को–को हुँदै छन् मन्त्री ?
ग्रान्डी अस्पतालमा बैठक, नेपाल निवासमा आक्रोश
कांग्रेस:
संस्थापन
प्रकाशमान सिंह : उपप्रधानमन्त्री, स्थानीय विकास
डा. रामशरण महत : अर्थ
डा. नारायण खड्का : कानुन, न्याय संसदीय मामिला
डा. मीनेन्द्र रिजाल : सूचना तथा सञ्चार
पदमनारायण चौधरी : श्रम तथा रोजगार
महेश आचार्य/नरहरि आचार्य/फरमुल्लाह मन्सुर
देउवापक्ष
विमलेन्द्र निधि : भौतिक पूर्वाधार तथा यातायात
चित्रलेखा यादव : निर्णय हुन बाँकी
एनपि साउद : शिक्षा
टेकबहादुर गुरुङ : निर्णय हुन बाँकी
कांग्रेसले पाउने अन्य मन्त्रालय :
रक्षा, सिँचाइ, सहरी विकास, वन तथा भू–संरक्षण
एमाले
एमालेले पाएका १० मन्त्रालय:
गृह
परराष्ट्र
ऊर्जा
युवा तथा खेलकूद
सामान्य प्रशासन
स्वास्थ्य
पर्यटन
कृषि
भूमीसुधार
उद्योग मन्त्रालय
ओलीपक्ष
वामदेव गौतम
विष्णु पौडेल
रवीन्द्र अधिकारी
अन्य सम्भावितमा
दीपक कार्की
धर्मनाथप्रसाद साह
भानुभक्त ढकाल
कर्णबहादुर थापा
राधा ज्ञवाली
(अथवा थममाया थापा/
श्रीमाया थकाली)
खनालपक्ष
भीम आचार्य
नरेश खरेल
अन्य सम्भावितमा
भीम रावल
शत्रुघन महतो
नागेन्द्र चौधरी
पशुपति चौलागाईं
राप्रपाबाट :
एकजनामा
सुनील थापा :
वाणिज्य तथा आपूर्ति
नेकपा (माले)
नीलम खड्का :
विज्ञान तथा प्रविधि
शान्ति तथा पुनर्निर्माण, सहकारी तथा गरिबी निवारण, महिला तथा बालबालिका मन्त्रालय पछि साना दललाई दिने गरी अहिले प्रधानमन्त्रीसँगै
असन्तुष्ट पौडेलले बहिष्कार गरे बैठक
रमेश सापकोटा/नयाँ पत्रिका
काठमाडौं, १२ फागुन
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पार्टीमा जातीय, क्षेत्रीय सन्तुलन मिलाएर मन्त्री चयन हुने अवस्था नरहेको बताएका छन् । उनले प्रस्तावित नामप्रति असन्तुष्टि राख्दै प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार रातिसम्म चलिरहेको बैठक बीचमै छाडेर बाहिरिएको स्रोतको भनाइ छ ।
उपसभापति पौडेलले नेता अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीलाई पनि मन्त्री बनाउन दबाब दिएका थिए । तर, प्रधानमन्त्री कोइरालाले दुवैलाई मन्त्री बनाउन नचाहेपछि पौडेल असन्तुष्ट भएर बालुवाटारबाट बाहिरिएको कांग्रेस स्रोतको दाबी छ । ‘जातीय, क्षेत्रीय, लैंगिक सन्तुलन मिलाएर मात्र मन्त्री छान्नुपर्छ,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘समावेशीको विषय संस्थागत रूपमा उठिरहेका वेला पार्टीले उहाँहरू (केसी र जोशी)लाई मन्त्री बनाउनुपर्छ ।’
यसअघि कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा मिले पनि दुवै दलले मन्त्रीको नाम छनोट गर्न नसकेपछि सोमबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन । दुवै दलबाट मन्त्रीको नाम टुंग्याएर मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।
