अफगानिस्तानबाट सबै सेना फिर्ता हुनेछन् : ओबामा
वासिङ्टन, १४ फागुन
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईसँग द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर नभएको खण्डमा अमेरिकाले सन् २०१४ को अन्त्यसम्ममा आफ्ना सबै सेना फिर्ता बोलाउने बताएका छन् । मंगलबार ओबामा र कारजाईबीच भएको फोन वार्तामा ओबामाले कारजाईलाई सबै सेना फिर्ता बोलाउने बताएको ह्वाइटहाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाले द्विपक्षीय सुरक्षा सम्झौतामा पहिले अफगानिस्तानसँग अमेरिकी सेना अफगानिस्तानमा रहनेबारे कुनै ग्यारेन्टी दिन नसक्ने बुधबार ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नेटोआबद्ध अन्य राष्ट्रले अफगानिस्तानमा रहेका सेना फिर्ता गर्ने निर्णय गरे पनि अमेरिकाले द्विपक्षीय सुरक्षा सम्झौताका लागि अफगानिस्तानलाई दबाब दिँदै आएको थियो । तर, अफगानिस्तानका राष्ट्रपति कारजाईले अमेरिकाको कुनै विश्वास नभएको भन्दै सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
ह्वाइटहाउसले बुधबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति ओबामाले अफगानिस्तानबाट सेना फर्काउने विषयमा काम सुरु गर्न निर्देशन दिइसकेका छन् । विज्ञप्तिमा कारजाईले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेकाले अमेरिकाले सेना फिर्ता लैजाने तयारी गरेको उल्लेख छ ।सन् २०१४ पछि पनि अफगानिस्तानमा बस्ने अमेरिकी सेनालाई कानुनी सुरक्षा दिने मस्यौदा भएको द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएमा अफगानिस्तानमा थप हिंसा फैलने सक्ने कारजाइको तर्क छ । आतंकवाद विरुद्ध लडाइँलाई निरन्तरता दिने अफगानी सैन्यबललाई तालिम र हातहतियारसमेत सहयोग गर्ने मस्यौदा उल्लेख भएको द्विपक्षीय सुरक्षा सम्झौतामा राष्ट्रपति कारजाईले हस्ताक्षर नगर्ने बताइसकेका छन् । अफगानिस्तानको सुरक्षा बल तथा अन्य कूटनीतिज्ञको सल्लाहअनुरूप कारजाईले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
दुई सम्भावना:
ह्वाइटहाउसका प्रवक्ता जे कार्नीका अनुसार सन् २०१४ पछि अफगानिस्तानमा सैनिक रहन सक्ने दुई सम्भावना छन् । उनले राष्ट्रपति ओबामाले अमेरिकी सुरक्षा संयन्त्रलाई अफगानिस्तानमा २०१४ पछि सेना राख्नका लागि आकस्मिक योजना तयार पार्न निर्देशन दिएको बताएका छन् । त्यस्तै, दोस्रो सम्भावनाका रूपमा उनले सुरक्षा सम्झौतामा हस्ताक्षर भएपछि पनि अमेरिकी सेना अफगानिस्तानमा राख्न तयार रहेको बताएका छन् ।
अमेरिकाले सन् २००१ मा तालिवानलाई अफगानिस्तानको सत्ताबाट हटाएपछि अफगानिस्तानमा अमेरिकी सेना रहँदै आएको छ । ११ सेप्टेम्बर २००१ मा न्युयोर्कमा भएको हमलापछि अमेरिकी सेना अफगानिस्तान पुगेको थियो । अफगान सेना तथा पश्चिमी देशका सेनाको मद्दतमा अमेरिकी सेना अत्यन्तै कम समयमा तालिवानलाई सत्ताबाट हटाउन सफल भएको थियो । त्यही समयदेखि बारम्बार अमेरिकी सेनामाथि अफगानिस्तानमा चरमपन्थी हमला भइरहेका छन् ।
चिसिँदै अमेरिका–अफगानिस्तान सम्बन्ध
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार द्विपक्षीय सुरक्षा सम्झौतालाई लिएर अमेरिका तथा अफगानिस्तानको सम्बन्ध चिसिँदै छ । कुनै समय अफगानिस्तानका राष्ट्रपति कारजाईलाई अमेरिकी सहयोगीका रूपमा चित्रित गरिन्थ्यो, तर अहिले उनलाई अमेरिकाविरोधीका रूपमा हेर्न थालिएको छ ।कैयौँ महिनाको छलफलपछि गत नोभेम्बरमा अमेरिका र अफगानिस्तानबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने मौखिक सहमति भएको थियो । तर, कारजाईले तालिवानसँग शान्तिवार्ता सुरु हुनुपूर्व सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरिदिए । सम्झौतामा हस्ताक्षर गरेपछि कारजाईले अमेरिकी सेनाको आक्रमणमा हुन सक्ने अफगानी नागरिकको मृत्युको जिम्मेवारी आफूले लिनुपर्ने बताउँदै आएका छन्
0 comments
Write Down Your Responses