सगरमाथाको प्रवेशद्वारका नामले चिनिएको नाम्चे बजार

“मिल्ने भए चोरेर आफ्नै देश लैजाउँजस्तो,” खुम्जुङमा भेटिएका इजरायली पर्यटक पेभिएनले भन्नुभयो । खुम्जुङ हिउँको माला लगाएर, हिउँकै छायाँको बर्को ओढेर टुसुक्क बसेजस्तो यहाँका युवायुवती त्यसरी बस्न पाउँदैनन् । यहाँका युवायुवतीले कयौँ पटक विश्वको सर्वाेच्च शिखर सगरमाथा चढिरहनुपर्दछ । यहाँका डेढ सयभन्दा बढी युवाले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । पर्वतारोहण नै यहाँका बासिन्दाको खेतीपाती, जागिर, व्यापार हो ।
जीवनयापनका लागि प्रमुख आधार नै पर्वतारोहण भएकाले यहाँका अधिकांशले सगरमाथा आरोहण गर्नलाई पानीपँधेरोजस्तै मान्छन् । यहाँका बासिन्दाले पर्वतारोहणलाई जागिर वा खेतीपाती माने पनि खुम्जुङमा आलु, मूला, फापर लगायतको बाली पनि हुन्छ । तर त्यस्ता बालीभन्दा खुम्जुङेहरुको मुख्य आयस्रोत नै पर्वतारोहण हो ।
पर्यटकको रोजाइमा परेको खुम्जुङका महिलाहरु प्रायः होटल व्यवसाय तथा पुरुषहरु चाहिँ पर्वतारोहणतिर तानिएका छन् । यहाँका अधिकांशले सगरमाथाको साथै नेपालभरिका आठ हजारभन्दा माथि उचाइ रहेका सबै शिखरको आरोहण गरिसकेका छन् । पर्वतारोही जाङबुसेराब शेर्पा भन्नुहुन्छ–“पर्वारोहणमा लाग्नु रहर नभएर बाध्यता हो । ज्यानै जोखिममा राखेर शिखर चढ्ने रहर कसलाई हुन्छ र ?” यहाँका कतिपयले पर्वतारोहणलाई पेसाका रुपमा लिँदा विश्व कीर्तिमान नै कायम गरेका छन् ।
पर्वतारोहणले गर्दा नै यहाँका शेर्पाहरु विदेशी पर्यटकको साथ लागेर अमेरिका, जापान, जर्मनी, बेलायत लगायतका देश पुगेका छन् र पनि उनीहरु खुसी भने छैनन् । पर्वतारोहीलाई सरकारले उचित सुविधा दिन नसकेको भनाइ छ यहाँका पर्वतारोहीहरुको ।
आठ हजारभन्दा माथिका चारवटा शिखर आरोहण गरिसक्नुभएका पर्वारोही ङिमा शेर्पा भन्नहुन्छ– “नेपाल सरकारले विदेशी पर्वतारोहीलाई सम्मान र नेपालीलाई अपमान गरेको देख्दा छक्क लाग्छ ।” सगरमाथा, पुमोरी, आमादब्लम लगायतका अग्ला हिउँचुलीको काखमा अवस्थित खुम्जुङको अर्काे विशेषता भनेको यहाँका शेर्पा जातिको अनुपम संस्कृति हो ।
वर्षैपिच्छे यहाँ आयोजना हुने ल्होसार, डुम्जी, माणिरुम्डुजस्ता पर्व पर्यटकका लागि थप आकर्षण बनेका छन् । बाटोभरि सजिएका ध्वजापताका अनि शान्ति कुँदिएका मानेढुङ्गाहरुले जोसुकैलाई एकै छिन भए पनि शान्तिको अनुभूति गराउँछ । खुम्जुङ भएर सगरमाथा आरोहण गर्न हिँडेका पर्वतारोहीको क्याराभान (लस्कर) देख्दा खुम्जुङ बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ । यहाँ अधिकांश बासिन्दा सामान्य शिक्षा लिएका वा निरक्षर पनि छन् ।
खुम्जुङमा विश्वकै सबैभन्दा बढी अग्लो स्थान सगरमाथा, विश्वको सबैभन्दा अग्लो गाउँ, विश्वको सर्वाधिक उचाइमा रहेको स्याङबोचे विमानस्थल, विश्वमा सबैभन्दा उचाइमा रहेको होटल होटल एभरेस्ट भ्यू तथा विश्वको सबैभन्दा उचाइमा रहेको गुम्बा पाङबोचे पनि रहेको छ । धेरै कुरामा उचाइ हुँदै गर्दा यहाँका अधिकांश युवायुवतीको खेती पनि त्यही उचाइसँग जुध्नु रहेको छ ।
0 comments
Write Down Your Responses