सत्ता साझेदार कांग्रेस र एमालेले सोमबार बिहान १०–१० मन्त्रालय भागबन्डा गर्ने र पाँच मन्त्रालय तत्काल रहने सहमति गरेका छन् । सरकार नेतृत्वकर्ता कांग्रेसको भागमा रक्षा, अर्थ, स्थानीय विकास, सूचना तथा सञ्चार, शिक्षा, भौतिक पूर्वाधार तथा यातायात, कानुन, श्रम तथा रोजगार, सिँचाइ, सहरी विकास मन्त्रालय छन् ।
सहरी तथा गरिबी निवारण, महिला बालबालिका, शान्ति तथा पुनर्निर्माण मन्त्रालय अहिलेलाई प्रधानमन्त्रीसँगै रहने भन्ने दुई दलबीच सहमति छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने तयारी छ ।
आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे कांग्रेसले सोमबार मध्यरातसम्मै छलफल गरेको छ । तर, पदाधिकारी, वार्ताटोलीका सदस्य, संसदीय समितिका सदस्यबीच भएको छलफलले अन्तिम नाम तय गर्न सकेन । आकांक्षी धेरै भएपछि समस्या परेको कांग्रेसका एक नेताले बताए ।प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवालाई चार मन्त्री दिने भएका छन् । सोअनुसार देउवाले सोमबार बिहानै कोइरालालाई नाम बुझाएका थिए । तर, संस्थापन पक्षले बिहान र दिउँसो गरी दुई चरणमा बसेको पदाधिकारी बैठकपछि मात्र नाममा सहमति जुटाउन प्रयास गरेको हो । कांग्रेसबाट विनाविभागीयमन्त्रीका रूपमा डा. रामशरण महतले मात्र शपथ खाएका छन् ।
बाहिर चर्चामा रहेकै नाम कांग्रेसबाट मन्त्रीमा पठाइने प्रधानमन्त्री कोइराला स्रोतले जानकारी दियो । कांग्रेसमा संस्थापन पक्षबाट महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, महेश आचार्य, डा. नारायण खड्का, नरहरि आचार्य र पद्मनारायण चौधरी रहेको स्रोतको दाबी छ ।
तर, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर पनि कांग्रेसमा चर्चामा रहेका नाम हुन् । परराष्ट्र एमालेलाई दिइएकोप्रति नेतृ सुजाता कोइरालाले आपत्ति जनाएकी थिइन् । पहिले पनि परराष्ट्र मन्त्रालय सम्हालेकी कोइराला यसपटक आफूले पाउनुपर्ने पक्षमा थिइन् ।
त्यस्तै, देउवापक्षबाट कोषाध्यक्ष चित्रलेखा यादव, विमलेन्द्र निधि, एनपी सावद र टेकबहादुर गुरुङ रहेको स्रोतको दाबी छ । देउवापक्षबाट कोषाध्यक्ष यादवबाहेकका निधि, सावद र गुरुङ प्रत्यक्षबाट निर्वाचित हुन् ।
गृहमन्त्रीको दाबी गर्दै आएका महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालय दिने प्रधानमन्त्री कोइरालाको तयारी छ । सिंहलाई रक्षा मन्त्रालय दिनेबारे पनि छलफल चलेको तर प्रधानमन्त्रीले रक्षा राखेर उनलाई स्थानीय विकासको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।
