धनुषामा झोले चिकित्सकहरुको बिगबिगी

-राजकमल सिंह
 धनुषा जिल्लामा पछिल्लो समय झोले चिकित्सकहरुको बिगबिगी बढे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् । विशेषगरी ग्रामीण क्षेत्रहरुमा चिकित्सा सम्बन्धि कुनै अध्ययन नै नगरी उपाचार गर्दै
हिँडेका यस्ता व्यक्तिहरुका कारण सोझा साझा सर्वसाधरणले ज्यान गुमाउनु परेको छ ।
बिना अध्ययन उपचार गर्दै हिँडेका झोले चिकित्सकका कारण धनुषाको दुहवी–२ मा एक बालिकाको ज्यान गएको छ । ग्रामीण क्षेत्रमा उपचार गर्दै हिँडेका धनुषाको गोबराही–५ बस्ने प्रदिप गौरहानको लापरबाहीका कारण आफ्नो साढे एक वर्षिय छोरी सोनी साहको मृत्यु भएको बुबा सरोज साहले आरोप लगाएका छन् ।
भारतको मधुवनी जिल्ला घर भई हाल दुहवीमा डेरा गरी बस्दै आएका साहले उपचार गरेपछि आफ्नो छोरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यलयमा लिखित उजुरी दिएका छन् । साहका अनुसार १४ गते बिरामी भएकी छोरीलाई उपचारको लागि गौरहान नजिक लाग्दा उनले सुई लगाएको एक घण्टामा मृत्यु भएको थियो ।
गैर कानूनी रुपमा चिकित्सा पेशा गर्दै आएका गौरहानले दिएको सुईको कारण आफ्नो छोरीको मृत्यु भएको भन्दै अविलम्ब पक्राउ गरी कारबाही र क्षतिपूर्ति उपलब्ध गराई दिन उजुरीमा माग गरिएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषाले गौरहानलाई कार्यालयमा उपस्थित गराउन सिमा प्रहरी चौकी दुहवीमा पत्राचार गरेको छ । गौरहानसँग आवश्यक कुराहरु बुझ्नु पर्ने भएको भन्दै अबिलम्ब कार्यालयमा उपस्थित गराउन पत्राचार गरेको बुझिएको छ । धनुषा जिल्लामा यस्ता धेरै डाक्टरहरु छन् जो मात्र १० कक्षा सम्म पढेर साधारण मेडिकल सम्बन्धमा पढलेख गरी उपचार गर्ने काम गरेका छन् ।
सम्बन्धित निकायको मौनताका कारण सर्वसाधरण जनताको जिवनसँग उनीहरु खेलवाड गर्ने गरेको भएपनि अहिले सम्म त्यस्ता व्यक्तिहरुलाई स्थानीय प्रहरी प्रशासनले पक्राउ गर्न सकेको छैनन् । मान्छेको जिनवसँग खेलवाड गर्ने त्यस्ता प्रकारका आफुलाई चिकित्सक भन्ने ठगहरुलाई कारवाही नगरे दिन प्रतिदिन यस्ता झोले चिकित्सकहरुको संख्या बढ्दै जाने छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.