आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग

राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारीले नेपालमा महिलाको पहिचान कि बाबुकी छोरी कि त पति कि पत्नीमा भन्नेमा मात्र सीमित छ भन्नुभयो । आमाले जन्माए पनि आफ्ना सन्तानलाई आफ्नो नामबाट नागरिकता दिलाउन सक्ने स्थिति नरहेको भन्दै उहाँले नागरिकतासम्बन्धी विभेदकारी काुनन तत्काल परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
अधिवक्ता सपना मल्ल प्रधानले अबको नागरिकतासम्बन्धी प्रावधानमा विदेशी पुरुष भए न्यूनतम् पाँच वर्ष नेपालमा बसोवास गरेकालाई परिचयपत्र दिने र पछि स्थायी रूपमा बसोवास गरेमा नागरिकता प्रदान गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो ।
हालसम्म करिब दुई लाख ६९ हजारले अङ्गीकृत नागरिकता लिइसकेको जानकारी दिँदै उहाँले ती अङ्गीकृत नागरिकता लिनेमा पनि एक जना पनि महिला नभएको बताउनुभयो । नेपाली पुरुषसँग बिहे गर्नेबित्तिकै विदेशी महिलाले नेपाली नागरिकता पाउने भए पनि नेपाली महिलासँग बिहे गर्ने पुरुषले नेपाली नागरिकताका लागि कम्तीमा पनि १५ वर्ष कुर्नुपर्ने विभेदकारी कानुन रहेको उहाँले उल्लेख गर्नुभयो ।
अधिवक्ता सविन श्रेष्ठले नेपाली नागरिकतासम्बन्धी कानुन विभेदकारी रहेको उल्लेख गर्दै बाबुले एक पटक आएर मेरो सन्तान हो भन्नेबित्तिकै उसको नागरिकता बन्ने तर आमाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउन विभिन्न निकाय गुहार्नुपर्ने भएकाले आमाको नामबाट नागरिकता प्राप्त गर्न निकै कठिनाई रहेको बताउनुभयो ।
मञ्चले सन् २००७ मा गरेको अध्ययनअनुसार १६ वर्ष उमेरमाथिका करिब ११ लाखभन्दा बढी नेपालीको नागरिकताको प्रमाणपत्र नभएको देखिएको थियो । हालसम्म आमाको नामबाट नागरिकता लिनेको सङ्ख्या १२८ रहेको छ ।
0 comments
Write Down Your Responses