कांग्रेस स्रोतका अनुसार छलफलमा सुरुमा अर्थमा महेश आचार्य, कानुनमा डा. नारायण खड्का, सञ्चारमा नरहरि आचार्य, श्रममा पद्मनारायण चौधरीलाई पठाउने भनिएको थियो । तर, पछि सञ्चारमा नेता डा. मीनेन्द्र रिजाल र अर्थमा डा. महतलाई जिम्मेवारी दिने तयारी प्रधानमन्त्री कोइरालाले गरेको कांग्रेस स्रोतको दाबी छ ।
देउवापक्षका चारमध्ये निधि भौतिक योजना, सावदलाई शिक्षामन्त्री बनाउने तयारी छ । कोक्षाध्यक्ष यादव र टेकबहादुर गुरुङलाई कुन मन्त्रालय दिने भन्नेबारे राति अबेरसम्म सहमति नजुटेको कांग्रेस स्रोतको भनाइ छ । तर, यादवलाई शिक्षाको जिम्मेवारी दिने चर्चा पनि कांग्रेसभित्रै छ ।
ग्रान्डी अस्पतालमा बैठक, नेपाल निवासमा आक्रोश
रामशरण बजगाईं/नयाँ पत्रिका
काठमाडौं, १२ फागुन
मन्त्रालय भागबन्डामा कांग्रेससँग सहमति भएपछि ग्रान्डी अस्पतालमा बसेको एमाले स्थायी समिति बैठकले मन्त्रीको नाम तय गर्ने जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिएको छ । तर, वरिष्ठ नेता माधवकुमार नेपालले अस्पतालमा बैठक बस्नु पद्धतिविपरीत र गलत परम्पराको सुरुवात भन्दै आक्रोश पोखेका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओली ग्रान्डी अस्पतालमै उपचाररत रहेकाले नेताहरू बैठक बस्न अस्पताल पुगेका हुन् । महाधिवेशन तयारीका लागि सोमबार तोकिएको केन्द्रीय समितिको बैठक स्थगित गरी मन्त्री चयन गर्ने विषयमा छलफल गर्न स्थायी समितिको बैठक बिहान र दिउँसो गरी दुई चरणमा ग्रान्डी अस्पतालमै बसेको थियो ।
स्थायी समितिले मापदण्ड तय गरी मन्त्रीहरूको नाम छानेर पार्टी अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग सहमति लिएर नाम टुंग्याउने जिम्मेवारी गौतमलाई दिएको थियो । स्थायी समितिको बैठकपछि उपाध्यक्ष गौतम र सचिव विष्णु पौडेल प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार गएका थिए । उनीहरूले प्रधानमन्त्री तयार भए आफू अहिले नै शपथ लिन तयार रहेको, तर एमालेका तर्फबाट मन्त्री हुनेको नाम मंगलबार बिहान दिने प्रधानमन्त्री कोइरालालाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री कोइरालालाई भेटेपछि गौतम वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गएर स्थायी समितिको निर्णयबारे जानकारी गराएका थिए । तर, स्थायी समितिको बैठक अस्पतालमा बसेकोप्रति असन्तुष्ट रही बहिष्कार गरेका वरिष्ठ नेता नेपालले आफूलाई निर्णय प्रक्रियामा सामेल नगराएको भन्दै मन्त्रीको नाममा छलफल गर्न अस्वीकार गरे ।
