भारतीय भूमिमा मृत फेला परेकी नेपाली युवतीबारेको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै प्रदर्शन
भूमिमा वीभत्स अवस्थामा मृत फेला परेको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै यहाँका बासिन्दाले प्रदर्शन गरेका छन् ।
विराटनगर उपमहानगरपालिका– २० मिल्स एरिया बर्मा टोल निवासी चन्देश्वर विश्वकर्माकी सुस्त मनस्थिति भएकी २० वर्षीया छोरी सुषमा विश्वकर्मा भारतीय भूमिमा मृत फेला पर्नुको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै स्थानीयवासीले आज इलाका प्रहरी कार्यालय रानीमा प्रदर्शन गरेका हुन् ।
गत फागुन १८ गते साँझ एक्कासी घरबाटै हराएकी युवती सुषमा १९ गते बिहान नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।
विराटनगर–२२ सँग सिमाना जोडिएको भारतको अररिया जिल्लाको जोगवनी नगर पञ्चायतअन्तर्गत पर्ने भेडियारी भन्ने ठाउँँमा सुषमाको शव फागुन १९ गते फेला परेको थियो ।
घटना भएको तीन दिन बित्न लाग्दा पनि नेपाल र भारतका प्रहरीले हत्याको कारण के भन्ने नखुलाएको र कसैलाई पनि पक्राउ नगरेकाले आज घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको स्थानीय धनकुमार लामाले बताउनुभयो ।
राम्रो अनुहार र जीउडाल भएकी सुस्त अपाङ्गता भएकी सुषमालाई कसैले आइतबार साँझ अपहरण गरेर लगी सामूहिक बलात्कार गरेको आशङ्का स्थानीयवासीले गरेका छन् ।
इलाका प्रहरी कार्यालय रानीका निरीक्षक अनिल पौडेलले घटना भारतीय भूमिमा भएको र अनुसन्धान पनि भारतीय प्रहरीले नै गरिरहेकाले शव परीक्षणको प्रतिवेदन नआएसम्म वास्तविकता बताउन नसकिने जानकारी गराउनुभयो ।
0 comments
Write Down Your Responses