिबाउन्डमा गुरुङले गोल गरेका थिए ।
प्रतियोगितामा गुरुङले गोल गरेको ११ औँ मिनेटपछि जुमानु राईले थप एक गोल गरे । उनले रविन श्रेष्ठले दिएको सुन्दर पासमा डिबक्स नजिकबाट जुमानुले भारतीय रक्षापङ्क्ति र गोलरक्षकलाई छलाउँदै आकर्षक गोल गरेका थिए ।
जुमानु खेलको पहिलो हाफको २७ औँ मिनेटमा जगजित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । जगजितको खुट्टामा चोट लागेका कारण उनी मैदान बाहिर निस्कन बाध्य भएका थिए । गुरुङले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालका लागि ९ गोल गरेका छन् भने जुमानुले ११ गोल गरेका छन् ।
प्रतियोगितामा भारतका रोविन सिंहले खेलको अतिरिक्त समयमा एक गोल फर्काउँदै खेललाई २–१ मा ल्याएका थिए । यसैबीच, हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) मैदानमा आजै भएको अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गर्यो ।
बंगलादेशका खेलाडी हसन अमेलीले खेलको पहिलो हाफको ३१ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिए पनि पछि भने गोल फर्काउन सकेनन् । पाकिस्तानका खेलाडी समर इस्फाकले खेलको ३६ औँ मिनेटमा एक गोल फर्काउदै खेललाई एकएकको बराबरीमा ल्याए ।
पाकिस्तानका अर्का खेलाडी कलिम उल्लाहले दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै पाकिस्तानलाई २–१ को जित दिलाए । पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै ४ अङ्क बटुले पनि ‘हेड टु हेड’का आधारमा समान अङ्क रहेको भारत सेमिफाइनलमा प्रवेश गर्यो भने पाकिस्तान प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो ।
यस्तै बंगलादेश पनि समूह छनोट चरणबाट बाहिरिएको छ । नेपाल–भारतको खेलका निम्ति अखिल नेपाल फुटबल सङ्घले मध्याह्न १२ बजेपछि टिकट सकिएको घोषणा गरेलगत्तै आक्रोशित दर्शकले केही समय नाराबाजीसमेत गरेका थिए ।
प्रतियोगितामा भिआइपी प्यारफिटतर्फ ७ सय पर्ने टिकटलाई १ हजार ५ सयसम्म र साधारण प्याराफिटतर्फ ३ सय पर्ने टिकटलाई १ हजारसम्म कालोबजारीमा बेचिएको आशंका गरिएको छ ।
भोलि दशरथ रंशालामा दिउँसो ३:३० बजे समूह छनोट चरणको अन्तिम खेल अफगानिस्तानले माल्दिभ्सको सामना गर्नेछ भने सोही समयमा हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) मैदानमा श्रीलङ्का र भुटान आमनेसामने हुनेछन् ।
भोलिको खेलले समूह बीको पहिलो र दोस्रो टोली निर्धारण गर्नेछ ।
0 comments
Write Down Your Responses