नेपाल बैठकमा नआएपछि उनलाई भेट्न उपाध्यक्ष गौतम साँझ ६ बजे नेपालनिवास कोटेश्वर पुगेका थिए । गौतम कोटेश्वर पुग्दा नेपाललाई भेट्ने उनीनिकटका कार्यकर्ताको भीड थियो । गौतमले नेपालसँग ४५ मिनेट लगाएर पार्टी स्थायी समितिले गरेको निर्णय जानकारी गराएका थिए । तर, नेपालले पद्धति मिचेर बाटाघाटा, अस्पतालमा बैठक बसेर निर्णय गर्ने र आफूलाई जानकारी गराउन आउने पद्धति स्वीकार गर्न नसक्ने बताए ।
स्थायी समितिले नाममा सहमति जुटाएर सिफारिस गर्न मलाई जिम्मा दिएको छ, तपाईंको के धारणा छ बुझाँै भनेर म यहाँ आएको हुँ, कसलाई पठाउने भन्ने विषयमा तपाईंले पनि भन्नुपर्यो,’ भेटमा गौतमको भनाइ उद्धृत गर्दै नेपालनिकट स्रोतले भन्यो । तर, नेपालले त्यसलाई ठाडै अस्वीकार गरे । ‘नामको कुरा तपाईं मसँग सोध्दै नसोध्नुस्, म यो प्रक्रियालाई नै मान्दिनँ, बाटोघाटोमा नाम सिफारिस गर्न भन्न आउने हो मलाई ? म निर्णय प्रक्रियामा सामेल हुन चाहन्छु घरमा आएकालाई नाम सिफारिस गर्न र बाटोमा भेटेर नाम दिन तयार छैन,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो ।
नेपालले अस्पतालमा बैठक बसेर पार्टी पद्धतिको उपहास गरिएको बताएका थिए । उनले संसदीय दलको नेता बैठकमा उपस्थित हुन नसक्ने भए फोन अन गरेर बैठक बस्न सकिने, प्रतिनिधि खटाउन सकिने वा अगाडि नै राय लिएर बैठक बस्न सकिने गौतमसँग बताएका थिए ।
‘अस्वस्थताप्रतिको सहानुभूति राख्न सकिएला, तर बैठकै अस्पतालमा बस्ने कुरा हुन्छ ?,’ नेपालले भने, ‘पार्टी कार्यालयमा बैठक बसाँै, अगाडि नै सहमति लिऊँ, फोन अन गरेर छलफल गराँै वा प्रतिनिधि खटाआँै, यस्तो गर्न सकिँदैन ?’ वरिष्ठ नेता नेपालले नामबारे छलफल गर्न नमानेपछि गौतम पार्टी स्थायी समितिले आफूलाई जिम्मेवारी दिएको जानकारी मात्रै गराएर मंगलबार फेरि छलफल गर्ने भन्दै बाहिरिएका थिए ।
अन्य नेताहरूले भने बैठक कहाँ बस्ने भन्ने मुख्य प्रश्न नभएको बताएका छन् । उनीहरूले मन्त्रिपरिषद्सम्बन्धी निर्णय गर्दा संसदीय दलको नेता अनिवार्य चाहिने भएकाले अस्पतालमै बैठक बसेको बताएका छन् । ‘कहाँ बैठक बस्यो महत्त्वपूर्ण कुरा होइन,’ ओलीनिकट स्रोतले भन्यो, ‘संसदीय दलको नेताको अनुपस्थितिमा मन्त्री सिफारिसको निर्णय गर्न अप्ठयारो परेर यहीँ बैठक बस्नुपरेको हो ।’ संसदीय दलका नेता ओली ग्रान्डी अस्पतालमा बाथको उपचार गराइरहेका छन् ।
एमालेले गृहसहित परराष्ट्र, ऊर्जा, युवा तथा खेलकुद, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटन, कृषि, भूमिसुधार र उद्योग मन्त्रालय पाएको छ । कांग्रेससँग वार्तामा मन्त्रालयको बाँडफाँडमा सहमति भएपछि अध्यक्ष झलनाथ खनालसहित एमाले नेताहरू स्थायी समितिको बैठक बस्न अस्पताल पुगेका थिए । बिहान साढे ९ बजेदेखि एक घन्टा बैठक बसेपछि वरिष्ठ नेता नेपालले अध्यक्ष खनाललाई फोन गरी पद्धति मिचेर अस्पतालमा बैठक बस्न लागेकोमा विरोध जनाएका