किरात याक्थुङ चुम्लुङले रजत जयन्ती मनायो (फोटोफिचरसहित)

उपराष्ट्रपति झाले लिम्बू जातिको केन्द्रीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ रजत जयन्ती समारोहको उद्घाटन गर्दै सोमबार उक्त विचार व्यक्त गरेका हुन् । सबै जात, भाषा, संस्कार, संस्कृति र रीतिरिवाज संरक्षणको लागि सम्पूर्ण जातजाति आफैं सक्रिय हुनुपर्नेसमेत उनले उल्लेख गरे ।
'आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन हेक्याम' भन्ने नाराका साथ चम्लुङुको रजत जयन्ती सुरु भएको छ । जयन्ती वर्ष भरी मनाइने छ । उपराष्ट्रपति झाले ललितपुरको तिखेदेवलस्थित संस्थाको भवनमा लिम्बूहरुको बाजा च्याबु्रङ बजाएर र बेलुन उडाएर रजतजयन्तीको शुभारम्भ गरेका हुन् ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले देशमा विभिन्न जातजातिले बोल्ने, भाषा, प्रयोग गर्ने लिपि, संस्कारसंस्कृति संसारकै अमूल्य निधि भएकोले राज्यले संरक्षण तथा संवर्द्धनमा ध्यान दिन जरुरी रहेको बताए । 'त्यसैले संघीयतासहितको संविधान, पहिचानसहितको संघीयता हाम्रो निम्ति अपरिहार्य विषय बनेको हो,' उनले भने । चुम्लुङले आफ्नो रजतजन्तीलाई विशेष ढंगले लिम्बू भाषा, लिपि, साहित्य, संस्कृति प्रवर्द्धन गर्दै मनाउन पर्नुमा जोडदिए । त्यस्तै पूर्वराजदूत तथा भाषाशास्त्री नोवलकिशोर राईले आफू लिम्बुवानको बासिन्दा भएकोले पहिचानलाई भाषणमा सीमित हुन नहुने बताए ।
चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले राजनीतिक परिवर्तनसँगै लिम्बुवानको माग एकल जातीय राज्य नभई पहिचानको सवालमा प्रमुख रहेको बताए । 'त्यसनिम्ति चुम्लुङले निरन्तर संघर्ष गर्दै आएको छ र प्राप्ति नभएसम्म गरिरहनेछ,' उनले भने । त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले विगतमा सरकारले आदिवासी जनजातिसित गरेको सम्झौता कार्यान्वयन गर्नु पर्ने बताए । 'सरकारले विगतमा जे सम्झौता गरेको छ त्यो लागू हुन जरुरी छ,' चाहेको कुरा सम्बोधन गर्न नसके स्थिरता, शान्ति, विकास हुन नसक्ने दावी गर्दै कुमालले भने, 'आदिवासी जनजातिका अधिकार, पहिचान छलेर नयाँ संविधान सन्न सक्दैन ।'
कार्यक्रममा २०६९ सालको एसएलसीमा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट लिम्बु छात्रा संगीता लिम्बु र छात्र डिकेन्द्र कन्दङवालाई जनही दसहजार रुपैयाँ नगद तथा कदरपत्र प्रदान गरिएको थियो । साथै चुम्लुङको विषिष्ट संरक्षक, संरक्षक सदस्य र आजिवन सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
स्वागत मन्तव्य दिंदै संस्थाकी महासचिव लिला सिंघक लिम्बुले पहिचान र थातथलो लिम्बुवानको संरक्षण, सम्बर्द्धन र विकासको लागि लिम्बुवान राष्ट्रिय जागरण अभियान सञ्चालन सुचारु राख्ने बताइन् । त्यस्तै लिम्बु अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, प्रकाशन, अभिलेखिकरण र प्रचारप्रसार गर्ने, तङसिङ, धार्मिक अनुष्ठान लगायत परोपकारी कार्यक्रम, अन्तरक्रिया, सांस्कृतिक, साहित्यिक कार्यक्रम तथा महोत्सवहरूको आयोजना, प्रशंसा, कदर र सम्मान कार्यक्रम, युप्पा तङवे स्तम्भ तथा संरक्षित वनजंगलहरूको स्थापना गर्ने लगायत कार्यक्रम गरिने जनाइएको छ ।
0 comments
Write Down Your Responses