वैदेशिक रोजगारबाट फर्केकी महिला भन्छिन- न पैसा रह्यो न श्रीमान

वैदेशिक रोजगारका क्रममा इजरायल पुगेकी रीताले श्रीमान भुवन शाक्यको नाममा पटक पटक गरी ७२ लाख
रुपैयाँ पठाएकी थिइन् । तर, फर्केपछि उनले आफूले पठाएको रकम त परै जाओस्, रात काट्ने बाससमेत पाउन नसकेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ। अहिले उनी ललितपुर इमाडोलस्थित आफन्तको घरमा डेरा लिई बस्दै आएकी छिन् ।
‘कमाएको जति सबै रकम श्रीमानलाई पठाएँ । तर, उनले हदैसम्मको बदमासी गरे । पठाएको सबै रकम खाए, सौता ल्याए। हुँदा-हुँदा घरबाटै निकाले। अहिले त सुकुम्बासी पो भइयो,’ उनले भनिन् ।
रीताका अनुसार विदेशबाट फर्केदेखि नै उनले गुमेको रकम फिर्ता गराउने प्रयास थालिन् । यसक्रममा धेरैपटक प्रहरी कार्यालयमा धाइन् । प्रहरीका हाकिमलाई पीडा सुनाईन् ।
प्रहरीले श्रीमान भुवनलाई पक्राउ पनि गर्यो, तर भुवनको पक्षमा टोलबासी नै लागिपरेपछि उनको केही लागेन। अन्ततः उनले भक्तपुर नै छाड्नुपर्यो ।
रगत-पसिनाले कमाएको रकम मात्र होइन, सर्वस्व गुमाउन पुगेकी उनी अहिले एक छोरा र छोरीसँगै बस्छिन् । तर, ज्यानमाथिको खतरा अझै पनि टरेको छैन् । उनले भनिन्-’हामीमाथि खतरा छ । मलाई मारे त केही फरक पर्दैनथ्यो । मेरा छोराछोरी छन् । अस्ति मात्रै छोरालाई डेरानजिक आएर कुटे। भक्तपुर त जानै हुन्न। पैसाको कुरा गर्यो कि झम्टिहाल्छन्।’
श्रीमानको ज्याजतीबाट लवाक्क भएकी रीताले बीचमा आत्महत्याको प्रयास पनि गरिन् । सानेपास्थित दिदीको घरमा आत्महत्या गर्न सुसाइट नोट लेख्दैथिइन् त्यहीँबेला छोरी कोठाभित्र छिरिन् । छोरीको मुख देखेपछि उनको आत्महत्याको मनस्थिति बदलियो।
घर फाइनान्समा राखेर इजराइल पुगेकी उनी मासिक १२ सय डलर कमाउथिन्। पाँच वर्षे बसाइका क्रममा उनले कमाएजति सबै रकम श्रीमानलाई आइएमइ मार्फत पठाएकी थिइन् ।
तर, उनका श्रीमान भूवनले भने रीतालाई आफूले निकालेको नभई आफै निस्केर गएको बताए । रीताले भनेजति रकम आफूले नपाएको भन्दै उनले भने, ‘अलिअलि पठाउँथिन, घरको ऋण थियो, छोराछोरी पढाउनुपथ्र्यो । खर्च गर्दा सकिहाल्थ्यो नि । छोराछोरी पढाउनु उनको पनि कतव्र्य हो ।’ छोराछोरी निकालेको विषयमा भने उनी बोल्न चाहेनन् ।
0 comments
Write Down Your Responses