थिए । उनले पार्टी कार्यालयमा बैठक राख्न माग गरेका थिए । त्यसलगत्तै नेताहरू ओलीको स्वास्थ्यस्थिति बुझ्न आएको भन्दै बाहिरिएका थिए । तर, दिउँसो साढे २ बजे पुन: उनीहरू बैठक बस्न ग्रान्डी अस्पतालमै पुगेका थिए । नेपालबाहेक स्थायी समितिका सबै सदस्य बैठकमा सहभागी थिए । नेता नेपाल दिउँसोको बैठकमा पनि नआएपछि उनीहरू बैठकको निर्णय जानकारी गराउने भन्दै बैठक बसेका थिए ।
एमाले स्थायी समिति बैठकले पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गराउने व्यक्तिबारे तीनवटा मापदण्ड तय गरेको छ । ‘मन्त्रालयमा सक्षम नेतृत्व र डेलिभरी दिनसक्ने, निर्वाचित सभासद् वा चुनावमा भाग नलिएको, विकास क्षेत्र, महिला र जातिगत प्रतिनिधित्व र अहिलेसम्म मन्त्री नभएकालाई प्राथमिकता दिनेगरी तीनवटा मापदण्ड तय गरिएको छ,’ स्थायी समिति सदस्य भरतमोहन अधिकारीले भने ।
वरिष्ठ नेता नेपालसँग नामहरूबारे परामर्शपछि गौतमले अध्यक्ष खनाल र संसदीय दलका नेता ओलीसँग छलफल गरी नामको टुंगो लगाउने तयारी भएको छ । ‘वरिष्ठ नेता बैठकमा आउनुभएको थिएन, उहाँसँग पनि परामर्श गरेपछि तीन नेता, (खनाल, ओली र गौतम)बीचको सहमतिमा नाम टुंगो लगाउन भनिएको छ,’ स्थायी समिति सदस्य अधिकारीले भने, ‘मंगलबारसम्म नाम दिएर शपथ गरिसक्ने गरी पार्टीले म्यान्डेट दिएको छ ।’
एमालेले पाउने १० मन्त्रालयका लागि करिब २४ जनाको नाम गौतमसँग रहेको उनीनिकट स्रोतले बताएको छ । स्रोतका अनुसार सचिव विष्णु पौडेल, सभासद् भीम आचार्य, भीम रावल, नरेश खरेल, रवीन्द्र अधिकारी, राधा ज्ञवाली, थममाया थापा, श्रीमाया थकाली, दीपक कार्की, धर्मनाथप्रसाद साह, नागेन्द्र चौधरी, शत्रुघन महतो, पशुपति चौलागाईं, कर्णबहादुर थापा र भानुभक्त ढकाललगायत मध्येबाट १० जनाको नाम तय गर्न गौतमले नेताहरूसँग परामर्श गरिरहेका छन् । उनीहरूमध्ये पौडेलले यसअघि नै संस्कृति, युवा तथा खेलकुद, ऊर्जा र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । अध्यक्ष खनालनिकट भीम आचार्य यसअघिको संविधानसभामा एमालेका मुख्यसचेतक थिए । उनले दुवैपटक संविधानसभामा सुनसरीबाट प्रत्यक्षतर्फ जितेका हुन् । भीम रावल यसअघि गृह र पर्यटन गरी दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता नेपालनिकट मानिन्छन् । रावललाई मन्त्री बनाउन वरिष्ठ नेता नेपालको जोड रहँदै आएको छ । स्रोतका अनुसार विष्णु पौडेल, भीम आचार्य, नरेश खरेल र रवीन्द्र अधिकारी भने मन्त्री हुने निश्चितजस्तै देखिएको छ ।
