श्रीमतीले नै श्रीमानलाई घर निकाला गरेपछि

यस्तो घटना हाल मात्र सार्वजनिक भएको छ सप्तरीको रायपुर गाविस ८ मा । रायपुर ८ निवासी ६४ वर्षका रामप्रसाद साह तेली आफ्नै श्रीमती तथा तीन छोराबाट घर निकाला भएका छन् । त्यो पनि कुनै घरायसी विवादले होइन आर्थिक विवादले ।
रामप्रसाद आफ्नो छोरीको विवाहपछि ऋणमा डुब्दा ऋणिहरुको ताकेता सहन नसकी आठवर्षअघि भारतको हरियाणा कमाउन गएका थिए । उनी हरियाणामा मेसिन अपरेटरका रुपमा सुपरभाइजर पदमा कार्यरत थिए । उनले काम गरेबापत महिनामा सातदेखि आठहजार भारतीय रुपैयाँ तलब पाउने गर्थे । सोही रुपैयाँबाट जोगाएर प्रत्येक महिनाको चार/पाँच हजार रुपैयाँ घर पनि पठाउने गरेका थिए । घर पठाएका रकमबाट ऋणसमेत चुक्ता गरे उनले ।
तर, घरमा जतिसुकै रकम पठाउँदा पनि कमी नै हुन्थ्यो । रामप्रसादलाई उमेरहदका कारण जागिरबाट हटाइयो । त्यसपछि उनी गत साउनमा घर आए । घर फर्किएपछि उनकी श्रीमती लक्ष्मीदेवी साह, छोराहरु आनन्द साह, जितेन्द्रप्रसाद साह र गणेशप्रसाद साहले बारम्बार रकम माग गर्दै कुटपिट गर्न थाले । कुटाइ खाएपछि उनले भारतको हरियाणामा कमाएर पठाएको रकमको हिसावकिताव माग्दा श्रीमती र छोराहरुबाट अपहेलित हुनुका साथै धेरै गाली पनि खाए ।
सोही क्रममा रामप्रसादलाई घर निकाला गरियो । हाल उनी रुपनीमै एक घरमा डेरा लिएर बसिरहेका छन् । उनले आफ्नो जीवन गुजारा गर्न एउटा ठेलामा व्यापार गर्न रकमको खोजीमा रहेको गोरखापत्रमा खबर छ । पीडित रामप्रसादले आफूले कमाएर ल्याएको ३१ हजार रुपैयाँसमेत श्रीमती र छोराहरुले नदिएको बताएका छन् ।
रामप्रसादले प्रहरीमा उजुरी दिएर उजुरी उपर छानविन गर्दा उनलाई श्रीमती र छोराहरुले मंसिर भित्रमा ३१ हजार रुपैयाँ दिने सहमति भएपनि अझै प्राप्त गर्न सकेका छैनन् ।
0 comments
Write Down Your Responses