नरेश खरेललाई खनाल प्रधानमन्त्री हुँदै मन्त्रीमा नाम सिफारिस गरिए पनि अन्तिममा उनको नाम हटाइएको थियो । उनलाई एमालेले संविधानसभामा यसपटक उम्मेदवार नै बनाएको थिएन । लोकप्रिय युवा नेता रवीन्द्र अधिकारी र दीपक कार्की कास्की र झापाबाट दुवैपटक सभासद् जितेका नेता हुन् । अधिकारी उपाध्यक्ष गौतमनिकट र कार्की ओलीनिकट मानिन्छन् । राधा ज्ञवाली खनाल नेतृत्वको सरकारमा शिक्षाराज्यमन्त्रीको जिम्मेवारी दिइएपछि असन्तुष्ट भई शपथ नै गरेकी थिइनन् भने बाबुराम भट्टराई नेतृत्वको सरकारमा ११ दिनसम्म उनी ऊर्जामन्त्री भएकी थिइन् । यस्तै पोलिटब्युरो सदस्य थममाया थापा यसअघि संसदीय दलको सचेतक थिइन् भने श्रीमाया थकाली समानुपातिक तर्फबाट सभासद् बनाइएकी हुन् । ज्ञवाली गौतमनिकट मानिन्छन् भने थापा ओली र थकाली खनालनिकट मानिन्छन् । धर्मनाथ शाह, नागेन्द्र चौधरी र शत्रुघन महतोमध्ये एक तराई मधेस क्षेत्रबाट मन्त्री हुने सम्भावना देखिएको छ । साह यसअघि एकपटक मन्त्री भइसकेका छन् भने चौधरी र महतो मन्त्री भएका छैनन् । पोलिटब्युरो सदस्य पशुपति चौलागाईं नेपालनिकट हुन् ।
यस्तै बाजुराबाट चुनाव जितेका कर्णबहादुर थापा र समानुपातिकबाट सभासद् भएका भानुभक्त ढकालको पनि नाम मन्त्रीको सम्भावित सूचीमा छ । थापा, ढकाल र रवीन्द्र अधिकारीमध्येबाट संसदीय दलको सचेतक बनाइने सम्भावना पनि छ ।
मन्त्री हुने भएपछि चीन भ्रमण रद्द
कांग्रेस नेता विमलेन्द्र निधि र एमाले नेता भीम आचार्यले सोमबार चीन भ्रमणको कार्यक्रम स्थगित गरेका छन् । मंगलबार मन्त्री हुने करिब पक्का भएपछि उनीहरूले भ्रमण रद्द गरेका हुन् ।
तर, आचार्यले आफू बुधबार हुने उपसभामुखको चुनावमा भाग लिनुपर्ने भएकाले अनिवार्य उपस्थित हुन पार्टीको ह्विप भएका कारण भ्रमण रद्द गरेको बताएका छन् । ‘मैले कार्यक्रम रद्द गरेँ, पर्सि उपसभामुखको चुनावमा अनिवार्य उपस्थित हुन पार्टीले ह्विप जारी गरेकाले मैले नजाने जनाएको हुँ,’ आचार्यले भने । आचार्यले उपसभामुखको चुनावका कारण नजाने भने पनि एमालेका अन्य चार सभासद् भने सोमबारै चीन गएका छन् । आचार्यले मन्त्री हुने भएका कारण नभएर चुनावकै कारण आफूले भ्रमण रद्द गरेको दाबी गरे । ‘मन्त्री हुने कुरा थाहा छैन, भए पनि त्यो आफ्नो ठाउँमा होला,’ आचार्यले भने, ‘चुनाव छाडेर त जानु भएन नि ।’ आचार्य नगए पनि एमालेका सभासद् कास्कीका सीता गिरी, समानुपातिक सभासद् रन्जु ठाकुर झा, दोलखाका आनन्द पोखरेल र रसुवाका जनार्दन ढकाल चीन गएका छन् । यस्तै कांग्रेसका रमेश लेखक, शारदा पौडेल, मोहनबहादुर बस्नेत र रोमी गौचन थकाली सोमबारै चीन गएका छन् । एमाओवादीका अग्नि सापकोटा र टोपबहादुर रायमाझी पनि चीन गएका छन् ।
चीन सरकारको निमन्त्रणामा भ्रमण तय गरिएको थियो । मन्त्री हुने पक्का भएका निधि र आचार्य भ्रमणमा नगएका हुन् ।
0 comments
Write Down Your Responses